आम निर्वाचन

आम निर्वाचन : गृहसचिवको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’ बनाउने निर्णय

Photo - ekantipur
Photo - ekantipur

केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा छ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’ बनाउने निर्णय गरेको छ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको समिति बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति र आइपर्नसक्ने चुनौतिबारे छलफल गरेपछि केन्द्रीय कमाण्ड पोष्ट बनाउने निर्णय गरिएको हो।

सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको समिति बैठकमा निर्वाचन व्यवस्थापन, तयारी, निर्वाचन सुरक्षा योजना र सुरक्षा जनशक्ति परिचालनका विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

उक्त बैठकले गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाउने पनि निर्णय गरेको छ।

सहसचिव पोखरेलकै संयोजकत्वमा ‘गृह मन्त्रालय, निर्वाचन सेल’ बनाउने निर्णय गरिएको बैठकमा निर्वाचन सम्पन्न गर्न आइपर्न सक्ने चुनौति र त्यसलाई सम्बोधन गरी समाधान गर्ने उपायका विषयमा विस्तृत रुपमा छलफल भएको थियो।

बैठकले प्रत्येक प्रदेशका लागि सम्पर्क तथा समन्वयका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने गरी ‘प्रदेश समन्वय तथा सम्पर्क सेल बनाउने भएको छ।

प्रदेशस्तरमा कमाण्ड पोष्ट र प्रदेश निर्वाचन सेल तथा जिल्लास्तरमा जिल्ला कमाण्ड पोष्ट र जिल्ला निर्वाचन सेल बनाउने पनि निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा आवश्यकताअनुसार सांगठनिक निर्वाचन सेल बनाउन सक्ने सुझाव दिएको छ।

बैठकमा गृहसचिव पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललगायत सहभागी थिए।

प्रकाशित मिति: : 2022-08-15 13:33:00

प्रतिकृया दिनुहोस्