सरकारले भन्यो, माग पूरा गर्छौं, शिक्षक भन्छन्, ‘भरोसा छैन’

Break n Links
Break n Links

शिक्षकका माग पूरा गर्न प्रतिवद्ध रहेको भन्दै सरकारले आन्दोलन बिसाउन अपिल गरे पनि शिक्षकहरूले भने सडक नछोड्ने बताएका छन्। 

नेपाल शिक्षक महासंघले आन्दोलनलाई निर्णायक बनाउनका लागि देशभरिबाट थप शिक्षकहरूलाई काठमाडौं बोलाएका छन्। उनीहरूले महिना दिनदेखि आन्दोलनमै छन्। 

एसईई तथा वार्षिक परीक्षाहरू छोडेरै काठमाडौं आएका उनीहरूले अब सरकारले शिक्ष ऐन पारित नगरेसम्म नफर्किने भनेका छन्। चैत २० गतेदेखि देशभरिबाट आएका हजारौं शिक्षकहरूले दिनहुँजसो माइतीघर-बानेश्वरमा प्रदर्शन गर्दै आएका छन्। 

शिक्षकहरू आन्दोलनमा भएका कारण सरकारी स्कुलमा वार्षिक परीक्षाका नतिजाहरू रोकिएका छन्। उनीहरूले एसईईको उत्तरपुस्तिका पनि नजाँच्ने अडान लिएका छन्। वैशाख १ गतेदेखि नै देशभरि भर्ना अभियान सुरु भएको छ। तर शिक्षकहरूले त्यसलाई नसघाउने भनेका छन्। वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२को परीक्षामा पनि सामेल नहुने अडान उनीहरूले लिएका छन्। 

यसबीचमा शिक्षक प्रतिनिधिहरूले सरकारी प्रतिनिधिहरूसँग पटक पटक छलफल पनि गरेका थिए। तर कुनै निश्कर्ष आएन। 

सरकारले भने शिक्षा ऐन पारित गर्नका लागि आगामी वैशाख १२ गते संघीय सांसदको बैठक आह्वान गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक बोलाउने निर्णय गरेको हो। 
तर शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने सरकारको कुनै भरोसा नभएका कारण आफूहरू रित्तो हात नफर्किने बताएका छन्। 

शिक्षक आन्दोलन अब निर्णायक मोडमा पुगेको भन्दै ऐन जारी नभएसम्म कुनै पनि हालतमा शिक्षकहरूले सडक नछोड्ने बताएका हुन्। 

प्रकाशित मिति: : 2025-04-16 10:28:00

प्रतिकृया दिनुहोस्