वीरगन्जमा थप एक जना संक्रमितको मृत्यु भएको छ।
उपचारको क्रममा सोमबार दिउँसो १ बजे वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा लालपर्साका ५४ वर्षिय पुरूषको मृत्यु भएको हो।
अचानक उनको श्वासप्रश्वासमा समस्या भएपछि दिउँसो मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी गराए।
उनका अनुसार भदौ १५ गते नारायणी अस्पतालमा उपचार भइरहेको अवस्थामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारको लागि वीरगन्ज हेल्थकेयर कोभिड अस्पतालमा रेफर गरिएको थियो।
मधुमेह, उच्च रक्तचाप, दम र मृगौला पीडितसमेत रहेका संक्रमितको वीरगन्ज हेल्थकेयर कोभिड अस्पतालमा ४ पटक डायालासिस गरेर आईसियुमा उपचार भइरहेको थियो।
योसँगै वीरगन्जमा मृत्यु हुनेको संख्या ५९ पुगेको छ। जसमध्ये पर्साका ४२, बाराका १२, रौतहटका ४ र सर्लाहीका १ जना छन्। पर्साका ४२ जना मध्ये दुई जना भारतीय नागरिक जो वीरगन्जमा बसेर उद्योग व्यवसाय चलाइरहेका थिए। यस्तै थप दुई जनाको पहिचान खुल्न सकेको छैन।