कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरेर बच्चा निकाल्ने यी डाक्टर

प्रकाश आचार्य

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ की २२ वर्षीया महिला कृत्रिम गर्भाधान प्रविधि आईयूआईबाट गर्भवती भइन् ।

लामो समयसम्म गर्भ नरहेपछि पाठेघरमा कृत्रिम प्रविधिबाट पतिको वीर्य राखेर उपचार पद्धतिमार्फत् गर्भवती थिइन् । 

उनी आमा बन्ने समय नजिकिँदै गर्दा कोरोना महामारी मुलुकमा तीब्र रुपमा फैलियो । देश, प्रदेश, जिल्ला, स्थानीय तह हुँदै टोल र घरघरसम्म संक्रमण पुग्यो । उनको मनमा खुशीसँगै त्रास पनि बढ्न थाल्यो ।

कोभिड–१९ बाट जोगिन खोज्दाखोज्दै पनि उनी कोरोना भाइरसबाट जोगिन सकिनन् । उनी कोरोना संक्रमित भइन् । सुत्केरी हुने समय आगामी हप्ता भनेर चिकित्सकले समय तोकेका थिए ।

सुत्केरी हुने समय नजिकिँदा सोमवार बिहान उनलाई एक्कासी असहज जस्तो महसूस भयो । परिवारले उनलाई बुटवल ल्याउन एम्बुलेन्स खोजे तर पाउन सकेनन् । त्यसपछि भैरहवाको कोरोना संक्रमितको उपचार गर्ने भीम अस्पतालको सम्पर्कमा पुगे ।

गर्भवती महिला हेर्दा चिकित्सकले जटिल अवस्था देखे । त्यसपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. विष्णु गौतमलाई सम्पर्क गरियो । विष्णु प्रादेशिक अस्पतालका सूचना अधिकारी पनि हुन् । 

गौतमले संक्रमित गर्भवतीलाई तत्कालै बुटवल पठाउन अनुरोध गरे । सोमवार साढे १२ बजे ती गर्भवतीलाई बुटवल ल्याइयो । शल्यक्रिया गर्नुपर्ने भएकाले अस्पतालले सम्पूर्ण तयारी गरेको थियो । उनको शल्यक्रियाका लागि डा. गौतम, भक्तबहादुर बस्नेत, डा. सुरेन्द्र कुँवर र स्टार्फ नर्स सृष्टि कोइरालाको टीमले सम्पूर्ण तयारी गरेको थियो । बिरामीलाई १ बजेतिर शल्यक्रिया कक्षमा लगियो । डा. गौतमले १५ मिनेटमै शल्यक्रिया गरी सहज रुपमा बच्चा निकाले ।

प्रकाशित मिति: : 2020-09-02 11:52:13

प्रतिकृया दिनुहोस्