घरकाे पहिलो सन्तानको रुपमा वि.स. २०३३ वैशाख ३० गते शाैर्या खनालको काठमाडाैँकाे ठमेलमा जन्म भयो। छोरी जन्मनसाथ बा-आमाले हाम्री छोरीलाई भविष्यमा डाक्टर बनाउने हो भनेर सपनाको पोको बनाउन थालिसकेका थिए।
बिस्तारै समय बित्दै जाँदा छोरी ठुली हुँदै गइन् तर छोरीको मस्तिष्कमा भने डाक्टर बन्छु भन्ने कुरा कहिल्यै आएन। बुबा (हरि सिम्खडा) राजनीतिमा सक्रिय थिए, बुबाको स्फूर्ती देख्दा शाैर्यालाई पनि भविष्यमा नेता बन्छु भन्ने सोच पलाएकाे भने थियाे।
घरका सदस्यले भने दिन/रात डाक्टर नै बन्नुपर्छ भनेको सुन्दा उनलाई दिक्क लाग्थ्यो। त्यही पनि बा-आमाको सपनालाई नकार्न सकिनन्। आइएको नतिजा राम्रो आए डाक्टरी पढ्छु भनेर साेचिरहेकी थिइन्। सम्याेगवस नतिजा सोचेअनुसार आएन, उनको नेता बन्छु भन्ने सोच पनि यतिकै हराएर गयो। घरमा सबैलाई लाग्न थाल्यो हाम्रो चाहना अपूरो बनाउने भई।
सबै कुरा साेचेकाे जस्ताे नभएपछि शाैर्या कम्प्युटर प्रोगामिङ अध्ययनकाे लागि उनले वि.स.२०५० मा भारत जाने निर्णय गरिन्। करिब दुई वर्षपछि शाैर्या नेपाल फर्किन।
नेपाल आएपछि उनमा केही गरेर देखाउँछु जाेश भन्ने थियो। एक जना छिमेकी काकीमार्फत् उनी एक कम्प्युटर सेन्टरमा पुगिन्। त्यहाँ काम गर्ने अवसर पाइन, ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो उनलाई।
‘बुबा आमाको सपना डाक्टर बनाउने थियो। मैले पूरा गर्न सकिनँ। त्यही पनि केही गरेर देखाउँछु भनेर कम्प्युटर प्रोगामिङ सिक्न भारत गएँ। सिकेर त आएँ तर बा-आमालाई खुसी बनाउन सकिनँ। म त काम गर्ने अवसर पाएर सिकेको कामप्रति खुसी थिएँ,’ शाैर्याले बिएल नेपाली सेवासँग भनिन्।
घरबाट डाक्टरी नपढ्ने भए बिहे गर भन्न थाले। उनी पनि परिवारको कुरामा सहमत भइन्। कम्प्युटर सेन्टरमा काम गर्दा उनको त्यहाँका निर्देशक (विकास खनाल)सँग प्रेम बसेको थियो। उनले आफ्नो प्रेम सम्बन्धबारे घरमा कुरा राखिन्। परिवारले प्रेमी स्वीकारे, २१ वर्षकाे उमेरमै उनी विवाह बन्धनमा बाँधिन्।
विवाह पश्चात उनीहरुबाट सन्तान (छाेरी)को जन्म भयो। श्रीमान मास्टर पढ्नको लागि लण्डन जाने पक्का भएको थियो। उनलाई पनि श्रीमानसँग उतै जाने अवसर मिल्यो। केही समयपछि नेपाल फर्किने योजनासहित वि.स. २०५६ मा उनीको परिवार परदेशियाे।
लण्डनमा सुरुवाती दिनमा उनलाई निक्कै गाह्राे भयाे। साथमा बच्चा हुँदा काम गर्न पनि पाएकी थिइनन्, शाैर्याले। उनका श्रीमानले आफू पढेको विद्यालयमा पढाउने मौका पाएका थिए। लण्डनमा सुरुमा उनलाई बस्नै मन लागेन। घरकाे यादले सताइरह्याे। जतिबेला पनि घरमा फाेन गरेर रुन थालिन्। त्यति मात्रै नभएर गएकाे तीन महिनामै उनी नेपाल फर्किन्।
नेपाल आएर पनि उनी के नै गर्न सक्थिन र नेपालमा लण्डनमा जस्ताे अवसर थिएनन्। हुँदा हुँदैकाे अवसर छाेडेर बस्नुभन्दा फेरि लण्डनमै जान्छु भन्ने मानसिकता बनाएर सन्तानलाई घरमै छाडेर पुन: लण्डन पुगिन्।
दाेस्राे पटक लण्डन पुगेपछि भने उनलाई पहिला जस्ताे अप्ठ्याराे परेन, जाँदा जाँदै काम गर्न अवसर पाइन। बिहानको समय क्याफेमा र बेलुका फार्मेसीमा काम गर्दै आफ्नो दिन बिताउन सुरु गरिन्। दुई वर्षको अवधिमा नै उनीहरुले उतै घर बनाउन सफल बने। त्यसपछि शाैर्याले नेपाल आएर छाेरीलाई पनि लिएर गइन्।
छोरीलाई स्कुलमा भर्ना गरिदिइन्। एकदिन छोरीलाई स्कुल पुर्याउन जाने क्रममा उनले स्कुलको एक जना मिससँग आफूलाई स्कुल (ब्रयाम्पटन प्राइमरी स्कुल)मै काम गर्ने अवसर दिन अनुराेध गरिन्। उनकाे अनुराेध प्रधानाध्यापकसम्म पुग्याे। उनको क्षमताप्रति प्रधानाध्यापक पनि प्रभावित भए र सोही स्कुल राख्ने निर्णय गरे। तर, शिक्षक बन्नुअघि ४ वर्षे तालिम लिनुपर्ने त्यहाँकाे व्यवस्था थियाे।
तालिम लिँदै बिहानको समय स्कुलमा र राति आफू पनि पढ्दै गर्न थालिन्। उक्त स्कुलमा उनले १२ वर्षसम्म पढाइन्। त्यसपछि उनले त्यहाँ छोडिन् र मयस पार्क प्राइमरी स्कुलमा पढाउन थालिन्। उनले त्यो सँग सँगै लण्डनमा आफ्नो स्नातकसम्मको पढाइ पूरा गरिन्।
एक दिन घरबाट अचानक बुबाको दुर्घटनामा परेर मृत्यु भएकाे खबर पुग्याे। शाैर्यालाई सपनाजस्तो लाग्न थाल्यो। हतार-हतार उनी नेपाल आइन्। बुबाकाे मृत्युले विक्षिप्त बनेकी उनलाई विदेशमा बस्नु बेकार जस्ताे लाग्याे। विदेश गएका कारण आफूले बुबाकाे अन्तिम बिदाई गर्न नपाएकाे गुनासाे पाेख्छिन्, उनी।
बुबाको मृत्यु पश्चात् घरमा आएका मान्छे देखेर उनी चकित परिन्। त्यसपछि विदेश नजाने निर्णय गरिन्। ‘बुबाले कति धेरै मान्छे कमाउनुभएकाे रहेछ। मैले त केही थाहा नपाएको रहेछु। १७ वर्षसम्म लण्डनमा बसेँ, मेरो देशमा केही गर्न सकिनँ। आज आफ्नो बुबाको प्रगति त थाहा पाउन सकिनँ भने झन देशको हालत कसरी थाहा पाउने भनेर विदेश जाँदिनँ भन्ने निर्णय गरेँ,’ शाैर्याले बिएल नेपाली सेवासँग भावुक हुँदै भनिन्।
नेपालमा केही समयकाे बसाइँमा उनले बालाजु हाइटकाे ‘प्रसिद्ध मोडेल इङलिस स्कुल’को नाम सुनिन्। त्यस स्कुलको प्रमुख व्यक्तिलाई भेटिन र सहकार्यमा स्कुललाई अगाडि बढाउने प्रस्ताव राखिन। दुबै जना सहमत भए। स्कुल राम्रै चल्दै थियो। केही समयपछि एक जनाले मात्र स्कुल चलाउने कुरा भयो। अर्का व्यक्तिले लिन चाहेनन् शाैर्याले स्कुललाई आफ्नाे बनाइन् र आफैंले प्रधानाध्यापककाे जिम्मेवारी सम्हालिन्।
स्कुलको रुप/रङ्गदेखि सबै तरिकाहरु परिवर्तन गर्न आवश्यक थियो। उनले सबै परिवर्तन गरिन। स्कुलमा गुणस्तर शिक्षा पनि थिएन। उनले सबै परिवर्तन गरिन् तर गरेको कति अभिभावकहरुलाई मन परेन आफ्नो छोराछोरी निकाले। २ सय ६० विद्यार्थीहरु घटेर २ सयमा झरे।
प्रसिद्ध स्कुलमा मन्टेसोरीदेखि १० कक्षासम्म पढाइ हुन्छ। अहिले ३ सय ७५ जना विद्यार्थीले अध्ययन गरिरहेका छन। सुरुवाती दिनमा उनलाई सबै अभिभावकलालाई बुझाउनै गाह्राे थियाे, अहिले भने सबैले राम्रो लागेर छोराछोरी ल्याउन थालेका छन्।
‘मलाई धेरैले विदेशमा नराम्रो गरेर यहाँ पैसा लुट्न आएको भने, मैले सुने पनि वेवास्ता गर्दै हिँडेँ। कसैलाई जवाफ दिनुभन्दा स्कुललाई राम्रो बनाएर देखाउँछु भनेर अघि बढेँ। पहिलेकाे तुलनामाभन्दा अहिले धेरै अभिभावकहरु नानीबाबु लिएर आउनुहुन्छ,’ खुसी हुँदै शाैर्याले भनिन्।
शाैर्याकाे ध्यान, नेपालीकाे शिक्षा क्षेत्रमा याेगदान
उनलाई नेपालको शिक्षा क्षेत्रमा केही योगदान गर्ने ठुलो रहर छ। सोहीअनुसार काम गर्दै हिँडेकी पनि छन्। यहाँका स्कुलहरुमा भएको नराम्रो प्रणालीहरुलाई त्यागेर राम्रो बनाउन भन्ने उनको चाहना छ। उनी अरु शिक्षकलाई पनि तालिम दिन निकै रुचाउँछिन्।
‘हरेक शिक्षकहरुलाई शिक्षक हुनुअघि तालिम दिन अतिआवश्यक हुन्छ। नेपालमा त्यो छैन। हामी हाम्रा छोराछोरीलाई विदेश पढाउन पठाउछौंँ, मलाई त नेपालमा नै एकदम राम्रो शिक्षा प्रणालीको व्यवस्था गरेर नेपालमा पढ्नकाे लागि राम्राे वातावरण बनाउन मन छ,’ उनले आफ्नाे याेजना सुनाइन।