विराटनगर महानगरपालिकामा आइसोलेसन भरिएपछि घरमै बस्न बाध्य भएका एक पुरुषको मृत्यु भएको छ।
विराटनगर ६ का ४५ वर्षीय पुरुषको बिहीबार राति घरमै मृत्यु भएको हो।
सोमबार स्वाबको नमुना दिएका उनको बुधबार रिपोर्ट पोजिटिभ आएको थियो। संक्रमण पुष्टि भएपनि आइसोलेसनमा शय्या अभावका कारण उनी घरमै बस्न बाध्य भएका थिए।
योसँगै विराटनगरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९ पुगेको छ।
आइसोलेसन केन्द्रमा शय्या अभावमा वडाभरिमा ४० जना संक्रमित घरमै बस्न बाध्य भएका छन्। महानगरमा होम आइसोलेसनमा ३ सय ३१ जना रहेका छन्।