मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु

मोरङमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कटहरी गाउँपालिका– १ घर भई विराटनगरमा बस्दै आएका ४७ वर्षीय पुरुषको अस्पतालमा सोमबार मृत्यु भएको हो । 

ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या भएपछि ती पुरुष शनिबार साँझ कोसी अस्पतालमा भर्ना भएका थिए । बिरामी शंकास्पद भएकोले उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए । 

डा. यादवका अनुसार सोमबार बिहान आएको रिपाेर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा राखी उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको साँझ ५ बजे मृत्यु भएको हो । कोसी अस्पताल प्रशासनका अनुसार हालसम्म सातजनाले कोशी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाइसकेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार १४ साउनदेखि १ भदौसम्म मोरङमा ३० देखि ७७ वर्ष उमेर समूहका एक महिला र १० जना पुरुषसहित ११ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा सातजना विराटनगर महानगरपालिकाका, एकजना रंगेली नगरपालिकाका, एकजना सुनबर्सी नगरपालिका, एकजना बुढीगंगा गाउँपालिकाका र एकजना कटहरी गाउँपालिकाका छन् 

प्रकाशित मिति: : 2020-08-17 23:05:06

प्रतिकृया दिनुहोस्