पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २७ हजार दुई सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार पाँच सय २० जनाको पीसीआर परीक्षण भएको हो। साथै पछिल्लो २४ घण्टामा १ सय ६० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार ४ सय ९७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा १३९ जना, ललितपुरका १५ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण देखिएको हो।
अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा नौ हजार ६ सय ३९ जना छन् । यस्तै १५ हजार एक सय ८८ जना क्वरेण्टीनमा रहेका छन् ।
यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ।
मृतकहरू रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौकी ५८ वर्षीया महिला हुन्। योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय ७ पुगेको छ।
देशभर ११३ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने ६ जनाको भेन्टीलेटरमा राखेर उपचार भइरहेको छ।
प्रदेश-१ मा २ जना, प्रदेश-२ मा ४१ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकीमा १ र प्रदेश-५ मा ११ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ। भेन्टीलेटरमा राखेर उपचार भइरहेका ६ जना नै बागमती प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ। सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ।