काभ्रेकी पद्माकुमारी उप्रेतीका जेठा छोरा सेवा निवृत्त (रिटायर) इण्डियन आर्मी हुन्। कान्छा छोरा वन विभागमा सुब्बा छन्। उनकी छोरी पनि सरकारी जागिरे छिन्। तर ८३ वर्षीया उनी भने काठमाडौंको ‘मातातीर्थ वृद्धाश्रम’ मा जीवन कटाइरहेकी छन्। घर–परिवारबाट टाढा बसेकी उनी आश्रममा बस्नु बाध्यता नभई रहर भएको बताउँछिन्। छोराछोरी र नातीनातिना छाडेर ८ वर्षअघि आश्रम आएकी उनी तीर्थस्थलबाटै सदाका लागि संसार त्याग्न चाहन्छिन्।
रामेछापमा आठ दशकअघि जन्मिएकी पद्माकुमारी कडेँल घरकी कान्छी छोरी थिइन्। उनीमाथि तीन दाइ र तीनै जना दिदी थिए। सबैभन्दा सानी भएको कारण पद्मा सबैकी प्यारी थिइन्।
सानैदेखि उनी पुल्पुलिएर हुर्किइन्। पिता पल्टनका जागिरे थिए। त्यसैले उनीहरूलाई खान–लगाउन दुख थिएन। घरको आर्थिक स्थिति बलियो भएपनि उनले कहिल्यै स्कुलको आँगन टेक्न पाइनन्। जसको कारण थियो, पुरूषप्रधान समाज’। जहाँ छोरालाई मात्र पढाउनुपर्छ भन्ने चलन थियो। त्यही ‘ढोंगी’ चलनको चंगुलमा परिन्, पद्मा।
उनलाई दाइहरू जसरी स्कुल जाने चाहना थियो तर उनको रहरलाई बाआमाले कहिल्यै बुझेनन्। जब उनी आमासमक्ष पढ्ने इच्छा व्यक्त गर्थिन्, तब उनलाई आमाले भन्ने गर्थिन्, ‘छोरी मान्छेले पढ्नु हुँदैन। फेरि पोइला भाग्छन्। छोरी मान्छेको काम भनेको घरधन्दा सम्हाल्ने हो। छोराहरू जस्तो पढ्ने होइन।’
अभिभावकको कुराले निराशिएकी उनी स्कुल जान खोज्दा आमाले विवाह गरिदिने त्रास देखाउँथिन्। जुन क्षण सम्झिँदा अहिले पनि रिसाउने गर्छिन्, पद्माकुमारी।
‘छोरीहरूलाई पढाउनु हुँदैन भन्ने सोच बोकेका मेरा बाआमा पागल थिए’, स्वर्गीय मातापितालाई सम्झिएकी उनी झोक्किँदै भन्छिन्, ‘उबेला बाआमाले पढाइदिएको भए, अहिले बुढेसकालमा दुख पाउनु पर्दैन थियो।’
बाआमाले नपढाएपछि इच्छाविपरीत उनको विवाह १४ वर्षको उमेरमा भयो। आफूभन्दा पाँच वर्ष जेठो हर्कबहादुर उप्रेतीसँग विवाह गरेकी उनी काभ्रे पुगिन्। विवाह गरेर घर पुगेकी उनी माइतीघर सम्झिएर खुबै राेइन्।
माइतीघरमा कामै नगरी हुर्किएकी उनी श्रीमानको घरमा बिहानदेखि बेलुकीसम्म घरायसी काममा नै व्यस्त हुन्थिन्। उमेरले सानो भएपनि काम र व्यवहारमा पोख्त भएकी थिइन्, उप्रेती।
‘बूढाको घरमा कहिल्यै नगरेको काम गरेँ। सुरुका दिनमा त माइतीघर सम्झिएर पनि राेएँ’, उनले सुनाइन्। ‘छोरी मान्छेको भाग्य श्रीमानसँग जोडिएको हुन्छ’ भन्ने सोच बोकेकी उनले कामधन्दालाई नै आफ्नो लक्ष्य बनाइन्। र खुसीसँग घाँस दाउरा गर्न थालिन्।
बिहे गरेकाे केही वर्षपछि पद्मा पनि आमा भइन्। उनले चार जना सन्तानलाई जन्म दिइन्। दुई छोरा र दुई छोरीका पीता बनेका हर्कबहादुर पनि भारतीय सेनामा भर्ती भइसकेका थिए। उनी कलकतामा कार्यरत थिए। कहिलेकाहीँ मात्र उनी जहान भेट्न नेपाल आउने गर्थे।
जग्गा–जमिन प्रशस्त थियो, त्यसैमाथि श्रीमान जागिरे। त्योभन्दा अरू के नै चाहन्थिन् र पद्मा? उनलाई लाग्थ्यो, ‘अब जिन्दगी खुसीका साथ बित्नेछ।’ तर उनले सोचेको जस्तो सहज कहाँ थियो र जीवन?
वि.स. २०४१ सालमा उनी खुसी थिइन्, श्रीमान हर्कबहादुर छुट्टी मनाउन काभ्रे आएका थिए। वर्ष दिनको पर्खाइपछि उनले श्रीमानसँग समय बिताउन पाइरहेकी थिइन्। तर उनको खुसी धेरै दिनसम्म टिक्न सकेन। उनले सदाका लागि श्रीमान गुमाइन्। ‘बूढा सुतिरहनुभएकाे थियाे, उठाउन खोज्दा उठ्नुभएन। उहाँले हामीलाई कहिल्यै नफर्किने गरी छाडेर जानुभएछ’, स्वर्गीय श्रीमानलाई सम्झिएर भावुक भइन् पद्मा।
३९ वर्षको उमेरमा श्रीमान गुमाएकी उनी विक्षिप्त भइन्। तर छोराछोरीको भविष्यका लागि उनले हरेस खाइनन्। एक्लैले भएपनि उनले छोराछोरीलाई शिक्षा दिने निधो गरिन्। ‘बूढा त मरेर गइहाले तर मलाई मेरो चार जना सन्तानको चिन्ता थियो। उनीहरूलाई स्वावलम्बी बनाउनुथियो’ सन्तान सम्झिएर उनले भनिन्, ‘उनीहरूकै लागि म बाँचेँ।’
श्रीमान इण्डियन आर्मी थिए, त्यसैले उनको सट्टामा पद्माले छोरालाई इण्डिया पठाइन्। ‘सबै जनाले छोरालाई भारतमा जागिर लगाइदेउ भनेर सल्लाह दिनुभयो। त्यसैले मैले छोरालाई इण्डिया पठाइदिएँ’, १८ वर्षका छोरालाई भारत पठाएको उनले बताइन्।
आफूले सानु छँदा पढ्न नपाएको ईखले नै उनले छोरीहरूलाई एसएलसीसम्मको शिक्षा दिइन्। आफूले नपढेपनि उनी छोरीहरूलाई अब्बल बनाउन चाहन्थिन्। ‘मेरो बाआमाले मलाई नपढाए पनि मलाई मेरी छोरीहरूलाई पढाउनुथियो’, उनले बिएल नेपाली सेवासँग भनिन्।
आफू नपढे भएपनि छोरीहरूलाई पढाएकी पद्माकी जेठी छोरी अहिले सरकारी जागिरे छिन्, कान्छी छोरी पनि राम्रै पेशामा आवद्ध छिन्। छोरीहरू गरेको प्रगति देखेर खुसी भएकी उनी भन्छिन्, ‘छोरीहरू पनि छोराभन्दा कम छैनन्।’
...त्यसपछि आश्रमको बाटो रोजिन्
जेठा छोरा आर्मीमा भर्ती भएपछि उनले कान्छा छोरालाई पनि उच्च शिक्षा दिइन्। जसकारण उनका छोरा अहिले वन विभागका सुब्बा भएका छन्।
कान्छा छोरा कमाउन सक्ने भएपछि विवाह गरेर छुट्टिए। दुई छोरीहरूलाई पनि उनले विवाह गरेर पठाइन्। उनी एक्लै घरमा बस्न बाध्य भइन्। ‘जेठा छोराबुहारी उतै कलकतामा नै सेटल भए। उनीहरूले छाेराछाेरीरूलाई पनि त्यहीँ हुर्काए’, उनले सुनाइन्।
नातिनातिनासँग रमाउने/खेल्ने मन भएपनि उनकाे त्याे धाेकाे पूरा हुन सकेन। जसकाे कारण थियाे, छाेराबुहारी उनीबाट टाढा बस्नु। कलकतामा नै डेरा जमाएर बसेका छाेरालाई उनले कयाैँ पटक बाेलाइन्। तर छाेरा स्वदेश फर्किन मानेनन्। गाउँ बाेलाउँदा बुहारीले समेत छाेराछाेरीलाई उच्च शिक्षा दिलाउन कलकतामा नै बस्ने बताइन्।
नातिनातिनाकाे उज्वल भविष्यका लागि उनले पनि एक्लैले घरकाे रेखदेख गर्ने निधाे गरिन्। बुढेसकालमा सपरिवारसँग बस्ने उनकाे ठुलाे रहर थियाे। जुन कहिल्यै पूरा नभएकाे उनकाे गुनासाे छ।
‘छाेराबुहारी र नातिनातिनासँग बस्ने मेराे चाहना थियाे तर नातिनातिनासँगकाे शिक्षाकाे लागि मैले केही भनिनँ। कान्छा छोरा छुट्टिएर गइसकेका थिए। उनीहरूलाई बोलाउने कुरा पनि भएन’, छोराहरू सम्झिएर उनले भनिन्, ‘जेठा छोरालाई बोलाउँदा उनीहरू आएनन्।’
जेठा छाेरा गाउँ नफर्किएपछि उनी घर–खेतीपाती सम्हालेर बस्न थालिन्। छाेराबुहारी र नातिनातिनाका साथ रमाउने उमेरमा उनले २० वर्ष एक्लै बिताइन्। तर पनि गाउँघर सम्झिएर आएनन्, छाेरा।
‘नातिनातिनाकाे पढाइ पूरा भइसकेकाे थियाे। मैले उनीहरूलाई घर बाेलाएँ तापनि आएनन्’ विगत कोट्याउँदै उनले भनिन्, ‘बरू, बुहारीले उतै होटल खाेलेर बस्ने बताइन्।’
छोराबुहारी इण्डियामा नै बस्न खाेजेपछि निराशिएकी उनले घर त्याग्ने निधो गरिन्। ‘मलाई छोराबुहारीसँग बस्ने धेरै रहर थियो तर भाग्यमा थिएन रहिछ। मैले उनीहरूका लागि बुढेसकालमा एक्लै घरकाे हेरचाह गरिदिएँ तर फर्किएर आएनन्’, उनले भनिन्, ‘म घरमा बसिनँ भने त उनीहरू बाध्यताले भएपनि घरमा बस्नुपर्छ भनेर मैले घर छाड्ने निधो गरेँ।’
सदाका लागि घर छाड्ने याेजना बनाएकी उप्रेतीले कलकतामा बसेका छोराबुहारीलाई बिरामीको नाटक गरेर गाउँ बोलाए। आमा बिरामी परेकाे कुरा सुनेर छोराबुहारी र नातिनातिना गाउँ आए। उनीहरू आएकाे साता दिनपछि नै गाउँ छाडेर काठमाडौं हानिइन्।
गाउँमा रहँदा उनले काठमाडौंको ‘पशुपति वृद्धाश्रम’ बारे सुनेकी थिइन्। त्यसैले पद्मा घर–परिवार छाडेर पशुपतिको आश्रममा आइन्। तर बेवारिसे र परिवारले छाडेका बाआमाले भरिएको त्यो आश्रममा उनले ठाउँ नै पाइनन्। त्यसपछि उनी मातातीर्थमा रहेको ‘मातातीर्थ वृद्धाश्रम समिति’ मा बस्न थालिन्।
‘म पशुपतिमा बस्न चाहन्थेँ। मैले सुनेको मात्र त्यही एउटा आश्रम थियो तर पशुपतिमा ठाउँ नपाएपछि मलाई मातातीर्थ पठाइयो। यहाँ राम्रो आश्रम थियो। त्यसैले म पनि यहीँ बस्न थालेँ’, उनले सुनाइन्।
आश्रममा बस्न थालेको सुरुवाती दिनहरूमा उनले गाउँघरलाई सम्झिइन्। छोराछोरी र नातिनातिनीलाई स्मरण गरेर भावुक भइन्। तर छोराबुहारीलाई कर्तव्य बोध गराउनका लागि उनले मनलाई बलियो बनाइन्। र खुसीका साथ आश्रम बस्न थालिन्।
‘घरमा ठुलो मान्छे नभएपछि जिम्मेवारी जेठाको काँधमा आइपर्छ। त्यहीकारण मैले घर छाडेँ’, उनले भनिन्, ‘सबैजना कमाउने छन्। म बूढी भइसकेँ। उनीहरूलाई मेरो कारण दुख पनि हुन्थ्यो। त्यसैले घर छाडिदिएँ। मैले उनीहरूलाई मेरो भार थप्न चाहदिनँ।’
आठ वर्षअघि आश्रम बस्दा दुखी भएकी उनलाई अहिले त्यही आश्रमले खुसी दिएको छ। आफ्नै दौँतरी पाएर दंग परेकी उनी भन्छिन्, ‘बुढेसकालमा गफ गर्ने साथी चाहिन्छ। त्यो मैले यो आश्रममा पाइरहेको छु। मलाई एक्लो महसुस भएको छैन। यहाँ म धेरै खुसी छु।’
बुढेसकालमा आश्रम आएर बसेकी पद्माकुमारीको एउटै सपना छ, त्यो हो–आश्रमबाटै संसारबाट बिदा हुनु। ‘तीर्थस्थलबाट मरेँ भने स्वर्गमा पुग्छु कि?’, भावुक हुँदै उनले भनिन्।