निर्वाचन विशेष

अहिलेको गठबन्धन कुकुरको शरीरमा खसीको टाउको जोडेको जस्तै हो : मेनुका ठकुरी (अन्तर्वार्ता)

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाे मिति नजिकिएसंगै देशभर चुनावी सरगर्मी बढेको छ। राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूकाे दाैडधुप पनि बढिरहेकाे छ। निर्वाचनलाई लिएर मतदाता पनि उत्साहित छन्।

अहिलेकाे निर्वाचनमा पुराना अनुहारभन्दा नयाँ अनुहारलाई मतदान गर्न मतदाताहरू उत्साहित देखिन्छन्। त्यसमा पनि आम नागरिकहरूले वैकल्पिक शक्ति खाेजिरहरूका छन्।

पछिल्लाे समय नेपालमा वैकल्पिक शक्तिकाे रूपमा विभिन्न राजनीतिक दलहरू गठन भइरहेका छन्। त्यसैमध्येकाे एक दल हाे, राष्ट्रिय स्वतन्त्र पार्टी। रवि लामिछानेकाे नेतृत्वमा गठन भएकाे राष्ट्रिय स्वतन्त्र पार्टी पनि आफ्नाे चुनावी एजेण्डा लिएर निर्वाचनमा हाेमिएकाे छ।

यही पार्टीका उम्मेदवारहरु अहिले चुनावी अभियानमा व्यस्त छन्। उनीहरू मतदातालाई आफ्नाे पक्षमा पार्न जाेडताेडका साथ लागिरहेका छन्। 

यसैबीचमा प्रतिनिधिसभा सदस्यका लागि सिन्धुली क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश समिती सदस्य मेनुका ठकुरी ‘घन्टी’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकी छन्।

उनै ठकुरीसँग आम चुनावको तयारी र योजनाको विषयमा केन्द्रित रहेर बिएल नेपाली सेवाका लागि रविन पुन मगर (आइडु) ले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :


तपाईं चुनावी मैदानमा हाेमिनुभएकाे छ, तपाईंकाे राजनैतिक पृष्ठभूमि के हो?

मेरो राजनैतिक पृष्ठभूमि धेरै लामो छैन, तर पनि राजनीतिलाई जहिल्यै नजिकैबाट नियालिरहेकै हो। हाम्रो देशको राजनैतिक अवस्था देख्दा म राजनीतिमा जानुपर्छ भन्ने लागेकाे थिएन। तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएपछि यसले देशमा सकारात्मक परिवर्तन ल्याउँछ भन्ने लागेर नै राजनीतिमा भएकाे हाे।

राजनीतिमा आउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी नै किन रोज्नुभयाे?

देशको राजनीतिक अवस्था यस्तो विकराल छ कि टिक्न सक्ने अवस्था छैन। पार्टीमा गएर आन्तरिक द्वन्द्वमा फसेर राजनीति गर्छु भन्ने लागेको पनि थिएन। अन्य पार्टीहरूमा विकासका काम/कुराभन्दा आपसी लडाइँ, भागबन्डाको लडाइँ मात्रै हुने देखेँ। तर जब राष्ट्रिय स्वतन्त्र पार्टी उदय भयाे, त्यसपछि यसका सिद्धान्त, एजेण्डा देखेर राम्रो लाग्यो र केही आफूले सक्ने योगदान दिनुपर्छ भन्ने लागेर यही पार्टीमा आवद्ध भएँ।

अहिले त चुनाव जित्नलाई पैसाको खोलो बगाउने परिपाटी छ, तपाईंले खर्च गर्न सक्नुहुन्छ?

म पैसा बाँडेर जनतासंग भोट माग्दिन र सक्दिन पनि। म त आफ्नो स्पष्ट भिजन बाँडेर भोट माग्छु। अरु उम्मेदवारले कति पैसा बाँड्छन् भन्नेसंग मलाई चासो छैन। त्यहीमाथि त्यसरी बाँडिएको पैसा जनताकै खुन, पसिना हो। यो कुरा अहिलेको मतदाताले बुझिसक्नु भएको छ। त्यसैले जनताले पैसालाई हैन, भिजन र राम्रा व्यक्तिलाई भोट दिनुहुन्छ भन्ने लाग्छ।

चुनावी अभियानलाई कसरी अघि बढाइराख्नु भएको छ?

चुनावी अभियानलाई पहिलो चरणमा सोसल मिडियाबाट गरिरहेका छौँ। सञ्चार माध्यमबाट समेत सूचना पठाइराखेका छौँ।त्यस्तै घरदैलो कार्यक्रम भेटघाटका कार्यक्रम पनि भइरहेका छन्। हाम्रा एजेण्डा र भिजनहरु जनताले मन पराइराख्नुभएको छ। हामी सबै मिलेर चुनावी अभियानमा लागेका छौँ। जहाँ मलाई पार्टी संगठन र जनताले सहयोग गरिरहनुभएको छ।

तपाईंको पार्टीले अन्य पार्टीकाे तुलनामा अलिबढी नै महिला उम्मेदवारलाई टिकट दिएको छ। यसको सदुपयोग तपाईंको पार्टीले कसरी गर्छ?

हाम्रो देशमा धेरै अगाडिबाट महिलालाई पछाडि पारिएकै इतिहास साक्षी छ। महिलाहरू थुप्रै अधिकारबाट बन्चित हुँदै आएका छन्। अझ राजनीतिमा त झन् विकराल अवस्था छ। पार्टीहरुले ३३% पनि दिन सकेनन्। तर राष्ट्रिय स्वतन्त्र पार्टीले ५०/५० को सिद्धान्त लिएको छ। यो काम एकदमै राम्रो हो। यसलाई म सकारात्मक रुपमा लिन्छु। म आफू महिला भएकै कारणले पनि अब महिलाहरुको हक हितका काम गर्नेछु। महिला सशक्तिकरणका काम गर्नुपर्छ भन्ने लागेको छ। यसलाई पार्टीले पनि राम्राेसंग उपयोग गर्छ।

तपाईंको क्षेत्रबाट गठबन्धन र एमालेका उम्मेदवारहरु धेरै हुनुहुन्छ। जनताले भोट परिवर्तन गर्लान् र?

सर्वप्रथम त जनताले के बुझ्न जरुरी छ भने, अहिलेको गठबन्धन कुकुरको शरीरमा खसीको टाउको जोडेको जस्तै हो। त्यसमाथि नागरिकको स्वतन्त्र मताधिकारको हस्तक्षेप भएको छ। नागरिकले स्वतन्त्र रुपमा मत दिन सक्ने अवस्था छैन। त्यो नराम्रो कुरा हो। ५ वर्षअघिको गठबन्धनले के विकास गर्यो भन्ने कुरा छर्लङ्ग छ। त्यसो हुँदा हामीले हाम्रा एजेण्डा, भिजन र योजनाहरु हामीले जनतासामु लगेका छौँ। हामीले गर्न सक्ने कुराहरुमै जोड दिएका छौँ। थुप्रै समस्याहरु छन्, ती समस्याको दिगो समाधान गर्ने गरी अगाडि बढेका छौँ। त्यस कारणले गर्दा पनि आम मतदाताले हामीलाई विश्वास गर्नु हुनेछ। हामीलाई नै मत दिनु हुनेछ।

अत्यमा, सिन्धुली क्षेत्र नम्बर १ का जनताले घण्टीमै भोट किन दिने त?

यी पहिलेका राजनैतिक दलहरुले के कति काम गरे भन्ने हामीले देखिराखेकै छाैँ। अब हाम्रो क्षेत्रसंगै सिङ्गाे देश विकासका लागि मत परिवर्तन गर्नुपर्छ। मैले मेरो भिजन, एजेण्डाहरू तपाईंहरुसामु ल्याएकै छु। भोलि यी कुरा म संसदमा उठाउने प्रतिबद्धताका साथ चुनावमा होमिएको छु।त्यैले पनि सिन्धुलीका जनता मप्रति विश्वस्त हुनुहुन्छ, हाम्री पार्टीप्रति विश्वस्त हुनुहुन्छ। मङ्सिर ४ गते घण्टीमा भोट हालेर विजयी गराइदिनुहुनेछ।

प्रकाशित मिति: : 2022-10-23 22:10:00

प्रतिकृया दिनुहोस्