रोटरी क्लब अफ काठमाडौंले बनाइदियो प्रसूतिगृहलाई पीसीआर ल्याब

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीका निम्ति रोटरी क्लब अफ काठमाडौंले कोरोना परीक्षणका निम्ति पीसीआर ल्याब निर्माण गरेको छ ।

प्रयोगशाला निर्माण सँगै अब त्यही अस्पतालबाट पीसीआर परिक्षणको सेवा प्राप्त हुनेछ । कोभिड–१९ परीक्षणका लागि अत्यावश्यक पीसीआर ल्याबको मंगलबार उद्घाटन भएसँगै सेवाग्राहीले यस्तो सेवा प्राप्त गर्ने भएका हुन् ।

उक्त अस्पतालको ६१ औँ वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ल्याबको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

काठमाडौँ महानगरपालिकाले गत साउन ४ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई पीसीआर मेसिनसहित कोभिड–१९ का लागि अत्यावश्यक केही स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो भने रोटरी क्लब अफ काठमाडौंले ल्याब निर्माणको जिम्मा लिएको थियो ।

ल्याब करीब सात लाखको लागतमा निर्माण गरिएको रोटरी क्लब अफ काठमाडौंले जनाएको छ।

प्रकाशित मिति: : 2020-08-12 12:44:41

प्रतिकृया दिनुहोस्