भारतले केही साताअघि बासमतीबाहेक अरू चामलकाे निर्यातमा राेक लगायाे। याेसँगै विश्वभरि चामलकाे भण्डारण गर्नका लागि आम उपभोक्ताबीच होडबाजी नै चल्याे। त्याेसँगै यसको मूल्य पनि अस्थिर भएकाे छ। नेपालमा त झन हरेक प्रकारका चामलको मूल्य ह्वात्तै आकाशियाे।
प्रमुख धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले चामलको मूल्य बढ्न थालेसँगै भारतले साउन ४ गतेदेखि गैर-बासमती सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो।
भारतले चामल निर्यातमा रोक लगाएपछि नेपालमा चामल बोरामा सय रुपैयाँसम्म बढेको खुद्रा व्यापारी कृष्ण आचार्यले बताए। उनका अनुसार जीरा मसिनो र सोना मन्सुली चामलकाे बोरामा सय रुपैयाँ बढेको छ।
‘एक्कासी चामलको मूल्य सय रूपैयाँ बढ्यो। दिनदिनै चामलको भाउ बढिरहेको छ। कतिसम्म बढ्छ, केही थाहा छैन’, उनले भने।
भारतले चामल निर्यातमा रोक लगाउनुअघि २५ केजी बोरा चामलको मूल्य २२५० थियो भने अहिले सय रुपैयाँले बढेर २३५० पुगेको छ। अझै चामलको मूल्यवृद्धि हुने बजारमा व्यापक चर्चा छ।
‘चामलको मूल्य ३२ सयसम्म पुग्ने बजारमा पूरै हल्ला छ। यही हल्लाकाे कारण चामलकाे भाउ स्वाट्टै बढ्नसक्छ’, उनले गुनासाे पाेखे।
भारतले चामलमा प्रतिबन्ध लगाएकै कारण चामलको मूल्य नबढेको उनको बुझाइ छ। आफूहरूले ल्याइरहेको चामल स्टक रहेकाे उनी बताउँछन्।
‘एक वर्षभित्र चामलको ६ सयदेखि ७ सय रुपैयाँ बढिसकेको छ। त्यो पनि भारतले रोक लगाएर हो र?’, उनी प्रश्न गर्छन्, ‘भारतले चामल निर्यातमा रोक लगाएकै कारण चामलको मूल्य बढेको हो भने किन चिनी र दालको पनि मूल्यवृद्धि भयो?’
उनको अनुसार चिनी केजीको १० रुपैयाँ र दाल केजीमा ५० रुपैयाँले बढेको छ। पछिल्लो १० दिनभित्र कालोबाहेक सबै दालहरूको मूल्यवृद्धि भएकाे छ।
नेपालमा एक्कासी खाद्यानको भाउ चर्किनु सरकारको दोष रहेको आचार्य बताउँछन्।
‘खाद्यानको मूल्य बढाउने सबै सरकारको चलखेल हो। मारमा पर्ने हामी खुद्रा व्यापारी र उपभोक्ता हो’, उनले दुखेसाे पाेखे।
खुद्रा व्यापारीले खाद्यानमा एक्कासी मूल्य बढ्नु सरकारकाे चलखेल भएकाे बताइरहे पनि भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएकाे कारण नेपालमा खाद्यानमा परिवर्तन भएकाे नेपाल चामल, तेल, दाल उत्पादक संघका महासचिव दिपककुमार पौडेल बताउँछन्।
भारतले चामल निर्यातमा रोक लगाउँदा नेपालमा चामलको माग बढ्नु र खाद्यानको मूल्य बढ्नु स्वभाविक रहेको उनको बुझाइ छ। ‘माग बढ्दा मूल्य पनि वृद्धि हुन्छ, त्यो नियम नै हो। त्यसैले खाद्यानकाे मूल्य बढ्नु आपत्तिजनक छैन’, उनले भने।
भारतले निर्यातमा कर लगाएदेखि नै चामल निर्यात नभएको र भारतबाट दिएको धानको कोटा सकिन लागेको बताउँदै उनले भने, ‘अब, त्यो कोटा १०-१५ दिनमै रित्तिन्छ। त्यसैले खाद्यानमा वृद्धि भएकाे हाे।’
नेपालमा बढिरहेकाे चामललगायत खाद्यानकाे मूल्य राेक्न भारतले भन्सार छुटमा धान उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।
‘भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपनि हाम्रो लागि फाइदा सावित हुनसक्छ’, भारतबाट धान निर्यात गर्ने देश नेपालमात्र भएकाे बताउँदै उनी भन्छन्, ‘भारतबाट हामीले चामलभन्दा धान ल्याउनु फाइदा हुन्छ। किनकी धानबाट कनिका र भुस आउँछ। जसलाई हामीले पुनः प्रयोग गर्न सक्छौँ।’
‘नेपालको उत्पादनले मात्र तीन महिना धान्छ’
नेपाललाई कृषि प्रधान देश भनेर चिनिन्छ तर यही देशमा न मल पाइन्छ, न भरलाग्दो तरिकाले खेती नै गरिन्छ। नेपालमा ४० लाख हेक्टर खेतीयोग्य जमिनमध्ये १३ लाख हेक्टरमा मात्र धान रोपाइँ हुने गरेको छ। त्यसमा पनि सिँचाइको सुविधा छैन।
यसबाहेक समयमा रासायनिक मल नपाउने, प्रविधिको पहुँच अभावजस्ता आधारभूत समस्या धानको उत्पादकत्व बढाउन चुनौती बनेका छन्।
६० प्रतिशतभन्दा बढी नागरिक कृषिमा आश्रित भएपनि बर्सेनि तीन खर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भइरहेका छन्। त्यसमाथि वर्षेनि नेपालीहरू वैदेशिक रोजगारका लागि विदेशिने गरेका छन्, अनि सरकार नारा लगाइरहन्छ, हाम्राे कृषिप्रधान देश!
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा बर्सेनि ५५ लाख मेट्रिक टन धान उत्पादन हुन्छ। तर मन्त्रालयकाे त्याे डाटा विल्कुल गलत भएकाे महासचिव पाैडेलकाे दाबी छ।
यदि नेपालमा ५५ लाख मेट्रिक टन धान उत्पादन हुन्थ्याे भने भारतसँग १५ लाख मेट्रिक टन धान आयत गर्नुपर्दैन थियाे। नेपालमा उत्पादन भएकाे धानले मात्र तीन महिना धान्दैन थियाे।
‘नेपालमा उत्पादन भएकाे धानले नेपालीहरूलाई मात्र तीन महिना धान्न सक्छ। त्यसपछि भारतसँग निर्भरता रहनुपर्छ’, उनले बिएल नेपाली सेवालाई बताए।
नेपालमा पनि अन्य देशमा जस्ताे प्राविधिक तरिकाले खेती भए भारतसँग चामल आयात गर्नुपर्दैन थियाे। तर अपसाेच! त्यसका लागि स्थानीय र सरकारले कुनै कदम नै चालेकाे छैन।
कृषिमा आत्मनिर्भर देश बनाउनका लागि नेपालमा मलदेखि खेतकाे माटो परीक्षण गर्न आवश्यक छ। तर त्याे सबै असम्भव जस्ताे भएकाे छ। किनकी बर्सेनि सातदेखि आठ लाखकाे हाराहारीमा युवाहरू विदेशिने गरेका छन्।
‘कृषि उत्पादन बढाउनका लागि प्राविधिक प्रणालीका साथै जनसंख्याकाे आवश्यक पर्छ तर अहिले युवाहरू सबै अमेरिका, अष्ट्रेलिया र युरोप पलायन हुन थालेका छन्। उतै सेटल हुन्छन्, अनि कसले गर्छ नेपालमा खेती?’, उनी प्रश्न गर्दै भन्छन्, ‘गाउँघरतिर जति जनाले खेती गर्छन्, त्यो आफूले खानको लागि थुपारेर राख्छन्। मात्र १० प्रतिशत किसानले बजारमा बेच्छन्, अनि बजारमा चामलको माग बढ्दैन त?’
‘औसतभन्दा १६ किलो बढी भात खान्छन् नेपाली’
नेपालीहरूले वर्षमा औसतभन्दा १६ किलो बढी भात खाने गरेका छन्। सामान्यतया एक व्यक्तिले वार्षिक औसत एक सय २१ किलो चामल उपभोग गर्नुपर्ने मापदण्ड संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले तय गरेको छ।
तर नेपालीहरूले प्रतिव्यक्ति एक सय ३७ किलो चामल एक वर्षमा उपभोग गर्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको अध्ययनले देखाएको छ। नेपालीहरूको त्यही ‘भाते’ बानीकै कारण चामलको माग बढेको पौडेलको भनाइ छ।
नेपालीहरू धेरै भात खान्छन्। त्यसैले नेपालमा चामलको माग धेरै छ। त्यो मागलाई कम गर्नका लागि मकै, फापर र रोटी खानुपर्ने उनको बुझाइ छ। चामलसँगै अन्य अन्नहरू उपभोग गरे नेपालमा चामलको त्यति धेरै अभाव हुँदैन।
नेपालमा चामलको माग भएपनि त्यति धेरै स्टक बाँकी नरहेकाे उनले बताए। उनका अनुसार नेपालमा स्टक रहेकाे चामलले मात्र दुई महिना थाम्न सक्छ। ‘नेपालमा दुई महिनाकाे लागि मात्र पुग्ने चामल भएपनि भाेकमरी लाग्दैन। किनकी त्यसपछि नेपालमा धान उत्पादन सुरू हुन्छ’, उनले भने, ‘त्यसैले चामलकाे अभाव हुन्छ भनेर आत्तिनु पर्दैन।’