पेरिसमा ११ वर्षमाथिकालाई मास्क अनिवार्य, नियम तोड्नेलाई १५९ डलर जरिवाना

बिएल संवाददाता

पेरिस, युरोप ब्यूरो

फ्रान्सका कोरोना भाइरसको दोस्रो चरणको संक्रमण बढ्न थालेपछि सरकार पुनः सर्तक भएको छ। फ्रेञ्च सरकारले पेरिस शहरको सय विभिन्न ठाउँमा सोमबारदेखि मास्क लगाउन अनिवार्य गरेको छ। 

विशेष त किशोरकिशोरी तथा युवा वर्गमा कोरोनाको संख्या बढेको देखिन थालेपछि सरकारले ११ वर्ष माथि उमेर समूहका नागरिकलाई अनिवार्य मास्क लगाउन आदेश दिएको थियो। अटेर गरेर मास्क नलगाउने व्यक्तिले १ सय ५९ डलर दण्डस्वरूप तिर्नुपर्ने छ। 

फ्रान्समा गत जुलाईदेखि पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। सरकारको यो निर्णयपछि पयर्टक दिग्भ्रमित भएका छन्।

फ्रान्सको लोकप्रिय ठाउँ मोन्टमाट्री जिल्ला, यसको सानो सानो बाटो, नदी भएको स्थान सेने, ईफेल टावर, च्याम्प इलेसीस र लेस हाल्सको व्यापारीक क्षेत्रमा अनिवार्य मास्क लगाउने उर्दी जारी गरेको छ। 

फ्रान्समा ‘लकडाउन’गर्नुअघि गत सोमबारसम्म कोरोनाको २२ सय ८८ नयाँ संक्रमित फेला परेका थिए। औषतमा साप्ताहीक रूपमा फ्रान्समा १४ सय ८६ संक्रमित भेटिएका छन्। 

फ्रान्स सरकारले जुलाई २१ देखि सार्वजनिक स्थलमा मास्क लगाउन अनिवार्य गरेपनि यसको पूर्ण रूपमा पालना भएको थिएन। त्यसैले सरकारले आर्थिक जरिवानालाई कडाईका साथ लागु गर्ने तरखर गरेको हो। 

फ्रान्समा हालसम्म २ लाख ३ हजार बढी कोरोना संक्रमित फेला परेका छन्। यहाँ ३० हजार ३ सय ४० जनाको निधन भइसकेको छ।

प्रकाशित मिति: : 2020-08-11 07:31:58

प्रतिकृया दिनुहोस्