साउनकाे वर्षातले खहरे खाेलामा पानीका भेलहरु उर्लिएका छन्। हिउँदमा सितिमिति पानी नहुने खाेलाकाे सुसाहट बढेकाे बढ्यै छ। राेकिनै आँटेकाे वर्षात सिमसिमे भइदिएपछि रहरलाग्दाे बनेकाे बेला रहरै-रहरले पानीमा हिँडेर मालाभिड पुग्नै लाग्दा एउटा प्रतिक्षालय भेटिन्छ। अगाडि एउटा ठूलो चाैर छ। चाैरभरि सेता रहरलग्दा हाँस छन्। हाँससँगै हाँसिरहेका छन्, नारायण चाैलागाईं।
मालाभिड चन्दननाथ नगरपालिकाकाे वडा नम्बर-४ मा पर्छ। त्यहाँका अधिकांश नागरिक शिक्षित छन्। गाउँले धेरैजसाे शिक्षित हुनाले सरकारी सेवामा काम गर्नेहरुकाे संख्या पनि उल्लेख्य छ। नारायण पनि गाउँका अरु मान्छे जस्तै सरकारी सेवामै थिए।
६१ वर्षका उनले १० वर्ष अस्थायी र ३० वर्ष स्थायी गरी ४० वर्ष नाेकरी गरे। याे अवधिमा उनी मुगु, नेपालगञ्ज, सुर्खेत र जुम्लाका विभिन्न कार्यालयहरुमा रहेर सेवा गरे। जागिरे जीवनकाे सुरुवात उनले मास्टरीबाट गरेका थिए। दुई वर्ष मास्टरी गरे। त्यसपछिका दश वर्ष मुगु, एक वर्ष नेपालगञ्ज, छ महिना सुर्खेत र बाँकी पूरै समय जुम्लामा बित्याे।
जीवनकाे उर्जाशील समय अझ हिसाब गरेर भन्दा चार दशक 'दश, चार' गर्दै गयाे। त्याे पूरै अवधिमा उनी बाँधिएका थिए। एकहिसाबले सरकारी नाेकरी जनताकाे सेवा गर्ने नाेकर हुनु थियाे। दिनभर हाकिमकाे निर्देशनमा बस्नुपर्थ्याे। उनलाई जागिरले बाँधिदिएजस्ताे लाग्थ्यो।
तर पनि सरकारी जागिर समाजमा मान-प्रतिष्ठाकाे पेशा मानिन्छ। भाेगाइ जे जस्ताे भएपनि चटक्क छाेडेर हिँड्नु थिएन। जागिर छाेडे भएकाे मान-प्रतिष्ठा पनि गुम्ने। त्यसैले उनलाई सरकारले तिम्राे उमेर पुग्याे, अब घर जाउ नभनुन्जेल जागिर खाए।
आज उनी जागिरबाट अवकाश भएकाे तीन वर्ष भएकाे छ। जागिरे जीवनका चार दशकलाई तराजुकाे एकातिर र व्यावसायिक जीवनका चार वर्ष अर्काेतिर राख्दा पछिल्ला चार वर्ष ओजनदार देख्छन्। किनभने उनले यी चार वर्ष स्वतन्त्र पेशा राेजे। सरकारी सेवामै रहँदा उनले स्वतन्त्रताकाे खाेजी गरिरहेका थिए। त्यही क्रममा उनले माैरी पालन व्यवसाय गरिरहेका थिए। आज पनि त्याे चालू नै छ। सुरुसुरुमा व्यवसाय राम्राे थियाे।
उनले माैरी पाल्ने किसानलाई तालिम समेत दिने गरेका छन्। उनीसँग सरकारले दिएकाे प्रशिक्षककाे प्रमाणपत्र पनि छ। तर बदलिँदो माैसम, हावापानी र तापक्रमकाे अवस्था, कृषि उत्पादनमा अत्यधिक मात्रामा प्रयाेग हुने विषादी आदि कारणले माैरी राम्राे हुन सकेन। त्यसपछि उनले पन्छी पालन व्यवसाय राेजे।
उनले सुरुमा टर्की पाले। त्याे दर्ता गरेर खाेलेकाे देशकाे साताैँ टर्की फर्मकाे बन्याे। एक वर्षसम्म पाले। टर्कीको बजार नहुँदा व्यवसाय त्यसै छाेड्नुपर्यो।
'जुम्लाकाे आवश्यकता भनेकाे दुईदेखि तीन हजारसम्मकाे मासु खाने पन्छी किन्न पाइने हुनुपर्ने रहेछ,' उनले भने, 'टर्की एउटैकाे १२ देखि १४ हजारसम्म पर्न लाग्याे। चितवनमा टर्कीको मासु नाै सय रुपैयाँ किलाे थियाे। त्याेबेला मैले जुम्लामा एक हजार रुपैयाँ किलाेमा दिँदा पनि बिक्री भएन।'
उनले टर्कीपछि हिमाली हावापानीमा पनि ठिक्क हुने र आम मान्छेले दुई हजारसम्मकाे बजेटमा खरिद गर्न सक्ने लाैकाट भेटाए। जुम्लामा दत्त बहादुर शाहीपछि दाेस्राेमा लाैकाट पालन गर्नेमा नारायणकाे नाम आउँछ।
'पाँच सय वटा लाैकाटबाट व्यवसाय सुरु गरेकाे थिएँ। त्याे निकै राम्राे थियाे,' उनले भने, 'त्यसकाे एउटा बैगुन भनेकाे अत्यन्तै कराउने रहेछ। गाउँ नजिक रहेकाे मेराे व्यवसायबाट नाफा मैले खाने र डिस्टर्ब अरुलाई हुने भएपछि त्यसलाई पनि छाेड्नुपर्यो।'
त्यसपछि उनले साना जातकाे चरा बट्टाई पाले। चिसाे हावापानीमा वृद्धहरुलाई दम, खाेकी लाग्ने। बच्चाहरुलाई रुघाखाेकी, निमाेनिया लागिरहने। बट्टाईकाे अण्डा र मासु यी राेगका लागि राम्राे हुने। एकमुष्ट एक हजार बट्टाई ल्याएर पाल्न खाेजे। काठमाडौंकाे भन्दा सस्ताे मूल्यमा अण्डा दिँदा पनि बिक्री भएन। मुस्किलले कटाए। उनले बट्टाई पनि उपयुक्त नहुने निष्कर्ष निकाले।
त्यसपछि उनले लाेकल कुखुराकाे व्यवसाय सुरु गरे। नेपालगञ्ज, सुर्खेतबाट ल्याएकाे तीन/चार दिनमा उनकाे फर्मबाट चार/पाँच लाखकाे भाले बिक्री हुन लाग्याे। तर पाेथी कसैले नकिन्ने भए। उताबाट आउने भालेपाेथी बराबरै हुन्थे। लाेकल कुखुराका अण्डाकाे माग राम्राे हुने भएपनि तातो ठाउँबाट ल्याएका कुखुराहरुमा विभिन्न किसिमका राेग लाग्ने हुन लाग्याे।
यी विभिन्न किसिमका पन्छी पालन उनकाे निम्ति अनुसन्धान भयाे। जुम्ला जस्ताे ठाउँमा विभिन्न खालका पन्छी पालन सम्भाव्यता अध्ययन गर्ने माैका पाए। टर्की, लाैकाट, बट्टाई, कुकुराबाट उनले केही नयाँ सिक्ने अवसर पाए। यी सब पाल्नका लागि अझै पनि उपयुक्त वातावरण बनिनसकेकाे उनकाे निष्कर्ष छ।
त्यसपछि खाेज्दै जाँदा उनले पहेँलो खुट्टा, पहेँलाे चुच्चा, सेताे शरीर भएकाे, वयस्क अवस्थामा चार किलाे हुने, नियमित अण्डा दिने र चालू अवस्थामा ढाई, तीन किलाे हुने, मासु असाध्यै स्वस्थकर र मिठाे हुने, वृद्धि विकास असाध्यै राम्राे हुने, ४५ दिनदेखि ६० दिनमा दुईदेखि ढाई किलाे हुने अमेरिकन पेकिङ हाँस पालन सुरु गरे।
नेपालमा पहिलाे लटमा डेनमार्कबाट एक हजार दाना अण्डा ल्याएर ह्याचिङ गरी सात सय हाँसका चल्ला उत्पादन गर्दा एक सय चल्ला ल्याएर उनले हाँस पालन सुरु गरेका हुन्। जसकाे नाम अमेरिकामा अमेरिकन पेकिङ, चाइनामा चाइनिज पेकिङ र इन्डियामा बाेइलर हाँस रहेकाे छ। त्यही हाँसले उनलाई दैनिक हँसाइरहेकाे छ। अर्थात् खुसी बनाइरहेको छ।
सुरुका दुई वर्षकाे प्रयाेगपछि जुम्लामा पहिलोपल्ट व्यावसायिक रुपमा हाँस पालन गरेका नारायणकाे निष्कर्ष छ, 'जुम्लाकाे लागि सबैभन्दा उपयुक्त पन्छी हाँस हाे। जसबाट मनग्ये लाभ लिन सकिन्छ।'
अहिले उनकाे फर्ममा डेड सय हाँस छन्। अधिकांशले अण्डा दिन्छन्। दैनिक तीन क्यारेट अण्डा बिक्री हुन्छ। दैनिक ३ हजार छ सय रुपैयाँ आउँछ। दानामा दुई हजारदेखि २५ सय खर्च हुन्छ भने बाँकी आम्दानी हुन्छ। आम्दानी हात लाग्दा उनकी श्रीमती रिता खुसी हुन्छिन्।
नगदबाहेकका कयाैँ अरु खुसी पनि हात लागिरहेकाे छ। हाँसबाट हुने मलका कारण उनकाे फसल राम्राे भएकाे छ। घर अगाडि लगाएका फलफूल राम्रा भएका छन्। तरकारी अरुकाे भन्दा कयाैं गुणा राम्राे भएकाे छ। नारायण र रिता हुर्किंदै गरेका फसल हेर्छन्, फैलाउँदै गरेकाे तरकारी हेर्छन्, पाेखरीमा खेलिरहेका हाँस हेर्छन् अनि औधि खुसी हुन्छन्।
यसले रितालाई आत्मनिर्भर बनाएकाे छ। उनीसँग हरेक दिन पैसा हुन्छ। 'छाेरा, छाेरीलाई चाहिएकाे बेला खर्च दिन पुगेकाे छ। बुढाकाे पेन्सन नआएकाे र चाहिएकाे बेला समेत पैसा दिन सकिएकाे छ। याे नभएकाे भए उहाँकाे पेन्सनकै भर पर्नुपर्थ्याे,' उनले भनिन्।
सरकारी सेवामा रहँदा नारायणलाई हाकिमले बाँधेका हुन्थे। व्यवसायबाट उनी मात्रै हाेइनन्, श्रीमती रितालाई समेत स्वतन्त्रता मिलेकाे छ। आत्मनिर्भर र पैसा खर्च गर्नलाई स्वनिर्णय लिन सक्ने भएका छन्। त्यसैले उनीहरु दुबैजना हाँससँगै हाँसेका छन्।
सरकारी सेवाबाट चालिस वर्षमा हासिल नगरेका उपलब्धि उनले चार वर्षमै हात पारे। याे चार वर्षमा उनी तीनपल्ट सम्मानित भएका छन्। एकपल्ट कृषि विकास कार्यालयकाे उत्कृष्ट किसान र एकपल्ट चन्दननाथ नगरपालिकाकाे उत्कृष्ट किसान घाेषित भए। जसमा प्रमाणपत्रसहित २५ हजार नगद थियाे। सँगसँगै सेवामा रहँदै अनुसन्धानमा लागेकाे भनी उनी राष्ट्रपतिबाट जनसेवाश्री पदकबाट समेत सम्मानित भएका छन्।
उनले स्थानीय रेडियाेमा कयौंपटक अन्तर्वार्ता दिएका छन्। लगभग सबैजसाे पत्रपत्रिकामा उनकाे विषयमा समाचार बनेका छन्। उनले भने, 'सरकारी सेवामा रहँदासम्म यस्ताे कहिले पनि भएन।'
उनी लामाे समय याे पेसामा रहने साेचमा छैनन्। आफूले गरेजस्तो अरु कसैले सुरु गरिदिए ह्याचिङकाे कामबाहेक अरु छाेड्ने मनस्थितिमा छन्। उनकै प्रेरणाबाट एक जना महिलाले ५० हाँस पालेकी छन्। उनी अहिले एकजना खरदारले कमाउने बराबर आम्दानी कमाउँछिन्। उनले भने, 'यसरी व्यवसाय गरेर आम्दानी लिएकाे देख्दा खुसी लाग्छ। म चाहन्छु धेरैले यसरी नै स्वराेजगारीकाे उपाय खाेजुन्। त्यसपछि राेजगारीका लागि कतै भाैँतारिन पर्दैन।'
काेभिडकाे समयमा उनकाे व्यवसाय हेर्न आउनेकाे घुइँचो थियाे। स्वराेजगारीका उपायबारे सल्लाह लिन आउने अनगिन्ती थिए। कति त दिनभर हाँस, कुखुरासँग खलेर जान्थे। आज पनि व्यावसायिक सफलता हात पार्न चाहनेहरु उनीसँग आएर सिक्न खाेज्छन्।
उनी सकेकाे सल्लाह दिन्छन्। युट्युबले उनलाई सल्लाह दिने बनाएकाे छ। कहिलेकाहीँ पशु सेवा कार्यालयमा जान्छन्, प्राविधिक सल्लाह लिन्छन्। तर उनलाई खट्किरहेकाे छ, पर्याप्त मात्रामा औषधि र दक्ष अनुभवी प्राविधिकहरु पाउन मुस्किल छ। तथापि आफ्नै अनुभवले उनलाई धेरै कुरामा दक्ष बनाउँदैछ। जसले उनकाे खुसी समेत बढाउँदैछ।