डब्ल्यूएचओको युवाहरूलाई सतर्क रहन चेतावनी, पाँच महिनामा ६० लाख संक्रमित

बिएल संवाददाता

जेनेभा, बिएल ब्यूरो

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युवाहरूमा कोरोना संक्रमण बढ्दै गरेको भन्दै चिन्ता व्यक्त गरेको छ।

स्वास्थ्य संगठनका अनुसार पछिल्लो पाँच महिनामा १५ देखि २४ वर्ष उमेर समूहका युवाहरूमा संक्रमणको संख्या तीन गुणाले बढेको छ। 

उसले २४ जनवरीदेखि १२ जुलाईको बीचमा संक्रमणको संख्या ४ दशमलव ४ प्रतिशतले बढेर १५ प्रतिशत माथि पुगेको बताएको छ।

यस्तै, ५–१४ वर्ष उमेर समूहका किशोर–किशोरीमा शुन्य दशमलव ५ प्रतिशतबाट संक्रमण बढेर ४ दशमलव ६ प्रतिशत पुगेको पनि स्पष्ट पारेको छ। 

संक्रमणको संख्या बढ्नुमा स्कुल पुनः खुला हुनु र परीक्षणको संख्या बढ्नुलाई बताइएको छ। 

संगठनका निर्देशक टेड्रोस अधानोमले भने, ‘हामीले पहिले नै भनिसकेका थियौं, युवाहरू सुरक्षित छैनन भनेर।’ 

स्वास्थ्य संगठनले नाइटक्लब पार्टी र समुन्द्र छेउमा घुम्ने कारण पनि युवाहरूमा कोरोना संक्रमण बढेको बताएको छ। ‘पछिल्लो पाँच महिनामा ६० लाख युवा संक्रमित देखिएका छन्,’ डब्ल्यूएचओले भनेको छ।  

संक्रमणमा युरोप र अमेरिकाका मात्र नभई एसियाका युवा पनि रहेको संगठनले बताएको छ। 

‘अमेरिकी देश तथा युरोपको स्पेन, जर्मनी र फ्रान्समा मात्र होइन, एसियाको जापानमा पनि युवामा संक्रमण फैलिरहेको छ,’ संगठनले चेतावनी दिएको छ। 

स्वास्थ्य विशेषज्ञहरूले जसरी कोरोनाको संक्रमण फैलिरहेको छ, यसले दोस्रो लहर निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: : 2020-08-05 15:33:43

प्रतिकृया दिनुहोस्