यति एयरलाइन्स दुर्घटनामा परे अमेरिकाका तीन नेपाली

अब कहिलै अमेरिका फर्कने छैनन् हरि, राजन र शिव !

डा. प्रदीप भट्टराई

वासिङ्टन डी सी, अमेरिका

पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा अमेरिकाको नेपाली डायस्पोराले तीन नेपाली युवा गुमाएको छ । नीहरू काठमाडौं स्वयम्भूका हरि परियार, कास्की हेम्जाका राजन सापकोटा र धम्पुसका शिव गुरूङ हुन् ।

हरि परियारले आफूसँगै श्रीमती लक्ष्मी परियार, १६ वर्षीया छोरी रीता परियार र १४ वर्षीय छोरो कृश परियार पनि गुमाएका छन् । डिसेम्बर ४ मा नेपाल फर्केका काठमाडौैं स्वयम्भूका हरि परियार अलास्कामा बस्दै आएका थिए । घर बनाउने काममा रहेका हरि टिकटकमा छाइरहेका हुन्थे। उनी सपरिवार घुम्नका लागि पोखरा जाँदै थिए, पोखरा नपुग्दै उनको सपरिवार दु:खद निधन भयो ।

राजन सापकोटो दुई वर्षअघि डीभी परेर अमेरिका आएका  थिए । उनले यस बिचमा नेपाल गएर आशिकासँग विवाह गरेका थिए । उनी यसपटक आशिकालाई लिन नेपाल गएका थिए । आशिका उनलाई लिन पोखराबाट काठमाडौैं आएकी थिइन् । माघे संक्रान्ति मनाउन घर जाने क्रममा उनीहरूले यतिको यही जहाज रोेजेका थिए जसले उनीहरूलाई सदाका लागि यो धर्तीबाट अन्यत्र लग्यो । अब राजन नवविवाहित श्रीमती आशिकालाई लिएर अमेरिका फर्कने छैनन् । 

शिव गुरूङ अस्ट्रेलियामा रहेकी आफ्नी श्रीमती अनुश्कासँगको विवाह काठमाडौैंमा दर्ता गर्ने र उनलाई अमेरिका ल्याउने कागजी प्रक्रिया अगाडि बढाउन यसपटक नेपाल गएका थिए । उनी पुस २७ गते काठमाडोैं पुगेका थिए भने अनुश्का पनि त्यही दिन अस्ट्रेलियाबाट नेपाल पुगेकी थिइन् ।

अलविदा शिव-अनुश्का : अब कहिल्यै विवाह दर्ता गर्नै नपर्ने भयो... दैब निष्ठुरी !

शिवले पहिला पोखरा पुगेर ७६ वर्षका बाबु भक्तबहादुर र ७२ वर्षकी आमा बुद्धि सुब्बा गुरूङलाई भेट्ने र माघे संक्रान्ति पनि मनाउने योजना बनाए । त्यही अनुसार उनीहरू माघ १ गते यतिको जहाज चढेका थिए जस्ले उनीहरूलाई अब विवाह दर्ता नै गर्नै नपर्ने ठाउँमा पुर्याइ दियो ।  

नेपालीमा एउटा भनाइ छ, कहाँको जन्म कहाँको मरण । तर, हरि र राजनका लागि भने जन्म पनि नेपाल मरण पनि नेपालमै भयो । 

भाग्य भनौं या नियति उनीहरूको मरण आफ्ना प्रियजनसँगै नेपालमै त्यो पनि यसरी आकस्मिक दुर्घटनामा परेर हुनु परेको रहेछ । हरि, शिव र राजनले सपरिवार यो संसार छोडे । 

नेपाल गएका उनीहरु अब कहिल्यै अमेरिका फर्कने छैनन् । छिट्टै भेटौला भनेर गरिएका वाचा अब कहिलै पूरा हुने छैनन् । न बिदाइमा हल्लाइएका हातहरू अब फेरि कहिलै हल्लाइनेछन् ।  

...... 
हामीसँग यति एयरलाइन्समा अमेरिकाको नेपाली डायस्पोराका दुई नेपाली मात्र परेको सूचना थियो । त्यही आधारमा समाचार सम्प्रेषण गरेका थियौ । तर, शिव गुरूङको परिवारले शिव पनि दुर्घटनामा परेको बताएपछि हामीले समाचार अद्यावधिक गरेका छौं । यसबाट अन्यथा भएको सम्बन्धित सबैसँग क्षमाप्रार्थी छौं - सम्पादक।) 

प्रकाशित मिति: : 2023-01-16 21:32:00

प्रतिकृया दिनुहोस्