काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा आइतबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका २२ , ललितपुरका ८ र भक्तपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ११ र ललितपुरका ४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ८ जना र वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ललितपुरका १, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना र स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरि नेपाल–कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।