जो प्रधानमन्त्री भेट्न चाहन्छन् (भाग–१) 

बेरोजगार ‘साइन्टिस्ट’

सन्तोष बराइली

काठमाडाै‌ं

दुई वर्षअघि उनले ‘प्लान्ट बायोटेक्नोलोजी’ मा पीएचडी गरे। अहिले झोलामा सर्टिफिकेट बोकेर काठमाडौंको गल्ली चाहरिरहेका छन्। बेरोजगार छन्। तर, आफ्नो पिडा कसैलाई बताउन सकिरहेका छैनन्। 

भारतको चर्चित जादवपुर विश्वविधालयबाट पीएचडी गरेपछि उनलाई भारतमै बसेर काम गर्ने आकर्षक जागिरको ‘अफर’ थियो। तर, उनले ती सबै ‘अफर’ अस्वीकार गरे।

वनमा रिसर्च गर्दै डा. यादव

बुवाले जग्गा बेच्दै आफूलाई पढाएको तथ्य उनको दिमागमा थियो। फेरि पढाई कसका लागि? आफ्ना लागि कि देशका लागि?

पहिले त उनलाई लाग्थ्यो–‘पढाई नितान्त व्यक्तिगत कुरा हो। त्यो आफ्नो लागि हो।’ तर, पीएचडी गर्ने क्रममा उनको संङ्गत भारतका उपल्लो वर्गसँग भयो। नेताहरूसँग भयो। बौद्धिक व्यक्तित्वसँग भयो।

यसपछि उनलाई लाग्यो– ‘होइन, पढाई व्यक्तिगत मात्र हुनुहुँदैन। त्यो देश विकाशमा पनि समर्पीत हुनुपर्छ।’ 

किन आज चीन शक्ति राष्ट्र अमेरिकालाई उछिन्ने अभियानमा छ? कुनैबेला चीनले आफ्ना प्रतिभाशाली युवालाई अध्ययनका लागि अमेरिका र युरोप पठाएको थियो। तीनै युवा पछि देश फर्किए। नतिजा अहिले चीनले चमत्कारीक विकाश गरेको छ। 

चिनियाँ निम्तोमा बेईजिङमा सहभागिता जनाउँदै डा. यादव

सप्तरी राजविराजका रैथाने डा. रोशन यादव यही कुरा बुझेपछि नेपाल फर्किएका थिए। रमाइलो कुरा, देश परिवर्तन गर्नसक्ने क्षमता भएका तिनै ‘साइन्टिस्ट’ बेरोजगार छन्। 

राज्यलाई कुनै मतलब छैन। नेताहरू भीड थुपारेर एकअर्कालाई गाली गर्न व्यस्त छन्। प्रधानमन्त्री समृद्धिको कुरा गर्छन। प्रतिभाशाली युवालाई अगाडी बढाउने कुरा गर्छन। तर, एकजना युवा ‘साइन्टिस्ट’ दोबाटोमा आफ्नो भविस्य खोजिरहेको छ।

उनी प्रधानमन्त्री केपी ओलीलाई भेट्न चाहन्छन्। आफ्नो योजना सुनाउन चाहन्छन्। देश विकाशमा केही योगदान गर्न चाहन्छन्। तर, प्रधानमन्त्रीसँग उनलाई भेटाइदिने कसले? भेटे पनि प्रधानमन्त्रीले ‘अन्तर्राष्ट्रिय साइन्टिस्ट सोसाइटी’ मा छापिएका उनका दर्जन बढी जर्नललाई बुझ्ने कसरी?

भारतका तत्कालिन राष्ट्रपति स्व. डा.प्रणव मुखर्जीसँग डा. यादव

डा. यादवले ३० वर्षको उमेरमा पीएचडी पुरा गरे। विश्वका ५५ राष्ट्रका विशिष्ट वैज्ञानिक र शोधकर्ता समावेश ‘वर्ल्ड साइन्स कंंग्रेस’ नेपाल च्याप्टरका उनी सबैभन्दा कान्छा अध्यक्ष हुन्। उनलाई २०१९ मा छत्तिसगढको रायपुरमा भारतको सबैभन्दा पुरानो तथा प्रतिष्ठित संस्था ‘इन्डियन केमिकल सोसाइटी’ ले आयोजना गरेको ५६ औं कन्भेन्सनमा ‘अनररी फेलो’ को उपाधिबाट सम्मान गरेको थियो। त्यही वर्ष दिल्लीको जवहारलाल नेहरु विश्वविधालय (जेएनयू) ले आयोजना गरेको अन्तर्राष्ट्रिय कन्फ्रेन्समा उनलाई अतिथिको रूपमा नेपालबाट बोलाइएको थियो। उनले २०१८ मा चीनको बेइजिङमा आयोजना भएको अन्तर्राष्ट्रिय कन्फ्रेन्समा पनि देशको प्रतिनिधित्व गरेका थिए। यो कार्यक्रमको आयोजना ‘चाइनिज एकेडेमी अफ साइन्स’ ले गरेको थियो। 

नेपालमा यसरी आउन सक्छ समृद्धि

प्रधानमन्त्री केपी ओली विगत तीन वर्षदेखि समृद्धिको नाराबाट नेपाली युवालाई प्रोत्साहित गर्न खोजिरहेका छन्। तर विडम्बना, देशमा हरित क्रान्ति ल्याउनसक्ने यी युवा वैज्ञानिक बेरोजगार बनेर बाटोमा हिँडिरहेका छन्। यसले प्रधानमन्त्रीको नारालाई नै ‘कुरीकुरी’ भनिरहेको छ।

नेपाल दुई वटा ‘ज’ बाट मिलेर बनेको देश हो। यहाँ प्रचुर मात्रामा ‘जल’ पाइन्छ। जंगलको पनि कमि छैन। अझ, डाँडाकाँडाले घेरिएको देश भएको हुनाले यसको बेग्लै महत्व छ।

भारतको छत्तिसगढमा भारतीय केमिकल सोसाईटीबाट सम्मान थाप्दै डा. यादव

यी सबै कुरा डा. यादवले राम्रोसँग बुझेका छन्। उनी प्रधानमन्त्रीको समृद्धिको यात्रामा अगाडी बढ्न नेपालको प्रकृति नै काफी रहेको बताउँछन्। उच्च हिमाली क्षेत्रमा ‘मेडिस्नल प्लान्ट’ लगाएर जडिबुटीको अधिकतम सदुपयोग गर्न सकिने उनको भनाई छ। ‘वास्तवमा नेपालमा पैसा छरिएको छ। तर, सरकारले त्यसलाई सोर्न सकिरहेको छैन। हाईअल्टिच्युटमा मेडिस्नल प्लान्ट बायोटेक्नोलोजी प्रविधिबाट उत्पादन गर्न सकिन्छ’, उनले बिएल नेपाली सेवासँग भने, ‘विभिन्न रोगको लागि औषधि पनि बनाउन सक्छ सरकारले।’

सरकारले आधुनिक कृषिको कुरा गर्न छोडेको छैन। तर, कुरा अनुसारको काम पनि भइरहेको छैन। आखिर त्यस्तो किन भइरहेको छ त? स्वभाविकै हो, नेपालको पुरानो रोग–‘आफ्नालाई काम। अरु गुमनाम’। अर्थात नेपालमा अझै पनि क्षमतावान व्यक्तिले काम गर्ने ठाउँ पाएका छैनन्। 

डा. यादव भन्छन्, ‘थोरै समयमा बढि उत्पादन गर्न पनि बायोटेक्नोलोजीले सघाउने गर्छ। हाम्रो देशमा रक्तचन्दन, श्रीखण्डको खेती गरेर निम्नवर्गीय र मध्यमवर्गीय किसानलाई आर्थिक उन्नतीको बाटोमा अग्रसर गराउन सकिन्छ।’ 

रक्तचन्दन र श्रीखण्ड विभिन्न औषधि बनाउन प्रयोग गरिन्छ। रक्तचन्दन र श्रीखण्डको माग चीन, अष्ट्रेलिया, हवाई लगायतका देशमा उच्च छ। विदेशमा बेचेर देशमा डलर भित्र्याउन सकिने कारण सरकारले यस बिषयमा ठोस योजना बनाउन उनी आग्रह गर्छन। 

को हुन्, डा. यादव

२०४५ सालमा सप्तरीको राजविराजमा मध्यमवर्गीय परिवारमा उनको जन्म भएको थियो। राजविराजको ह्याप्पील्याण्ड माध्यमिक विधालयबाट एसएलसीको अध्ययन पुरा गरेका उनले विराटनगरस्थित विराट साईन्स क्याम्पसबाट ‘प्लस टु’ गरेका थिए। उनले काठमाडौंको अमृत साईन्स क्याम्पसबाट माइक्रो बायोलोजीमा बिएस्सी गरे।

भारत सरकारको छात्रबृत्तिमा दक्षिण भारतको बेङ्लोर विश्वविद्यालयबाट बायोटेक्नोलोजीमा एमएस्सी पुरा गरे। उनले भारतका तत्कालीन राष्ट्रपति स्व.डा.प्रणव मुखर्जीको सिफारिसमा पूर्ण छात्रवृृतीमा जादवपुर विश्वविद्यालयबाट बायोटेक्नोलोजीमा बिद्याबारिधी गरेका थिए। जादवपुर विश्वविधालय भारतको टप–५ विश्वविधालयमा पर्छ। 

उनको सानोको इच्छा थियो, मेडिकल डाक्टर बन्ने। मधेशका गाउँ घरमा एमबीबीएस डाक्टरले पाउने इज्जत र मानसम्माननै अर्के हुन्छ। त्यसैले उनी लोभिएका थिए।

यसरी मोडियो यात्रा

अमृत साईन्स क्याम्पसबाट माइक्रोबायोलोजीमा बिएस्सी गर्दा उनको कक्षामा ६० बिद्यार्थी थिए। तर, पहिलो बर्षको परीक्षामा ३ जना मात्र पास भए। पास हुने तीन जनामा डा. यादव पनि थिए। 

अमृत साईन्समा पढ्दै गर्दा आयुर्वेदिक मेडिसिन सर्जरीमा स्कलरशीपमा नाम निस्किएको थियो, उनको। तर, बुवाले आयुर्बेदभन्दा माईक्रोबायोलोजी नै राम्रो छ भनेपछि उनको यात्रा मोडिएको थियो।

भारतीय कंग्रेसका वरिष्ठ नेता तथा विद्वान शशी थरुरसँग डा. यादव

उनले भारतको चण्डिगढको मोहालीस्थित ‘सेन्ट्रल फर डेभ्लोपमेन्ट अफ एड्भान्स कम्पिटिङ’ (सीडीएसी) बाट थ्रीडी एनिमेशनको ट्रेनिङ लिए। मास्टर्सका लागि स्करलशीपमा नाम निकाले।

एमएस्सी सकेपछि बेङ्लोरकै ‘इण्डियन इन्सिच्युट अफ साईन्स’ (आइआइएसी) मा ‘रिसर्च एसोसियट’ को रुपमा काम गरे। आइआइएसी विश्वको सय उत्कृष्ट इन्सिच्युटमध्ये ७ औं स्थानमा पर्छ।

उनले भारतको राजधानी दिल्लीस्थित ‘अल इण्डिया इन्सिच्युट अफ मेडिकल साइन्स’ मा ‘डिपार्टमेण्ट अफ फर्माकोलोजी’ मा ट्रेनिङसमेत लिए। 

नेपाल फर्केपछि

८ बर्षअघि भारतबाट मास्टर्स गरेर फर्केपछि उनले त्रिभुवन विश्वविद्यालयमा ‘डिपार्टमेण्ट अफ बायोटेक्नोलोजी’ मा अध्यापन थाले। त्यहाँ ३ बर्ष पढाए। उनले नेपाल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजी (नास्ट) मा ‘असिस्टेन्ट रिसर्च फेलो’ को रूपमा काम गरे। खुमलटारस्थित ‘एसियन इन्सिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट’ (एआई टिएम) मा डेपुटी डाइरेक्टर (रिसर्च एण्ड एक्स्ट्रनल रिलेशन) को रूपमा काम गरे।

भारतको कोलकतास्थित जादवपुर विश्वविद्यालयले बायोटेक्नोलोजीमा फेलोशीप आब्हान गर्यो। फर्म भरे। उनको नाम भारतका राष्ट्रपति प्रणव मुखर्जीले आफ्नै लेटरप्याडमा सिफारिस गरिदिए। नाम निस्कियो। अनि यहिँबाट ‘प्लान्ट बायोटेक्नोलोजी’मा बिद्याबारिधी गरे।

क्षमता छ, अवसर छैन 

बायोटेक्नोलोजीमा पनि विभिन्न बिषय हुन्छन्। जस्तै मेडिकल बायोटेक्नोलोजी, फुड बायोटेक्नोलोजी, एग्रिकल्चर बायोटेक्नोलोजी, इण्डष्ट्रियल बायोटेक्नोलोजी, जेनेटिक इञ्जिनियरिङ, डेरी टेक्नोलोजी, प्लाण्ट बायोटेक्नोलोजी छन्। भन्छन्, ‘बायोटेक्नोलोजीमा पीएचडी गरेपछि नास्टमार्फत राज्यले अवसर सिर्जना गर्नुपर्ने हो। तर, नास्टमा कर्मचारीतन्त्र हाबी छ।’

बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवसँग डा. यादव

नेपालमा बायोटेक्नोलोजीमा ५० जतिले पीएचडी गरेका छन्। तर, नेपालमा मौका नपाएपछि धेरै युरोप तथा अमेरिका पलायन भइसकेका छन्। ‘म आफ्नै देशमा केही गरौँ भनेर बसेको हुँ। हेरौं भाग्यले कहाँ पु¥याउँछ,’ क्षमता भएर पनि हिजोआज भाग्यमा विश्वास गर्न थालेका बेरोजगार वैज्ञानिकले बिएल नेपाली सेवालाई सुनाए।

यूपीका पूर्वमुख्यमन्त्री तथा सपा अध्यक्ष अखिलेश यादवसँग डा. यादव



प्रधानमन्त्री युवाको कुरा गर्ने, बालुवाटारमा युवालाई प्रवेश निषेध

प्रकाशित मिति: : 2021-02-16 19:36:00

प्रतिकृया दिनुहोस्