एक सातामै कोरोनाका कारण भारतमा २५ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ।

भारतमा २५, साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन्। यससँगै सङ्क्रमणका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ।

विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै संघले लण्डनबाट आइतबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रमित भएको उल्लेख गरिएको छ।

यसैबीच संघले हालसम्म कोभिड–१९का कारण विदेशमा अलपत्र ३७ हजार ४२४ जनालाई सम्बन्धित देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको बताएको छ।

अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको पनि संघले जनाएको छ। रासस

प्रकाशित मिति: : 2020-08-02 13:02:03

प्रतिकृया दिनुहोस्