योगेश भट्टराईले भने–

'लुला खुट्टा भएका हाम्रा प्रधानमन्त्री'

BreaknLinks
BreaknLinks

नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई जुम्ला पुगेका छन्। पार्टीको 'ग्रासरुट मिसन' सफल पार्न जुम्ला पुगेका उनले पत्रकारहरुसँगकाे कुराकानीमा प्रधानमन्त्री प्रचण्डका खुट्टा लुला भएका बताएका हुन्।

'हाम्राे प्रधानमन्त्रीका खुट्टा लुला छन्। त्यसैले बेलाबेला हल्लिरहन्छन्,' उनले भने, 'पुष १० गते दिनमा नेकपा एमालेले लगाई दिएको फलामका खुट्टा प्रचण्डले फेर्दा हल्ली रहेको उहाँले टिप्पणी गर्नु भएको हो।' 

उनले हल्लिएका फलामको खुट्टालाई बलियो बनाउन पुष १० गतेको सहमतिमा फर्किन प्रचण्डलाई आग्रह समेत गरे। उनले थपे, 'पुष १० गतेको सहमति भंग भएको घाेषणा प्रधानमन्त्रीले गरेमा बेग्लै खालको नयाँ राजनीतिक समिकरण निर्माण हुनेछ।'

प्रचण्डले गरेको निर्णय सच्चिनेमा नेकपा एमालेकाे  विश्वाश रहेकाे जुम्ला पुगेका सचिव भट्टराईले बताए। उनका अनुसार रापप्राले सरकारलाई दिएको समर्थन फिर्ता लिई सकेको हुनाले संविधान अनुसार ३० दिन भित्र पुन: प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्नेछ, पुष १० गतेको समकिरण कायम नरहेको खण्डमा नयाँ समिकरण बन्ने अवस्था आउनेछ।

राष्ट्रपति निर्वाचनमा नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवार बीच प्रतिस्पर्धा हुने भएकाले एमालेको उम्मेदवार विजयी हुने सचिव भट्टराईकाे दाबी छ। 'सांसदलाई ह्वीप नलाग्ने भएकाले धेरैले सुवास नेम्वाङका पक्षमा मतदान गर्नेछन्,' उनले भने, 'नेम्वाङले ३२ वटा राजनीतिक दलको समर्थनमा संविधान निर्माण गर्न नेतृत्वदायि भूमिका खेलेको व्यक्ति हुनुहुन्छ। त्यसैले जीत उहाँकाे हुने निश्चित छ।' 

उनले नेम्वाङकै नाममा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न उहाँले प्रधानमन्त्रीलाई आग्रह गरे। राष्ट्रपति चयन गर्ने मामिलामा उच्चत्तम विवेक प्रयोग गरि मतदान गर्नेमा आफू विश्वस्त रहेको भट्टराईकाे दाबी छ। 

पत्रकारसँगकै कुराकानीमा माधव कुमार नेपालले पनि ठुलो अवसर गुमाएको उहाँले बताए। उनले भने, 'नेकपा एमालेले फेरी एक पटक उहाँलाई राष्ट्रपतिको उम्मेदवारको लागि प्रस्ताव गरेपनि स्वीकार नगर्नु उहाँका लागि घाटा हाे।'

राष्ट्रपतिमा माओवादीले एमालेलाई मत दिएमा एमालेले प्रधानमन्त्रीलाई थप बलियो बनाइदिने उनले बताए। उनले पार्टी सुदृढिकरण र विस्तारका लागि यो मिसन ग्रासरुट अभियान संचालन गरिएकाे हुँदा आफू जुम्ला पुगेकाे बताए। 

'पार्टीका कमिमजोरी सच्याउने, पार्टीलाई सुदृढ बनाउने र पार्टीलाई जनताका बीचमा स्थापित गर्नको लागि यो अभियान देशैभर संचालन भएको छ,' उनले भने, 'हामी २०७९ साल वैशाख ९ गते सम्म याे अभियानमै हुनेछौं।'

प्रकाशित मिति: : 2023-02-27 07:11:00

प्रतिकृया दिनुहोस्