शुक्रबार, १६ अक्टोबर २०२६

वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध हिमेश पन्तले दिए साइबर ब्यूरोमा उजुरी

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य हिमेश पन्तले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन्।

पन्तले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटी पुगेर श्रेष्ठविरुद्ध कारबाहीको माग गर्दै औपचारिक उजुरी दर्ता गराएका हुन्। 

उजुरी निवेदनमा उल्लेख भएअनुसार, २०८३ असोज २९ गते अनलाइन मिडिया ‘जनआस्था’ तथा सोही सञ्चारमाध्यमका सम्पादक किशोर श्रेष्ठको आधिकारिक फेसबुक प्रोफाइलमार्फत आफ्नो चरित्रहत्या हुने गरी सामग्री सम्प्रेषण गरिएको पन्तको आरोप छ।

जनआस्था अनलाइन तथा फेसबुक पेजबाट ‘कलाकार हिमेश, अरुको जग्गा हडप्नले कस्तो कानुन सिकाउने?’ भन्ने शीर्षक राखी कपोलकल्पित, भ्रामक, अर्नगल र बदनियतपूर्ण समाचार सामग्री प्रकाशित तथा प्रसारित गरिएको पन्तले दाबी गरेका छन्।

विद्युतीय माध्यममार्फत आफ्नो व्यक्तिगत चरित्रहत्या गर्ने, व्यावसायिक निष्ठामा आघात पुर्‍याउने तथा राजनीतिक जीवन र छविलाई ध्वस्त पार्ने दुराशययुक्त कार्य भएको भन्दै पन्तले पत्रकार श्रेष्ठलाई आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन्।

यता वरिष्ठ पत्रकार श्रेष्ठले भने पन्तको परिवारले गरिब वृद्ध परिवारलाई मार पारेको सप्रमाण समाचार प्रकाशित हुँदा पनि सत्ताको पहुँच देखाउँदै साइबर ब्युरोमा उजुरी हालिएको प्रतिक्रिया दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

हिमेश भाइ, दुनियाँलाई तिमीले प्रमाणविना हत्यारा, बलात्कारी, ब्ल्याकमेलर भनेर एक बर्षदेखि फेसबुकमा लेख्न छाडेनौ, आज तिम्रो परिवारले यी गरिब वृद्धलाई मारेको सप्रमाण समाचार आउँदा साइबर ब्युरोमा निवेदन हाल्न पुग्यौ हैन त! सत्ताको पहुँच देखाएको होला। कसैलाई अपराधी, बलात्कारी, ब्ल्याकमेकर, हत्यारा करार गर्ने तिमी को हौ? न्यायाधीश हौ? कुन अदालतले हामीलाई अपराधी ठहर्‍याएको छ? प्रष्ट पार। तिम्रो बारेमा प्रमाण र पुर्जासहित एक दिन समाचार आउँदा यति धेरै उफ्रने तिमी- आफैं कल्पना गर त, तिमीले मेटाबाट पैसा तान्न यो एक महिनामा मात्रै कति जनालाई नानाभाँती लेखेर पीडित बनायौ? प्रमाणविना दर्ता हुने तिम्रो उजुरीसँगै प्रमाणसहितको हाम्रो उजुरी पनि त दर्ता होला नि,आजै!

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!