विवादमा उपसभामुख

इन्दिरा रानालाई ‘मानव तस्करी’जस्तो आरोप लगाउनु निन्दनीय छ- रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरजस्ताे उज्यालाे छविकाे व्यक्तिलाई मानव तस्करीजस्ताे आराेप लगाउनु निन्दनीय भएकाे टिप्पणी गरेकाे छ।

रास्वपाले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख रानाले सञ्चारमाध्यममा आएकाे जस्ताे कसैकाे लागि भिसा अनुराेध नगरेकाे र कसैसँग आर्थिक लेनदेन पनि नगरेकाे उल्लेख गराउँदै उनीमाथि मानव तस्करी जस्ताे आराेप लगाउन निन्दनीय भएकाे टिप्पणी गरेकाे छ।

रास्वपाकाे काेटाबाट उपसभामुख बनेकी रानाले १७ महिना अगाडि अवैधरुपमा आफू र गैरसांसद पाँचजना व्यक्तिलाई भिसाका लागि अन्तर्वार्ता समय अगाडि सार्न सिफारिस गरेकी थिइन्। रास्वपाले उपसभामुख रानाले अन्तर्वार्ताका लागि समय मिलाउन सिफारिस गरेपनि कुनै लेनदेन भएकाे पुष्टि नभएकाे दाबी गरेकाे छ।

‘हालसम्म उपलब्ध तथ्य र प्रमाणले कतैपनि समाचारमा अतिरञ्जन गरिएजस्तो भिसा माग गरिएको वा आर्थिक लेनदेन भएको आधार देखिँदैन’, विज्ञप्तिमा भनिएकाे छ, ‘भिसा मितिको सहजताका लागि मात्र अनुरोध गरिएको पत्र पदीय मर्यादा अनुरुप भएन कि भन्नेबारे आइरहेका दृष्टिकोणप्रति उहाँ स्वयंले नै विज्ञप्ति मार्फत् गम्भीर ध्यानाकर्षण भएको बताइसक्नुभएको परिप्रेक्ष्यमा जबर्जस्ती बिना प्रमाण मानव तस्करीजस्तो आरोप लगाउनु निन्दनीय छ।’

रास्वपाले विभिन्न कूटनीतिक निकाय एवम् जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको दाबीसमेत गरेकाे छ।

विज्ञप्तिः

प्रतिनिधि सभाका माननीय उपसभामुख इन्दिरा राना मगरको नाम उल्लेख गरी आएका विभिन्न समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ध्यानाकर्षण भएको छ।

केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएको थियो। भिसा अन्तर्वार्ताका लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन।

यसै सन्दर्भमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डिपी अर्यालज्यूले गर्नुभएको अडियो रेकर्डिङ हामीसँग सुरक्षित रहेको जानकारी गराउँदछौं।

विभिन्न कुटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको छ। उपसभामुखज्यू लगायत अन्य नेताहरूले कुटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू भए-नभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानविनका लागि रास्वपा सधैं तयार रहेको जानकारी गराउन चाहन्छौं।

आफ्ना सारा आम्दानी र सम्पत्ति निस्वार्थ समाजसेवामा लगाउनुभएकी उपसभामुखज्यू विभिन्न प्रतिष्ठित राष्ट्रिय-अन्तर्राष्ट्रिय पुरस्कारबाट विभूषित हुनुहुन्छ। उज्यालो छविकै कारण रास्वपाले उहाँलाई उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको हो। यद्यपि पदमा निर्वाचित भइसकेपछि इन्दिरा राना मगर पार्टीको सदस्य नरहनुभएको सर्वविदितै छ।

हालसम्म उपलब्ध तथ्य र प्रमाणले कतै पनि समाचारमा अतिरञ्जन गरिएजस्तो भिसा माग गरिएको वा आर्थिक लेनदेन भएको आधार देखिँदैन। भिसा मितिको सहजताका लागि मात्र अनुरोध गरिएको पत्र पदीय मर्यादा अनुरुप भएन कि भन्नेबारे आइरहेका दृष्टिकोणप्रति उहाँ स्वयंले नै विज्ञप्ति मार्फत् गम्भीर ध्यानाकर्षण भएको बताइसक्नुभएको परिप्रेक्ष्यमा जबर्जस्ती बिना प्रमाण 'मानव तस्करी' जस्तो आरोप लगाउनु निन्दनीय छ।

संसद् सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचारमा ल्याइनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ। यस्ता गलत प्रहारहरूबाट विचलित नभई रास्वपा सुशासन, सामाजिक न्याय र द्रुत आर्थिक विकासको मार्गमा नेपाललाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतामा अडिग रहँदै समग्र शुभेच्छुक र पार्टी परिवारलाई काण्डै काण्डको चाङमाथि मध्यरातमा ठडिएको गठबन्धनका आगामी चालहरूप्रति सचेत रहन पनि आग्रह गर्दछौं।
मनिष झा
प्रवक्ता (कार्यवाहक)

प्रकाशित मिति: : 2024-07-21 08:44:00

प्रतिकृया दिनुहोस्