समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका लकडाउनमा फर्किएको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरलका अनुसार महानगरले आज राती १२ बजेदेखि लागु गरेको लकडाउन यस अगाडी भन्दा कडा रुपमा कार्यन्यन गरिने छ।
‘आज राति १२ बजेबाट साउन ३० गतेसम्म महानगरपालिका लकडाउनमा जाने भएको छ’, पोखरेलले भने, ‘विराटनगरको अवस्था अलि डरलाग्दो भएकैले यस्तो निर्णय गरिएको हो।’
उनका अनुसार महानगरले यसपटक अति भीड हुने पुरानो र नयाँ गुद्री बजार समेत बन्द गर्ने निर्णय गरेको छ।
खाद्यन्न, तरकारी तथा फलफूलका पसलहरु (पुरानो र नयाँ गुद्री बाहेक) औषधी पसल, दूध, पानी, ग्यास/इन्धन, अक्सिजन, बारुण यन्त्र सेवा, एम्बुलेन्स सेवा, अस्पताल तथा नर्सिङ होम (बहिरंग सेवा बाहेक) आइसीपीबाट आउनेजाने मालवहाक सवारी साधन, सफाइकर्मी, स्वास्थ्यकर्मी र सञ्चार लगायत अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द हुने उनले बताए।
विराटनगरमा ११० जना नागरिकमा संक्रमण पुष्टि भएको छ। यीमध्ये ६१ जनाको ट्राभल हिस्ट्री नभेटिएकोले समुदायस्तरमा संक्रमण पुगेको दावी गरिएको छ।
सकारले देशभर चैत ११ बाट शुरु गरेको लकडाउन साउन ६ गते अन्त्य गरेको थियो। लकडाउन अन्त्यपछि विराटनगरमा जोखिम देखिन थालेको भन्दै यस बिहीबार जिल्लास्थित कोभिड–१९ इसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) र शुक्रबार प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले स्थानीय तहको आवश्यकताका आधारमा पहल लिनसक्ने बाटो खोलेको थियो।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले महानगरले गरेको लकडाउनलाई प्रशासनिक तवरले कार्यन्वयनमा कडाई गरिने छ। लकडाउन कडाइका साथ पालना गराउन प्रहरी प्रशासनको सक्रियता हुने उनले बताए।
संघीय इकाईका कार्यालयहरु बन्द नरहने र कर्मचारीले समेत महानगरले तोकेको मापदण्ड अपनाएर हिँडडुल गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए।