विश्वका मुख्य ठूलाहरू यसपालिको ग्रिष्मयाममा अत्यधिक तातिए। यी सहरमा तापक्रमले धेरै वर्षको रेकर्डहरू पार गरेका छन्। खासगरी एसिया क्षेत्रमा सबैभन्दा धेरै जनसंख्या भएका सहरहरूमा सहिनसक्नु तातो भयो। अहिले पनि यी सहरहरू उस्तै ताता छन्, गर्मीले उम्लिएका जस्तै।
एउटा नयाँ अध्ययनले गर्मीको उच्च पारोलाई जलवायु परिवर्तनका कैयन डरलाग्दा संकेतहरू भनेका छन्। जसले निकट भविष्यमै मानव जीवनलाई गम्भीर खतरातिर लैजाँदैछन्।
खासगरी एसिया प्रशान्तका २० ठूला सहरहरूमा गरिएको एउटा नयाँ अध्ययनले जलवायु परिवर्तनको असरसँग जोडेर यो अत्यधिक गर्मीलाई पृथ्वीकै लागि खतराको संकेत मानेका छन्। यी सहरहरू जहाँ कम्तीमा ३० करोडभन्दा धेरै मानिसको बसोबास छ, अनि यिनै सहरहरू यसरी तातिएका छन् यहाँको एकदमै औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा धेरै छ। यो भनेको लगभग ९५ डिग्री फरेनहाट हो। यो पनि लगभग ३० वर्षअघिको भन्दा निकै धेरै तापक्रम हो।
खासगरी यी सहरहरू यसपालिको गर्मी या अहिले नै तातिएका होइनन्। यो ३५ डिग्री भनेको ३० वर्षयतादेखि निरन्तर बढ्दै आएको तापक्रम हो औसत मापन हो। गर्मीको समयमा त भूगोलअनुसार फरक-फरक हुन्छ। जस्तो कि यसैपालि भारतका कतिपय सहरहरूमा तापक्रमले ५० डिग्री सेल्सियससम्म नाघेको थियो।
एसिया क्षेत्रका यी ताता सहरहरूको विश्लेषणात्मक एउटा प्रतिवेदन शुक्रबार ‘इन्टरनेशनल इन्स्टिच्यूट फर इन्भारोमेन्ट एन्ड विकास(आईआईइडी)ले सार्वजनिक गरेको छ। यो प्रतिवेदनमा ३० वर्षयता र त्यसअघि समेत रेकर्ड गरिएका तापमानको विश्लेषण गरिएको छ।
‘जलवायु परिवर्तनमात्रै हाम्रो भविष्यको लागि खतरा वा चेतावनी होइन, यसका खतराहरू त देखिइसकेका छन्। त्यसले अहिले नै हामीलाई संकेत गरिसकेको छ’, आईआईइडीका वरिष्ठ अनुसन्धाता ट्यूकर ल्यान्स्म्यानले भनेका छन्, ‘हामीले यही पुस्ताका लागि जलवायु परिवर्तनले निम्त्याउने यी खतराहरू प्राप्त गरिसकेका छौं र भोगिरहेका छौं। यो अर्को पुस्ताका लागिमात्रै होइन अहिले नै हाम्रा सहरहरू यतिधेरै तातिइसकेका छन् कि त्यसलाई सहन गर्न हामीलाई निकै कठिन भइरहेको छ।’
पृथ्वीमा अहिले सबैभन्दा धेरै तातिएका यी तिनै सहरहरू हुन् जहाँ पूरै विश्वको आधाभन्दा धेरै मान्छे बस्छन्। खासगरी दक्षिण एसियाका धेरै देशहरू धेरै पहिलादेखि नै जलवायु परिवर्तनको जोखिममा थिए र विस्तारै यी देशहरूले त्यसको परिणाम सामना गर्दैछन्। भारत र चीन यो महाद्वीपकै धेरै जनसंख्या भएका देशहरू हुन् जो जलवायु परिवर्तनको उच्च जोखिममा छन्। प्राकृति विपत्तीहरूले पनि घेरिएका यी देशहरूका कारण वरिपरिका छिमेकी तथा विकाशोन्मुख देशहरूलाई पनि खतरा उत्पन्न भएको छ।
बिगत तीस वर्षयताका लगभग ४ हजार २ सय २२ दिनहरू भारतका सबैभन्दा ताता दिनहरू भए। यी दिनहरूमा भारतका धेरै मानिसले औसत ३५ डिग्री सेल्सियसभन्दा माथिको तापमानको सामना गर्दै आएका छन्। यो हरेक मौसमको औसत तापक्रम हो। यो तापमानको विश्लेषण औसत तापमान ३५ डिग्रीमा रहेर गरिएको हो र यो लगभग सन् १९९४देखि २००३ सम्मको औसत तापक्रम विश्लेषण हो। यी वर्षबीचका लगभग आधा दिनहरूमा मात्रै भारतमा ३५ डिग्रीसम्मको तापक्रम रह्यो। सन् २००४ देखि २०१३ सम्मका लगभग ३७ प्रतिशत दिनहरूमा त्यो औसत तापक्रम निकै बढेको देखिएको छ।
‘हामी बिगत ४० वर्षदेखि यहाँ बस्दै आएका छौं तर अहिलेजस्तो गर्मी अघिल्ला वर्षहरूमा भएको कहिल्यै थाहा पाएनौं’, दक्षिणपूर्वी दिल्लीमा बस्दै आएका कल्याणी साह आफ्नो गर्मी अनुभव यसरी सुनाउँछिन्, ‘यहाँ पानीको पनि उस्तै संकट भएको छ। बिजुलीको लाइनहरू काटिन्छन्। अर्थात्, लोडसेडिङ बढेको छ। हामीलाई एक दिनमा एकपटकमात्रै पानी दिइन्छ। बाल्टीमा भरिएको पानी एकैछिनमा छुनै नसकिनेगरी तातिइसक्छ।’
दिल्लीको प्रचण्ड गर्मीले पुत्ताइरहेको सडकमा पसिना पुछ्दै रिक्सा कुदाइरहेका हुन्छ ३९वर्षका सागर मण्डल।
‘अब मेरो शरीरले सायद योभन्दा धेरै गर्मी सहन सक्दैन होला तर पनि मैले रिक्सा चलाउनैपर्छ’, उनी भन्छन्, ‘हामी त यो मजदुरीमा बानी नै परिसकेका छौं। हामीलाई यो गर्मीसँग के गुनासो हुनु र! तर यसपालिको गर्मी अघिल्ला वर्षको जस्तो सामान्य छैन। मलाई लाग्दैछ त पक्कै बदलिएको छ।’
इन्डोनेसियाको जाकार्ता सहरमा पनि ताता दिनहरू बढिरहेका छन्। एउटा तथ्याङ्कको विश्लेषणअनुसार १९९४ देखि २००३सम्म हरेक वर्ष यो सहरको तापक्रम औसत ३५ डिग्री सेल्सियसको वरिपरि छ। तर, २०१४ देखि २०२३सम्म आइपुग्दा ती दिनहरू बढेका छन् अर्थात् त्यही तापमानको औसतमा एक वर्षमा १६७ दिनहरू निकै तातो भएका छन्। यो क्रम बढ्दो नै छ।
दक्षिण कोरियाको सोललगायत मुख्य सहरहरू तथा चीनको बेइजिङसहित अरु सहरहरूले पनि गर्मीका यस्तै नियति सामना गरिरहेका छन्। चीनमा त औसत ३५ डिग्रीको वरिपरि तातिने दिनहरू अहिलेसम्म आइपुग्दा ३०० प्रतिशतभन्दा धेरैले बढेको देखिन्छ।
सन् २०२२मा डार्टमाउथ कलेजले गरेको एउटा अध्ययनले बढ्दै गएको तापमानका कारण मान्छेको जीवन त उसै जोखिममा छ नै त्यसमाथि यसबाट संसारभरि खर्बौं डलरबराबरको क्षतिसमेत भइरहेको छ। खासगरी १९९०को दशकपछिका दिनहरूमा गरिब तथा विकासशील देशहरूले यसको अत्यधिक मार खेपिरहेका छन्।
‘विश्वका हरेक सरकार तथा नीति निर्माताहरूले अब तत्कालै यी बढ्दै गएका ताता दिनहरू त तापक्रमको असरलाई सम्बोधन गर्नैपर्छ। त्यसका लागि लगानी तथा अनुकूलनका नयाँ उपायहरूको खोजी गर्न आवश्यक छ’, आईईइडीका ल्यान्डस्म्यान भन्छन्, ‘धेरै राष्ट्रहरू यसमा लगानी गर्नका लागि पैसाको कमी वा स्रोतसाधनको कमी छैन। बरु त्यसका लागि राजनीतिक इच्छाशक्ति र सरकारका प्रणालीहरूको अभाव छ। तर जलवायु परिवर्तनका प्रभावहरूलाई कम गर्नका लागि यिनीहरू नै सबैभन्दा महत्वपूर्ण छन्।’