विश्वमा अझैं ६३ हजार बढी कोरोना संक्रमितको अवस्था गम्भीर

विश्वमा कोरोना भाइरस संक्रमणको संख्या १ करोड ४९ लाख ३८ हजार ६ सय ९७ जना पुग्दा अझैं ६३ हजार ७ सय २१ जनाको अवस्था गम्भीर देखिएको छ। 

वर्ल्डोमिटरर्सको तथ्यांक अनुसार हालसम्म ६ लाख १५ हजार ३ सय ५० जनाको निधन भइसकेको छ। यसमा ८९ लाख ३७ हजार ९ जनाले स्वास्थ्य लाभ गरेका छन्। 

कोरोनाको महामारीमा अहिले पनि अमेरिका सबैभन्दा अगाडि छ। अमेरिकामा संक्रमितको संख्या ४० लाखको वरिपरि पुग्न लागेको छ। हालसम्म ३९ लाख ६१ हजार ८ सय ५ जना संक्रमित देखिएका छन्। जसमा मर्नेको संख्या १ लाख ४३ हजार ८ सय ४७ पुगेको छ। 

अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी २१ लाख २१ हजार ६ सय ४५ संक्रमित देखिएका छन् भने मर्नेको संख्या ८० हजार २ सय ५१ पुगेको छ।

तेस्रोमा भारत छ। भारतमा संक्रमित संख्या ११ लाख ५६ हजार १ सय ८९ र मर्नेको संखया २८ हजार ९९ पुगेको छ। चौथोमा रुस छ। रुसमा ७ लाख ८३ हजार ३ सय २८ संक्रमित र १२ हजार ५ सय ८० को निधन भएको छ। पाँचौं नम्बरमा दक्षिण अफ्रिका उक्लिएको छ। अफ्रिकामा ३ लाख ७३ हजार ६ सय २८ जना संक्रमित भएका छन्। मर्नेको संख्या भने ५ हजार १ सय ७३ छ।

प्रकाशित मिति: : 2020-07-22 07:19:33

प्रतिकृया दिनुहोस्