कोरोना भाइरसको महामारीका कारण विगत सात महिनादेखि विश्व हायलकायल छ। विश्वका विकसित देशहरू पनि यो समस्याबाट बाहिर निस्किन संघर्षरत छन्। शक्तिशाली मानिएको अमेरिका मात्र होइन, युरोपका थुप्रै राष्ट्रले कोरोनाका कारण महंगो मूल्य चुकाउनु परिसकेको छ।
यस्तो अवस्थामा दक्षिण एसियाका विकासशील राष्ट्रले झन् ठूलो मार खेप्नु परेको सर्वविदितै छ। तर, दक्षिण एसियामा एउटा यस्तो देश पनि छ, जो कोरोनाबाट धेरै अर्थमा मुक्त छ। त्यो देश हो, हाम्रो छिमेकी राष्ट्र भुटान। भारतको सीमासँग जोडिएको यो हिमाली राज्यमा अहिलेसम्म एक जना व्यक्तिको पनि कोरोनाका कारण निधन भएको छैन।
बरू भारतमा २८ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ। तर, भुटानमा यसको असर नगन्य देखिन्छ। भुटानमा हालसम्म संक्रमणको ८९ घटना देखिएको छ। जसमा ८२ जना स्वास्थ्य लाभ गरेर घर फर्किसकेका छन्।
भुटानमा ६ मार्चमा भारतको बाटो हुँदै थिम्पु छिरेका एक अमेरिकी पर्यटकमार्फत कोरोना भाइरस प्रवेश गरेको थियो। ७६ वर्षीय यी पर्यटकको कोरोना पोजेटिभ देखिनुअघि उनले ५० भन्दा बढी मानिससँग सम्पर्क गरिसकेका थिए। उनको ५९ वर्षीय श्रीमतीमा पनि पछि कोरोना देखिएको थियो।
भुटान सरकारले बाल्टिमोर निवासी अमेरिकी पर्यटकमा कोरोना पोजेटिभ देखिएपछि उनको साथी तथा ड्राइभर र गाइडलाई पनि क्वारेन्टाइनमा राखेको थियो। ड्राइभर र गाइडको रिपोर्ट भने नेगेटिभ आएको थियो।
यो घटना लगत्तै सरकारले भुटान प्रवेश गर्ने सबै नाका बन्द गर्न आदेश दिएको थियो। २२ मार्चमा भुटानी राजा जिग्मे केशर नामग्याल वाङचुकले राष्ट्रको नाममा सम्बोधन गरेका थिए। थिम्पुलगायत अन्य तीन ठाउँको स्कुल बन्द गर्ने घोषणा भएको थियो।
भुटानमा कोरोनाको तेस्रो संक्रमण बेलायतमा अध्ययनरत एक विधार्थीले लिएर आएका थिए।