अन्तरिक्ष पर्यटनः

अर्बपतिबीच अन्तरिक्ष यात्राको होड्बाजी

photo: NASA
photo: NASA

पछिल्लो दशक विश्वका अर्बपतिहरुबीच 'अन्तरिक्ष पर्यटन' को होड्बाजीमा छन्। अर्बपति व्यवसायी जेफ बेजोस र रिचर्ड ब्रान्सन गत महिना अन्तरिक्षका यात्रा पूरा गरेका छन्।

एलेन मस्कले सेप्टेम्बरमा उडाउने तयारी गर्दै छन् तर विश्लेषकहरुका अनुसार यी अर्बपतिहरुको अन्तरिक्ष यात्रा (स्पेस टुरिज्म) को लहडले ब्रह्माण्डमा अनेकौँ बेफाइदाहरूसहित भारी असर पुर्‍याउने दाबी गरेका छन्। 

महाशक्ति राष्ट्रहरु– अमेरिका र सोभियत रूसले पहिलो पटक अन्तरिक्षमा मानव पठाउनुअघि वैज्ञानिकहरु माझ धेरै प्रश्नहरु उठेका थिए। के मानिस उडान र अवतरणको समय गुरुत्व आकर्षण शक्तिबाट बाँच्न सक्छन् ? के हाम्रो वायुमण्डलको हानीकारक विकीरणले अन्तरिक्षबाट फर्किंदा बिरामी हुनेछ ?  के गुरूत्वहीनताको कारण खाना निल्न सक्छन् ? आदि , इत्यादि ...।

वास्तवमा, जीवहरूलाई अन्तरिक्षमा नपठाई यी कुराको कुनै ज्ञान र जानकारी थिएन। त्यस कारण वैज्ञानिकहरुले प्रारम्भिक चरणमा गहन अध्ययन गरेर अन्तरिक्ष उडानमा झिँगाको प्रजाति, बाँदर, बिरालो, कछुवा र कुकुरजस्ता जीव-जन्तु पठाएर परीक्षण गरेको थियो।  

यस्तो छ इतिहास

सन् १९५० मा बाँदरलाई र १९५० मा मुसालाई परीक्षणको रुपमा अन्तरिक्षमा पठाइएको थियो। वैज्ञानिकहरुले यी जनवारको परीक्षणबाट अन्तरिक्षको जटिलता, सास फेर्ने, खाना खानेजस्ता कार्यहरुको प्रशस्त प्रमाणहरु बटुलेर अध्ययन गरेका थिए।

'लाइका' नामक कुकुर पृथ्वीको परिक्रमा गर्ने पहिलो जनावर थियो। अन्तरिक्षमा तौलहीनताको पहिलो असली परीक्षण गरे। जुन ३ नोभेम्बर १९५७ मा रुसी अन्तरिक्ष यानमार्फत् लाइकालाई पृथ्वीबाट प्रक्षेपण गरिएको थियो।

त्यसको चार वर्षपछि १२ अप्रिल १९६१ मा सोभियत अन्तरिक्ष यात्री (एस्ट्रोनौट) युरी गेगारिन अन्तरिक्षमा परिक्रमा गर्ने पहिलो मानव थिए। यसको आठ वर्षपछि अमेरिकाको नासाले एपोलो–११ यान मार्फत् अन्तरिक्ष यात्री नील आर्मस्ट्रङ, बज एल्ड्रिन र माइकल कोलिन्सलाई पठायो। २० जुलाई १९६९ मा निल आर्मस्ट्रङ चन्द्रमामा पाइला टेक्ने मानव इतिहासमै पहिलो व्यक्ति बने।

त्यस बेला लाखौँ मानिसले टेलिभिजनमा निकै उत्सुकतासहित हेरेका थिए। उनी सिँढीबाट तल ओर्लेर भनेको वाक्य चर्चित छ, 'मानिसको लागि एउटा सानो कदम, मानव जातिको लागि एक विशाल छलाङ हो।'

यात्रा एक मानवीय गतिविधि हो। मानव सभ्यताको विकास क्रमसँगै घुमफिर अथवा यात्रा हाम्रो जीवनमा अभिन्न संस्कारको रुपमा स्थापित भइसकेको छ। मानव इतिहास केलाउँदा ढुङ्गे युगदेखि नै मान्छे एक ठाउँबाट अर्को ठाउँ घुम्ने गर्थे तर उतिबेला फिरन्ते युग थियो जहाँ बाँच्नको लागि खानाको खोजीमा हाम्रा आदिम पुर्खा उपयुक्त ठाउँको खोजिमा डुलिरहन्थे। उनीहरुको लागि हिँड्डुल जीवनसंघर्ष जिउने बाध्यता थियो। 

कालान्तरमा मानव जाति निश्चित स्थानमा खेतिपाति र पशुपालन गर्दै स्थायी बसोबास गर्न थाले। ढुङ्गेयुग पार गर्दै कृषि युग हुँदै औद्योगिक क्रान्तिसम्मको यात्रामा मान्छेको जीवनशैलीमा व्यापक परिवर्तन आउन थाल्यो। 

बिस्तारै मान्छे तीर्थाटन, औषधोपचार र व्यापारका लागि लामो–लामो यात्रा तय गर्न थाले। आधुनिक युगमा प्रवेश गरेसँगै यात्राको परिभाषा पनि बद्लिँदै गयो। 

आधुनिक पर्यटनको विकास

मानिसको विकास क्रमसँगै एकहोरो र लामो समयको कामदेखि थकान मेट्न या 'ब्रेक' लिन आफ्नो ठाउँदेखि अलि पर छुट्टी बिताउनका लागि यात्रा गर्न थाले। छुट्टी बिताउने क्रियाकलाप मात्रै नभएर संस्कृति, प्रतिष्ठा र सानसौगतको विषय पनि बन्दै गयो।

विज्ञान र प्रविधिमा तीव्र गतिको फड्को मार्दा आरामदायी यातायात र बासको सुविधाको विकास भए। सुविधायुक्त रेल, क्रुज, हवाइजहाजमार्फत् मानिस हजारौँ किलोमीटर यात्रामा निस्कन थाले। 

यात्रासँगसँगै मानिसको चाहना र सौख पनि फेरिँदै गए। यात्रामा विभिन्न गतिविधि थपिए जस्तै : लामो दूरीको सांस्कृतिक, मनोरञ्जन, साहसिक यात्रा आदि इत्यादि। 

newscientist_com

१३ औं शताब्दीमा मार्को पोलोको यात्रा कथा , १८ औँ शताब्दीमा ब्रिटिश कुलीन वर्गको 'ग्राण्ड टूर',  र १९ औं शताब्दीमा अफ्रिका हुँदै डेभिड लिभिङ्स्टोनको यात्रा प्रारम्भिक पर्यटनका उदाहरण हुन्। 

थोमस कुकले सन् १८४१ मा चार्टर्ड ट्रेनको माध्यमद्वारा बेलायतको लोफरबोरबाट लेसेस्टरसम्म पर्यटकहरू घुमाउन सुरु गरे। उनलाई व्यावसायिक पर्यटनका संस्थापकका रूपमा चिनिन्छ।

आफू बसेको ठाउँबाट अर्को ठाउँमा (फर्कने सोचसहित) मनोरञ्जन र आनन्दको उद्देश्यको लागि न्यूनतम २४ घण्टादेखि अधिक छ महिनासम्म आवागमनको रूपमा पर्यटनलाई परिभाषित गर्न सकिन्छ।

विश्व पर्यटन संगठनका अनुसार पर्यटन भनेको मनोरञ्जन, व्यवसाय र अन्य उद्देश्यका लागि लगातार एक वर्षभन्दा कम समयसम्म आफ्नो सामान्य वातावरणबाहिरका ठाउँहरूमा यात्रा गर्ने र बस्ने व्यक्तिको गतिविधिलाई समेट्छ।

आधुनिक युगमा पर्यटन संसारकै प्रमुख उद्योगहरूमध्ये एक बनेको छ। साथै यो सबभन्दा द्रूत वृद्धि भइरहेको व्यवसायमध्ये पर्छ। आजको दुनियाँमा करोडौँ मानिस यात्रा गर्छन्। व्यापारमा संलग्न छन्  । अर्बौं डलरको आर्थिक गतिविधि पर्यटनबाट सिर्जना हुन्छ।

मानवको प्रकृति र आवश्यकता यति जटिल र विविध छ कि यात्रा शैलि र रुचि व्यक्तिपिच्छे फरक छ। आजकल पर्यटन केवल आरामदायी यात्रा, विलासी जीवन बिताउन, मनोरञ्जनमा मात्रै सीमित छैन। यसले विशेष ठाउँको स्थानीय संस्कृतिमा समेत गहिरो चासो राख्दछ।

यात्रीहरु विभिन्न गन्तव्यमा यात्रा गर्नुको उद्देश्य फरक–फरक हुन्छन्। साथै अनेक किसिमका साहसिक र मनोरञ्जनात्मक गतिविधिहरूमा भाग लिनुको अलवा रूचिअनुसार अजीव–अजीवका हर्कत गर्दै 'होलिडे' बिताउने मन पराउँछन्। तिनीहरू पृथ्वीको कुना–कुनामा बसोवास गर्ने मानव जातिको अनौठो र विभिन्न जीवनशैली, नृत्य, खाना र सांस्कृतिक परम्परामा आनन्द लिन्छन्। 

मानिसको सौख र चहाना यतिमै सीमित भएन। पछिल्लो समय धनाढ्यहरुको चाहना अन्तरिक्षमा यात्रा गरेर ब्रम्हामण्डको अवलोकन र आनन्द लिने सोख अर्बपतिहरुमा पलाएको छ। यही सोखले 'स्पेस टुरिज्म' अर्थात् अन्तरिक्ष यात्राको उदय भयो। 

स्पेस टुरिज्म अर्थात् अन्तरिक्ष यात्रा

विश्वका धनी र शक्तिशाली राष्ट्रहरुले व्रह्माण्डको थप खोज र अध्ययन क्रममा थुप्रै अन्तरिक्ष यानहरु पठाउने होड्बाजी चल्यो। २८ अप्रिल  २००१ मा अमेरिकी व्यापारी डेनिस टिटो निजी खर्च तिरेर अन्तरिक्ष यात्रा गर्ने पहिलो व्यक्ति बने।

अन्तरिक्षमा आठ दिन बिताएका उनले त्यस यात्राको लागि २० मिलियन डलर तिरेका थिए। उनी दुई रूसी अन्तरिक्ष यात्रीसित गएका थिए। टिटो अन्तरिक्षमा पुग्ने ४१५ औ व्यक्ति बनेका थिए। यो यात्रा पछि टिटो पहिलो अन्तरिक्ष पर्यटक बनेका छन। 

त्यसपछि पर्यटकलाई अन्तरिक्षमा यात्रा गराउने व्यावसायिक प्रतिस्पर्धामा भर्जिन समूहका संस्थापक सर रिचर्ड ब्रान्सन र अमेजनका मालिक जेफ बेजोसबीच र तेस्लाका संस्थापक एलेन मस्कबीच तीव्र होड्बाजी बढ्दै गए। 

११ जुलाईमा ब्रान्सनले आफ्नो भर्जिन ग्यालेक्टिकमा पृथ्वीको सतहदेखि ८६ किलोमिटर अन्तरिक्षको छेउमा पुगेर फर्किन सफल भए। त्यसको नौ दिनपछि 'अपोलो ११' को चन्द्रमामा अवतरणको वार्षिकोत्सवको अवसरमा जेफ बेजोसको स्वायत्त 'ब्लू ओरिजिन रकेट' जुलाई २० मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो।

अन्तरिक्ष पर्यटन उद्योग कसरी विकास गर्ने भनेर बुझ्न यो पनि उत्तिकै महत्त्वपूर्ण छ। 'भर्जिन ग्यालेक्टिक'को अनुमान छ कि यसले प्रत्येक वर्ष ४०० अन्तरिक्ष उडानहरू सम्बन्धी सुविधाहरूका लागि प्रदान गर्दछ जसले यसलाई वहन गर्न सक्दछ। 'ब्लु अरिजन' र 'स्पेस एक्स'ले अझै आफ्नो योजनाहरुको घोषणा गर्न बाँकी छ। 

अर्बपतिद्वय जेफ बेजोस र रिचर्ड ब्रान्सनले यस महिनामा गरेको अन्तरिक्षको यात्राले अन्तरिक्ष पर्यटनतिर संसारभरिका मानिसहको ध्यान आकर्षित भएका थिए  तर औसत व्यक्तिनिकट भविष्यमा अन्तरिक्षको भ्रमण सम्भावना भने कमै छ।

'अन्तरिक्ष पर्यटन' शौखिन अरबपति र करोडपतिहरुको लागि मात्रै कयौँ वर्षसम्म आरक्षण हुनेछ। ब्रान्सनको भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष पर्यटनको टिकट मूल्यहरुप्रति व्यक्ति लगभग दुई लाख ५० हजार डलरमा बेचेका छन्। हालसम्म करिब ६०० व्यक्तिले टिकट 'बूक' गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

बेजोसको उडानमा पहिलो उपलब्ध टिकट २८ मिलियन डलर लिलामीमा बेचेको थियो। १० मिनेटको यात्रामा अरबपतिलाई लगभग ५.५ बिलियन डलर खर्च भएको थियो। कम्पनीले भावी यात्रुहरुलाई (चार जना) जहाजमा चढ्न १०० मिलियन डलरको टिकट बेचेको बताए।

'स्पेसएक्स' का सीईओ एलोन मस्कले मङ्गलग्रहको भ्रमण प्रतिव्यक्ति करिब पाँच लाख अमेरिकी डलर अन्तरिक्षमा जाँदा खर्च हुने विश्वास गर्छन्। तर, सत्य हो कि वर्तमान प्रविधिमा औसत व्यक्तिको लागि बेजोस, ब्रान्सन वा मस्कको रकेटमा एउटा सीट किन्न धेरै महँगो पर्नेछ। 

यद्यपि बेजोस र मस्कले रोकेटको पुन: प्रयोग विकासको माध्यमबाट अन्तरिक्ष यात्रालाई बढी सस्तो बनाउनको लागि प्रगतिशील रूपमा काम गरिरहेको बताएका छन। 

अन्तरिक्ष कानून विशेषज्ञहरु विजिनेस इनसाइडरलाई अन्तरिक्ष पर्यटन अधिकाङस मानिसलाई पहुँचको लागि व्यावहारिक हुन धेरै बाधाहरुको सामना गर्न पर्नेछन्। जसमा हवाईजहाजको सुरक्षा गर्ने नीतिहरूको अनुरूप मानक नियमहरू बनाउने, साथै उडानहरूबाट हवाई यात्रा र प्रदूषणको राम्रो व्यवस्थापन गर्न रणनीतिहरू विकास गर्ने समावेश छ।

वातावरणमा नकारात्मक प्रभाव

वैज्ञानिक अध्यन अनुसार सीओटु (कार्वन डाइअक्साइड) र कार्वन उत्सर्जनले वायुमण्डलमा तापको स्थिरता निम्त्याउँछ, जसले विश्व तापाक्रम(ग्लोबल वार्मिंग)मा योगदान पुर्‍याउँछ। 

पानीको बाफबाट निर्मित बादलले सूर्यको प्रकाशलाई अन्तरिक्षमा प्रतिविम्वित गरेर वातावरण चिसो हुनसक्छ। यसले ओजोन तहलाई बिगार्छ जसले सूर्यको प्रकाश छेक्न नसकेर वायुमण्डल गर्मी बनाइदिन्छ।

विश्लेषकहरुका अनुसार, वायुमण्डलमा रोकेट प्रक्षेपणको समग्र प्रभावको विस्तृत अध्ययनको आवश्यकता पर्दछ।  यी जटिल प्रक्रियाहरूको प्रभाव र माथिल्लो वातावरणमा प्रदूषणको उपस्थिति पत्ता लगाउन र यी ग्यास र कणको वातावरणमा प्रभावबारे विस्तृत अध्ययनको जरुरी छ। अध्ययन अनुसार, रकेट प्रक्षेपणको क्रममा  लामो यात्राको उडान भन्दा ५० देखि १०० गुणा बढी कार्बन डाइअक्साइडको उत्सर्जन गराउँदछ।

अन्तर्राष्ट्रिय नियामकहरूले यस उद्योगलाई निरन्तरता दिन र यसको प्रदूषणलाई समयमै ठीकसँग नियन्त्रण गर्नु आवश्यक छ। वैज्ञानिकहरूले यी अर्बपति अन्तरिक्ष यात्रीहरूको होड्बाजीले हाम्रो ग्रहको वातावरणमा पार्ने खतरनाक प्रभावलाई गहन अध्ययन गरी अझ राम्ररी बुझाउन जरुरी छ।
अन्तरिक्ष पर्यटनको भविष्य ?

केही दशकदेखि विश्वको ताकतवार र धनी राष्ट्रहरु पृथ्वीबाहिर अन्तरिक्षमा पुगेर इतिहास रच्ने होड्बाजी चलिरहेको छ। अर्बपति कम्पनीका मालिकहरूबीच शुल्क लिएर पर्यटक लाने प्रतिस्पर्धा सुरु भइरहेको छ। यसअघि जुलाई ११ मा अर्बपति रिचर्ड ब्रान्सन अन्तरिक्ष उडान गरेका थिए। 
अन्तरिक्षमा पुगेर रिचार्ड ब्रन्सनले हर्षित हुँदै भने, 'म अहिले यो स्पेशसिपबाट तल अति सुन्दर पृथ्वी देखिरहेको छु। हामीले गर्न सक्यौँ भने हाम्रा पिढीले किन नसक्ने ?'

अवतरणपछि बीबीसीलाई रिचर्ड ब्रान्सनले अन्तरिक्षबाट पृथ्वीका दृश्य विष्मयकारी देखिएको अनुभव सुनाएको थियो। त्यसको ठीक नौ दिनपछि अमेजनका संस्थापक जेफ बेजोस उनका ब्लु अरिजन कम्पनीले तीन जनाको टोलीसहित जुलाई २० मा पृथ्वीको सतहदेखि १०० किमी उचाइमा पुगेर फर्कियो। 'द न्यु सेफर्ड स्पेससिप' मार्फत् अन्तरिक्ष यात्रा गरेका टोली अन्तरिक्षमा पुग्दा शून्य गुरुत्वाकर्षण कारण भारहीनताको अनुभव केवल तीन मिनेटको अनुभव बटुले। 

अर्का अर्बपति एलन मस्कले व्यावसायिक स्पेससिपको दौड्मा सबैभन्दा अगाडि छन। उनको अभियानमा नासासंग अनुबन्धसमेत गरेका छन्। उनी अघिल्लो दुई जनाभन्दा माथि पुग्ने योजना बनाएका छन्। 

आगामी सेप्टेम्बर २०२१ सम्म उनले अन्तरिक्ष यात्रा गराउने डेडलाईन बनाएका छन्। केही दिन पर्यटकलाई पृथ्वीको अर्बिटमा घुमाउने पनि उनको योजना रहेको छ।

सन् २०१९ मा स्वीस ब्याङ्क युविएसको एक रिपोर्ट अनुसार, अगाडि १० वर्षमा अन्तरिक्ष पर्यटन तीन अर्ब डलरको उद्धोग बन्न सक्ने आँकडा गरेको छ। त्यस्तै मोर्गेन स्टेनैलीले सन् २०४० सम्म यो उद्योग एक खर्ब डलरको हुनसक्ने अनुमान गरेको छन्। आलोचक बताउँछन्– रिचार्ड ब्रान्सन, जेफ बेजोस र एलेन मस्कको कुल ४०० अर्ब डलरका सामूहिक सम्पत्ति भएका यिनीहरुको ध्यान केबल आ-आफ्ना फाइदामा केन्द्रित रहेको छ। 

केहीले प्रश्न गरेका छन् कि 'स्पेस मिसन'मा लगानी गरेका यति ठूलो धनराशी अन्य जरुरी कार्यजस्तै जलवायु परिवर्तन र कोभिड–१९ महामारीविरुद्ध लड्नुका साथै गरिबी र असमानता निवारणको लागि गरेको भए हुने थियो तर यी अर्बपति र समर्थक भन्छन् अन्तरिक्ष उडानले केही महत्वपूर्ण चिज हासिल गर्दैन। मात्रै दुनियाँलाई नयाँ सफलता तिर लैजानेछ, जसले पूरा मानव जातिलाई फाइदा हुनेछ। 

स्पेस टुरिजमको यात्रा कहासम्म पुर्‍याउछ त?  बीबीसीका विज्ञान सम्पादक पिटर रिंकनका अनुसार, महङ्गो यात्राको कारण पृथ्वीका एकदमै थोरै धनाढ्यले मात्रै यात्रा गर्न सक्नेछ। उनीहरु अन्तरिक्ष यात्राको रोमाञ्चले प्रेरित भएका छन र झन भविश्यमा अझै टाढाको यात्रा हुनेछ। 

जापानको एक व्यापारीले चन्द्रमा यात्रा गर्न लाखौँ डलर एलन मास्कलाई दिएको छ। ब्रान्सनले भने उपग्रहदेखि जलवायु परिवर्तन र वनविनाशमा नजर लगाउन सकिन्छ। 

स्पेस टेक्नोजिको मद्दतले पृथ्वी बचाउन चाहेको उनको तर्क छ। एलेन मस्क भन्छन्– धर्तीमा उल्का पिण्डजस्ता प्राकृतिक प्रकोप पृथ्वीसँग जति बेला पनि ठोकिन सक्छ। त्यस्ता जोखिमबाट बच्न मङ्गल ग्रहतिर गएर जीवन बचाउन सकिने उनको भनाइ छ। रिचर्डका अनुसार अहिलेको अन्तरिक्ष यात्राको शुल्क दुई लाख ५० हजार डलरको  हारहारीमा छ। भविष्यमा यो घट्न सक्छ। त्यस्तै, एक अमेरिकी कम्पनी पृथ्वीको 'अर्बिट'मा निजी स्टेशन निर्माण गर्न खोज्दै छ। 

भविष्यमा मानिस  चन्द्रमा बस्न सक्ने छन्। एलेन मस्कको दर्जनौँ मान्छेलाई मङगल ग्रह लैजाने योजना छ। केही दशकमा धेरै मानिसहरु अन्तरिक्षको यात्राको अनुभव लिन सक्ने छन्। भविश्यमा यो सम्भव पनि हुनसक्छ।

आलोचकहरूका अनुसार, अन्तरिक्षमा खर्च भएको ठूलो धनराशीले पृथ्वीमा  जोखिम निम्त्याउँदै छ- जहाँ विश्व कोभिड–१९ महामारीका कारण व्यापक मानिसको ज्यान गुमिरहेको छ भने अर्कोतर्फ विश्व तापक्रम वृद्धिका कारण जलवायु पर्रिवर्तन तीव्र गतिले बढिरहेकोले मानव जातिलाई चिन्तित तुल्याएको छ। 

अन्तरिक्ष यात्रामा लगभग ६ अर्ब डलरको ठूलो धनराशि खर्च हुने अनुमान गरिएको छ। संयुक्त राष्ट्र संघका विश्व खाद्य कार्यक्रम कार्यकारी निर्देशक डेभिड ब्यासलेले भने यो रकमले विश्वभर भोकमरिले ज्यान गुमाउने वार्षिक करिब ४.१ करोड मानिसहरूको ज्यान बचाउन सकिन्छ। विज्ञान विश्लेषकहरुले धनाढ्यहरुको अन्तरिक्ष यात्राले वायुमण्डमा ठूलो वातावरणीय प्रभाव पनि औँल्याएको छ। समयमै यसको वातावरणीय प्रदूषण प्रभावको जोखिम कम गर्ने उपाय अपनाउनु पर्ने देखिन्छ, नत्र  विश्वका ०.१% मात्रै अति धनाढ्य व्यक्तिको अन्तरिक्ष यात्राको शौखले निम्त्याएको दीर्घकालीन पर्यावरणीय प्रभाव अन्य ९९.९% पृथ्वीबासीले भोग्नुपर्ने छ।

-विभिन्न एजेन्सीहरूको सहयोगमा 

प्रकाशित मिति: : 2021-08-14 13:34:00

प्रतिकृया दिनुहोस्

    पर्यटनका नयां नयां गन्तब्य, तर नेपाल मा भएको गन्तब्य समेत ब्यबस्थापन गर्न सकिएको छैन।

    • एक बर्ष अगाडि
    • Chitra Bahadur Gurung