पौरखी नारी

घर सम्हाल्दै, व्यवसायमा छलाङ

घर सम्हाल्नु। व्यवसायमा पनि छलाङ मार्नु ! दुवै एकसाथ गर्नु चानचुने होइन। महिलाहरु घरभित्रै सिमित हुनुपर्छ भन्ने परम्परा भत्काउनु झन ठूलो दुस्साहस हो।

सीमा नाघेर जो अघि बढ्छन्। अन्तिममा उसेले बाजि मार्छन्।

हो, व्यवसायी रेणु थापा समाजको विद्यमान परम्परा भत्काउदै व्यवसायमा लागिन्। झण्डै दुई दशकदेखि पर्यटन व्यवसायमा आबद्ध रेणु पोखराको सफल पर्यटन व्यवसायीको रुपमा गनिन्छिन्।

पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडमा थापाका तीन वटा व्यवसाय सञ्चालनमा छन्। ‘व्यवसायमा आबद्ध भएको त १५, १६ वर्ष भइसक्यो। सुरुमा जागिरबाट सुरु गरेका थियौं। अहिले आफैंले व्यवसाय चलाउन थालेका छौं,’ रेणुले सुनाइन्,‘आफ्नो व्यवसाय सुरु गरेको १२, १३ वर्ष भइसक्यो। व्यवसाय हामीले ट्राभल ट्रेकिङ र मनि चेञ्जर गरेर तीन वटा व्यवसाय चलाई रहेका छौं। टुरिजमलाई नै फोकस गरेर।’

कम्युनिटी नेपाल टुर्स एण्ड ट्राभल, ट्रेक एण्ड क्लाइम्ब एड्भेञ्चर, अलफाइन मनि चेञ्जर थापा दम्पतिले व्यवसाय चलाएका छन्। 

श्रीमान, श्रीमती बराबरी

भनिन्छ, श्रीमान, श्रीमती एक रथका दुई पाँग्रा हुन्। दुवै मिले संसार हाँक्न सकिन्छ। थापा दम्पति दुवै व्यवसायमा उत्तिकै लागि परेका छन्। श्रीमान श्रीमती दुवै जना उत्तिकै खटिन्छन्। ‘दुई जनाले डिभाइड गरेर हेरेका छौं। म्यानेजमेण्ट मैले हेरें भने मार्केट उहाँले हेर्नुहुन्छ,’ उनले भनिन्।

झण्डै दुई वर्षअघि देखा परेको कोभिड– १९ संक्रमण महामारी फैलिएपछि अहिले पर्यटन व्यवसाय ठप्प छ। घुमफिर गर्नेहरु बाहिर निस्किन पाएका छैनन्। ‘अहिले टोटल्लि बन्द। बीचमा कोभिडको लहर आउँदा केही समयका लागि होला भन्ने सोच्यौं। आफ्नो कर्मचारीलाई घरमा पठायौं। खुलेपछि पुन: बोलायौं। फेरि कोरोनाले बन्द भइसकेपछि लङटर्म जाने देखियो,’ उनले भनिन्, ‘स्टाफहरु त प्राय: घरमै हुनुहुन्छ। धेरै जसो। केही पार्सियल्लि स्टाफ हुनुहुन्छ। उहाँहरुलाई व्यवस्थित गरेर राखेको छौं।’

कोभिड महामारी अझैं रोकिने छाटकाँछ छैन। महामारी लम्बिदै जाँदा कामदारलाई बिदामा पठाउनु परेको उनले सुनाइन्। दुवै जना श्रीमान, श्रीमती उत्तिकै खटिने हुँदा कामदार धेरै नचाहिने उनले बताइन्।

‘ट्रेकिङमा हाम्रो फिक्स कामदार हुन्न। विभिन्न कम्पनी वाइज रन गर्नु भएको हुन्छ। आफ्नो कन्ट्याक्टमा भएको स्टाफ हुन्छ भनेट्राभलको एक जना हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘उहाँ अहिले घरमै हुनुहुन्छ। आफैले पनि काम गर्ने भएकाले स्टाफ पनि धेरै नचाहिने।’

महिलाका धेरै जिम्मेवारी हुन्छन्। पहिलो जिम्मेवारी घरपरिवार भइहाल्यो। घर सम्हाल्नै पर्‍यो। धेरै जसो महिला घर गृहस्थीमै अल्झि रहेका हुन्छन्। यद्यपि, समय व्यवस्थापन गर्न सके घर गृहस्थी सकेर पनि आफूलाई विकास गर्न सकिने उनले सुनाइन्।

‘टाइम म्यानेजमेन्ट जति व्यवस्त भयो त्यति सशक्त भएर जाँदो रहेछ। जति फुर्सदीलो भयो त्यति अव्यवस्थित भइन्छ,’ उनले भनिन्, ‘पहिला हामी एकदमै व्यस्त थियौं। व्यवसाय घर। आफ्नो इष्ट मित्र बच्चाहरुलाई टाइम दिन पथ्र्यो। दिईराखेका पनि थियौं। यतिबेला व्यवसाय बन्द छ। त्यही टाइम पनि हामीलाई नपुगेको जस्तो भइरहेको छ। म्यानेजमेन्टको पाटोमा आफूले चुस्त रुपमा म्यानेज गर्न सके सबै सम्भव। परिवार व्यवस्थापनको लागि २, ४ घण्टा अघि समय निकालेर सबै कुरा सम्भव छ। त्यस्तो गाह्रो खासै अप्ठ्यारो भन्ने पनि छैन।’

परिवारको साथ सहयोगले पोखरेली पर्यटन व्यवसायमा स्थापित थापा परिवारको साथ पाए सबै कुरा सम्भव हुने बताउँछिन्। ‘विजनेशमा होमिन परिवारकै साथ र सहयोग भएकै कारणले पनि होला। बच्चाहरु पनि त्यही माहोलमा गयो। बुझ्ने त्यही भएकाले खासे समस्या भोग्नु परेको छैन,’ उनले भनिन्, ‘अहिले घरपरिवार बच्चाहरुलाई नै फुल्लि टाइम दिइरहेका छौं। घरबाट निस्किन यताउति गर्न पनि रिस्क नै छ।’

महिलाले आफूलाई कमजोर आँटे सधै पछि परिने रेणु बताउँछिन्। महिला भएकै कारण आफ्नो जिम्मेवारी पुरुषको हातमा छ भन्ने महिलाले सोच्न नहुने उनले बताइन्।

‘हाम्रो नेपालमा के छ भने एउटा महिलालाई बिहे नगरुञ्जेल आमाबाबुको कर्तव्य हुन्छ। बिहे गरेपछि श्रीमानको  कर्तव्य हुन्छ। ऊ जसरी पनि पालिनुपर्छ। भन्ने एउटा नीति नियम छ नि त्यसमा मात्रै सिमित नभई दिनुस् हाम्रा दिदी बैनी,’ उनले भनिन्।

आफूले इच्छाएको काम, आफूले जानेको काम गरेमा सफल होइने उनको भनाई छ। व्यवसायमा लागे पनि जागिर नै गरेता पनि सीप मुलक काम गर्न उनी सुझाउछिन्। अबको समय उद्यमशिल बन्नुपर्ने उनी बताउँछिन्।

‘जसरी गए पनि आफ्नो आय आर्जन र आर्थिक सशक्तिकरणतर्फ जानुभयो भने हाम्रो जीवनको पाटो धेरै सहज हुने गर्छ। यति गर्नुभयो भने आफूले केही गर्न अरुको निर्णयमा भर पर्नुपर्दैन,’ उनले भनिन्,‘आफूले स्वयम निर्णय लिन सकिन्छ। आफू सशक्तिकरण भइसकेपछि आफू बलियो होइन्छ। बलियो मानसिकता हुन्छ।’

अर्काको देखासिकी गरेर भने व्यवसायमा सफल हुन सकिन्न। देखेको भरमा हुँदैन। जब तपाईं गहिरिएर बुझ्नुहुन्छ। बाहिर निस्किन नपर्ने गरेर। तब बुझ्नुहुन्छ व्यवसायको अर्थ। बुझेर गहिरिएर अध्ययन गरेर  मात्रै व्यवसायमा लाग्न उनी सुझाउँछिन्। एकपटक लागि सकेपछि व्यवसायमा धैर्यता गर्न सक्नुपर्ने उनको भनाई छ।

‘आउने बित्तिकै केही फल्ने पनि होइन। यसमा घाटा पनि हुन सक्छ। त्यो घाटालाई तपाईंले आफ्नो सिकाइको रुपमा लिएर धैर्यता गर्नुभयो भने व्यवसायमा एक न एक दिन सफलता मिल्ने छ,’ उनले भनिन्।

महिलाहरुलाई घरभित्रै बाधिएर बस्नुपर्ने बाध्यता रहे पनि आफूलाई भने घरभित्रै बाँधिनुपर्ने बाध्यता नरहेको उनले सुनाइन्। घरबाट त्यस्तो खालको वातावरण भोग्नु परेन। महिलाहरुले आफैं सक्षम हुन चाहे पनि समाजले धेरै कुरा काट्छन्। तर, आफू सक्षम भए लागि सकेपछि समाजले पनि केही भन्न नसक्ने उनको तर्क छ।

व्यवसाय सँगसँगै रेणु विभिन्न संघसंस्थामा पनि आबद्ध छिन्। अझैं पनि महिलाहरु कुनै नेतृत्व गर्ने तहमा नपुगेकोमा उनको चित्त दुखाई छ। ‘महिला भएको कारण त्यहाँ पुग्न नदिने, डिसिजन मेकरका रुपमा जान महिलालाई बार लगाउने। परिपाटी देखिरहेका छौं। त्यो स्टेपमा म पनि जाँदै छु,’ उनले भनिन्, ‘हामी भन्दा अग्रज दिदीहरुलाई यो महिलाले के डिसिजन लिन्छ ? केही ठाउँमा त्यसरी हेरेको पनि केही ठाउँमा देखेका छौं। अहिले सम्म त्यस्तो भोगेका छैनौं। अगाडी जाँदा के हुन्छ ? हेरौं।’

पर्यटन व्यवसायी महिला संघ नेपाल  त्यसको अध्यक्ष हुन्, उनी। पर्यटन क्षेत्रमा आबद्ध महिला र व्यवसायमा आबद्ध हुन चाहने मलिालाई संस्थाले प्रेरित गर्ने साथै तालिमको पनि व्यवस्था गर्ने गरेको छ। महिलाहरुको सशक्तिकरणका लागि हामीले त्यो संस्था दर्ता गरेका उनले सुनाइन्।

टुरिजमसँग सम्बन्धित संघ संस्था बढी नै भएपनि सहभागीता न्यून छ। ‘हामीलाई पनि घरबाट छुट थियो। जानुपर्छ। सिक्नुपर्छ भन्ने वातावरण हामीलाई थियो। हामीले केही कुरा सुन्थ्यौं। बुझ्थ्यौं,’ उनले भनिन्, ‘त्यसरी नै आफूलाई विजनेशमा पनि डेभलप गर्न सक्यौं। कतिपय दिदी बहिनीले त्यो पनि पाउनु भएन।’

पुरुषलाई आवश्यक छ भने महिलालाई पनि त त्यो कुरा आवश्यक हुने उनको भनाई छ।

प्रकाशित मिति: : 2021-11-26 18:07:00

प्रतिकृया दिनुहोस्