सरकारले कोरोना भाइरस परीक्षणको दायरा बढाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब क्याक्सर र डाइबिटिजका विरामी, इमर्जेन्सी र आईसीयूमा भर्ना भएका बिरामी र पकेट एरियामा बस्नेहरुको परीक्षण गरिने छ।
उनले स्वास्थ्यकर्मीहरुको पनि परीक्षण हुने बताए। उनका अनुसार पछिल्ला दिनहरुमा विदेशबाट आई क्वारेटाइनमा बस्नेहरुको सङ्ख्या घट्दै जाँदा प्रयोगशालामा नमुना परीक्षणको चाप पनि घटेको छ।
त्यसैले परीक्षणको दायरा बढाई समुदायमा संक्रमण भएको वा नभएको थाहा पाउन यो निर्णय गरिएको हो। शुक्रबारदेखि नै यो काम सुरु गरेको समेत उनले बताए।
‘जोखिम समूह र जोखिममा रहेको कम्युनिटीमा परीक्षण गर्दा हाम्रो संक्रमणको वास्तविक अवस्था थाहा पाउँछौं’ प्रवक्ता गौतमले भने, ‘ हामी सबै मानिसको परीक्षण त गर्न सक्दैनौं तर जोखिम समूह र समुदायको जाँच गर्दा धेरै हदसम्म संक्रमण पत्ता लाग्छ।’