‘युद्ध मैदानकी परी’

‘युद्ध मैदानकी परी’ जसले युद्धमा तड्पिरहेका घाइते सैनिकलाई नयाँ जीवन दिइन्

Photo: Agency
Photo: Agency

अमेरिकाको म्यासाचुसेट्समा सन् १८२१ मा क्लाेरा बार्टनकाे जन्म भयाे। घरकी कान्छी छाेरी थिइन्, क्लाेरा। उनीमाथि दुई दिदी र दुई जना दाइ थिए।

क्लाेराका पिता स्टीफन एक समृद्ध व्यापारीका साथै स्थानीय मिलिशियाका कप्तान थिए भने माता सारा गृहणी थिइन्। क्लाेराका पिता आर्मीमा थिए, त्यसैले उनले युद्धबारे बुझेकी थिइन्। पिताकाे मुखबाट युद्धका कथा सुनिरहँदा उनी भने घाइते र शहिदहरूप्रति दुखी हुन्थिन्। दयालु स्वभावकी थिइन्, क्लाेरा। सानैदेखि उनी मानिसहरूकाे मद्दत गर्न रूचाउँथिन्।

जतिबेला क्लाेरा ११ वर्षकी थिइन्, त्यति नै बेला उनका दाइ दुर्घटनामा परेर घाइते भए। घरको छतबाट खसेर घाइते भएका दाइको उनले दुई वर्षसम्म स्याहार गरिन्। एउटी असल नर्सले गर्ने सबै काम क्लाेराले गरिन्।

अरूकाे सहयाेग गर्न सधैँ अघि सर्ने क्लाेरा उत्तिकै लजालु थिइन्। नयाँ मान्छेसँग बाेल्न र साथी बनाउन उनलाई खुबै लाज लाग्थ्याे। उनकाे त्यही स्वभावका कारण बाआमाले क्लाेरालाई शिक्षक बन्न प्रोत्साहित गरे। पढाइमा अब्बल थिइन्, क्लाेरा। त्यसैले उनले पनि शिक्षक बन्ने निधाे गरिन्। र १८३९ सालमा उनी शिक्षक भइन्।

१८ वर्षकाे उमेरमा शिक्षक भएकी उनले आफ्नाे उमेरका केटाकेटीलाई समेत पढाउन भ्याइन्। कम तलब लिएर पनि आफ्नो कामप्रति खुसी थिइन्, क्लोरा। तर विद्यालयले आफूलाई भन्दा दोब्बर तलब पुरुषलाई दिएकाे थाहा पाएपछि उनले सन् १८५२ सालमा कामबाट राजीनामा दिइन्।

शिक्षक पेशा त्यागेपछि उनले सन् १८५४ मा वासिङ्टन डिसीस्थित अमेरिकी पेटेन्ट अफिसमा रेकर्डिङ क्लर्कको रूपमा काम गर्न थालिन्। उनलाई वार्षिक १ हजार ४ सय अमेरिकी डलर दिइन्थ्यो, जसकाे तलब उनकाे पुरूष दाैतरीकाे जत्तिकै थियाे। तर उनकाे विराेध हुन थाल्याे।

त्यसपछि उनी सन् १८६० सालमा तत्कालीन अब्राहम लिंकनकाे प्रतिलिपिकारको रूपमा नियुक्त भइन्। तर सन् १८६१ मा गृहयुद्ध सुरु भएपछि उनले आफ्नो जागिर छोडिन्। अनि छैटौं म्यासाचुसेट्स इन्फेन्ट्रीका सैनिक र युनियन सैनिकहरूलाई सहयोग गर्ने आफ्नो मिशन बनाइन्। घाइते दाइलाई उपचार गरिसकेकी उनले घाइते सैनिकहरुको मदत गर्ने निर्णय गरिन्।

भूगोल उनको चासोको विषय थियो। त्यसैले देशकाे रक्षक बचाउनका लागि उनी घाइते सैनिकहरुकाे उद्धार गर्न चाहन्थिन्। लडाइँ मैदानमा उनी निडरका साथ सैनिकहरुको खोजीमा लागिन्। युद्धमा घाइते भएकाहरूकाे उनले दिनरात खटेर उपचार गरिन्। उनीहरूलाई नयाँ जीवन दिइन्।

सन् १८६४ मा जनरल बेन्जामिन बटलरको एक युनिटले उनलाई आधिकारिक रूपमा हेड नर्सको रूपमा नामकरण गर्याे, यद्यपि उनीसँग कुनै औपचारिक चिकित्सा प्रशिक्षण थिएन। सन् १८६५ मा युद्ध सकियो। त्यही युद्धबाट उनले ‘युद्ध मैदानकी परी’ काे उपनाम पाइन्।

जब क्लोरा यूरोपमा थिइन्, तब फ्रेंको प्रशियन युद्ध भयो। उनले यूरोपका सैनिकहरुको पनि त्यसैगरी मद्दत गरिन्, जसरी अमेरिकी सैनिककाे युद्धमा गरेकी थिइन्। उनले युद्धमा घाइते भएका सैनिकहरूकाे उपचारमा चार वर्ष बिताइन्। त्यसपछि सन् १८६९ मा उनी स्विट्जरल्याण्ड गइन्।

उनले त्यहीँ ‘रेडक्रस’ अर्थात् सहयोग गर्ने संस्थाबारे थाहा पाइन्। त्यसपछि उनले अमेरिकामा पनि यसको सुरुवात गर्ने साेच बनाइन्।

सन् १९८१ मा अमेरिका फर्किएपछि उनले रेडक्रसको स्थापना गरिन्। १९०४ सम्म रेडक्रसमा रहेकी उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभाहरूमा भाग लिइन्। विपत्तिमा सहयोग गरिन्, घरबारविहीन, गरीबहरूलाई सहयोग गरिन्। आफ्नो जीवन र रेडक्रसबारे पुस्तक लेखिन्।

उनी महिला मताधिकारको प्रबल समर्थक पनि थिइन्। सन् १९०४ मा उनले नेशनल फर्स्ट एड एसोसिएशन अफ अमेरिकाको स्थापना गरिन्। जुन संस्थाले आपतकालीन तयारीलाई जोड दिनका साथै प्राथमिक उपचार किटहरू विकास गर्यो।

आफ्नो लागि भन्दा देशकाे लागि बाँचेर खुसी बनेकी उनले ९१ वर्षकाे उमेरमा देशवासीलाई रूवाइन्। सन् १९७५ सालमा उनले सदाका लागि संसार त्यागेर गइन्। देशप्रति गरेकाे सम्पर्णकाे कारण सधैं सबै मानिसहरूकाे मन मस्तिष्कमा बस्न सफल भएकी छन्। 

– एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: : 2023-04-20 21:50:00

प्रतिकृया दिनुहोस्