चीनको हेबेई प्रान्तमा लकडाउनको घोषणा, चार लाख मानिस प्रभावित

चीनले राजधानी सहर बेइजिङको निकट रहेको हेबेई प्रान्तमा कोरोना भाइरसका केही संक्रमण देखिएसँगै लकडाउनको घोषणा गरेको छ। 

यो लकडाउन हेबेईको एनशिनमा लगाइएको हो, जुन बेइजिङको १५० किलोमिटर दक्षिणमा पर्छ। दुई सातापहिला बेइजिङमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थालेसँगै एनशिन काउन्टिमा पनि १८ संक्रमित फेला परेका छन्। यो लकडाउनको कारण करिब चार लाख मानिस प्रभावित हुनेछन्।

गत वर्षको अन्तिममा चीनबाटै कोरोना  संक्रमण फैलिएको थियो। यद्यपि त्यसपछि बिस्तारै कोरोनाको संक्रमितको संख्यामा कमी आएको थियो।  तर चीनको राजधानी सहर बेइजिङमा ५७ दिनपछि दोस्रोपटक पुनः संक्रमित भेटिन थालेका छन्।

कोरोना भाइरसको संक्रमणको दोस्रो लहर फैलिने आशंकाको कारण चिनियाँ अधिकारीहरु अहिले सतर्क भएका छन्। त्यसैले यसलाई गम्भीरताको साथमा लिइएको छ।

अधिकारीहरुले आइतबार एजनसिनलाई पूर्णरुपमा घरेबन्दी गर्ने घोषणा गरेका थिए। साथै यो क्षेत्रमा हरेक कुरा नियन्त्रित हुने बताइएको थियो। केवल आवरुश्यक सेवाहरुसँग सम्बन्धित मानिसहरुलाई मात्र घरबाट बाहिर निस्किन दिइनेछ। घरमा अत्यावश्यक सामग्री खरिदको लागि एक दिनमा केवल एक व्यक्ति मात्र बाहिर निस्किन पाउनेछन्।

कुनै पनि बाहिरबाट आएको मानिसलाई कुनै भवन, समुदाय र कुनै गाउँमा जाने अनुमति छैन। अधिकारीहरुले नियम पालना नगर्ने मानिसलाई प्रहरीले सजाय दिने चेतावनी दिएका छन्। 

यो क्षेत्र चीनको अन्य सहरको तुलनामा धेरै भिड हुने क्षेत्र भने होइन। त्यसैले स्थानीय स्वास्थ्य विशेषज्ञहरुले यहाँ संक्रमणको फैलावट रोकिन सक्ने विश्वास लिएका छन्।

हालै राजधानी बेइजिङमा देखिएको संक्रमणबारे भने अधिकारीहरु चिन्तित बनेका छन्। पछिल्लो २४ घण्टामा बेइजिङमा कोरोना भाइरसका १४ नयाँ संक्रमित फेला परेका छन्। जुनको मध्यदेखि एक खाद्यान्न बजारबाट सुरु भएको संक्रमणबाट संक्रमित हुनेको संख्या ३११ पुगिसकेको छ। 

बेइजिङका आसपासका क्षेत्रमा धेरै किसिमको प्रतिबन्ध लगाइएको छ। मानिसहरुलाई हिँडडुलमा रोक लगाइएको छ भने व्यापक मात्रामा परीक्षण सुरु गरिएको छ।

मार्चको सुरुमा चीनमा कोरोना भाइरसका संक्रमितको संख्या ८० हजार पुगेको थियो। त्यसपछि अहिलेसम्म चार हजार ७०० नयाँ संक्रमित भेटिएका छन्। 

जुनको मध्ययता चीनमा भेटिएकामध्ये अधिकांश संक्रमित राजधानी बेइजिङमा भेटिएका छन्। जसमध्ये केही भने हेबेई प्रान्तमा भेटिएका छन्।

प्रकाशित मिति: : 2020-06-29 12:39:54

प्रतिकृया दिनुहोस्