भारतलाई चीनको धम्की– चिनियाँ सामान बहिस्कार गर्नु भारतको आत्मघाती कदम

भारतमा चिनियाँ सामान बहिस्कारको अभियानले भारतीय अर्थतन्त्रमा गम्भीर असर पर्ने दावी चीनले गरेको छ र उसले यो भारतका लागि आत्मघाती कदम भनेको छ। 

सोमबार पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको चीन–भारत झड्पपछि भारतमा चिनियाँ सामानको बहिस्कार अभियान चलिरहेको छ। 

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले लेखेको छ, ‘अहिलेको परिस्थितिमा चिनियाँ सामान बहिस्कार गर्नु भारतको गम्भीर चुक हो। यो आत्मघाती हुन सक्छ।’ गलवानमा भएको हिंसामा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए। जसमा एक कर्नेलको पनि ज्यान गएको थियो। 

चिनियाँ सरकारको मुखपत्रको रुपमा रहेको ग्लोबल टाइम्सले भारतका केही व्यक्ति आफ्नो व्यक्तिगत लाभका लागि चीन र भारतलाई लडाउन खोजिरहेको पनि बताएको छ। ग्लोबल टाइम्स लेख्छ, ‘चीनको संयमलाई भारतले कमजोरी नठानोस्।’ 

भारतको सत्तापक्ष भारतीय जनता पार्टीको सहयोगी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को सहयोगी स्वदेशी जागरण मञ्च (एसजेएम) ले मंगलबार सरकारसँग चिनियाँ सामान बहिस्कार गर्न अपील गरेको थियो। 

व्यापार र लगानीलाई प्रभावित गर्न चिनियाँ विरोधी तत्वहरू भारतमा सक्रिय भएको भन्दै ग्लोबल टाइम्स लेख्छ, ‘भारतको विशाल जनसंख्याको अगाडि चीन–भारत व्यापार नगन्य हो। चीनसँग व्यापारीक सम्बन्ध तोड्नु एसियाको तेस्रो ठूलो अर्थव्यवस्थाका लागि आत्मघाती कदम हो। सीमा विवादलाई लगानी र व्यापारसँग जोड्नु हास्यास्पद कुरा हो।’

उसले चीन कमजोर नभएको भन्दै भारतलाई चेतावनीसहित बढ्दो तनावको विषयमा विश्लेषण गर्न सुझाव दिएको छ। 

कोरोना भाइरसका कारण विश्वभरि प्रभावित भएको अर्थतन्त्रका बीच यी दुई देश युद्धमा धकेलिएको खण्डमा आर्थिक विकासमा ठूलो नोक्सानी हुने ग्लोबल टाइम्सले बताएको छ।

प्रकाशित मिति: : 2020-06-18 07:57:00

प्रतिकृया दिनुहोस्