ओखर बाजे -१

ओखर बेचेरै उपसचिवले भन्दा धेरै कमाउने 'खत्री', बोल्न पनि छैन फुर्सद (भिडियाेसहित)

गैरागाउँकाे गहिराे ठाउँबाट खाेलैखाेल उकालाे लाग्दा सुरुमा शरीर चिसाे हुन्छ। गति सुस्त भए पनि सास तीव्र चल्छ। अलि उकालाे चढ्न थाल्याे भने। जीउका पसिना छुटेर खाेलामै मिसिन्छन्। 

सानाे खाेलाबाट निस्केकाे आर्द्रतायुक्त हावाले काम गर्दैन। गर्मी चढ्छ। थाेरै उकालाे चढ्ने आँट मात्र गरियाे भने भेटिन्छ, आन्ने चाैर। जहाँ शंक खत्रीकाे विशाल बगैँचा छ। 

विशाल यस अर्थमा कि हामीले धेरै ठाउँ खाेज्दा पनि पूरै बगैँचा आउने फाेटा लिन सकेनाैँ। ड्राेन वा अरु प्रविधि हामीसँग थिएन। 

बगैँचामा स्याउ नाै सय बाेट छन् भने हजार बाेट ओखर छन्। ओखर १२ सय पुगाउने तयारी छ। बगैँचाका माली खत्री आफ्ना मुनाहरुसँगै थिए। पहिलाे भेटमै भने, 'रुखा डाँडामा अलिअलि रुख छिया। ती मासेर घना जङ्गल बनाएँ।'



कनकासुन्दरी गाउँपालिकामा ठगी: किसानलाई दाँते ओखर भनेर हाडे वितरण

काम सिक्यो भने विदेशभन्दा गाउँघरै वेश



उनकाे घना जङ्गल अरु केहीकाे हाेइन। ओखर र स्याउकाे हाे। जहाँ हरेक वर्ष लाखाैँकाे स्याउ ओखर फलिरहेका छन् भने अरुका बगैँचालाई हराबरा, घना जंगल जस्ताे बनाउने ओखरका विरुवाहरु हुर्कँदै छन्।

उनका जेठाे छाेरा शेरबहादुर खत्री र कान्छीछाेरी अनिता खत्री ओखरका बुटा कलमी गरिरहेका थिए। उनीहरुलाई बाेल्न फुर्सद थिएन। 
'किन बाेल्नु भएन त?' हामीले भनी गरेकाे प्रश्नमा शंकुले भने, 'एक खेपमा सात सय असी आउँछ। सिजनमा एक्कै महिना काम गर्‍या पनि अरुले वर्षभरि कमाउन्या भन्दा बढी कमाइ हुन्छ। कुडा गन्या फुर्सद काँउनो छ र ?'

एक महिना खट्दा वर्षभरि नेपाल सरकारकाे उपसचिव स्तरकाे कर्मचारीले गर्नेभन्दा बढी कमाई हुने उनले बताए।

उनले माछा मारेर दिनेभन्दा पनि माछा मार्ने तरिका सिकाउने चिनियाँ उखान जस्ताे साेच बनाएका छन्। जसले एक छाक माछा खाने हाेइन जीवनभर माछा खाइरहने तरिका सिकाउँछ।

दुई छाेरीकाे बिहे भइसकेकाे छ। 'उनीहरुलाई दाइजाे दिइन। दिनु पनि नाई,' उनले भने, 'सीप सिकायाकाे छु। यही सीपले उनीहरुको जीवन सजालाे हुन्या छ। आम्दानी राम्राे हुन्याछ।' 

अघिल्लो वर्ष उनकाे परिवारका सदस्य मिलेर २७ सय ओखरका बिरुवा कलमी गरेका थिए। त्यसबाट २० लाख बढी आम्दानी भएकाे थियाे।

याे वर्ष २० हजार ओखरका बुटा कलमी गर्ने तयारी भइरहेको उनले बताए। यसले झण्डै एक कराेड आम्दानी लिने याेजना रहेकाे छ। 

'नर्सरीमा २० हजार ओखरका बुटा कलमी गर्ने तयारी भइरहेको छ,' उनले भने, 'शत प्रतिशत सफल भयाैं भने एक कराेड ५० लाख आम्दानी एकै वर्षमा हुन्छ तर तल्काे काेलमकाे आम्दानी एक कराेड राखेका छाैँ।'

कृषि अनुसन्धान केन्द्र वागबानी राजिकाेटका अनुसार ओखरमा कलमी गर्दा ६० प्रतिशत देखि ८० प्रतिशत सफल भइन्छ तर शंकु भने शतप्रतिशत सफल हुने दाबी गरिरहेका छन्। 

'हामीले अघिल्लो वर्ष सतप्रतिशत सफल गरेर देखायाैँ। याे वर्ष पनि पूरै सफल हुन्छौँ,' उनले भने, 'याे हावाकाे कुरा हाेइन। हाम्राे आफ्नाे अनुभव र अनुसन्धान हाे। नपत्याए पछिल्लो वर्ष आया। सबै देखिनेछ।'

हावा बेस्मारी लाग्ने उनकाे बगैैँचामा हावा कुरा कहिल्यै हुँदैनन्। काम तथ्यमा आधारित हुन्छ भने कुरा अनुभव र अनुसन्धानमा आधारित।

उनले हामीलाई वर्षाैंसम्म नभनेर काम देखाए। 

तीन फरक तरिकाबाट ओखर कलमी गरेरै देखाए। जुन लगभग शत प्रतिशत सफल हुने उनकाे दाबी छ। 

अहिले नेपाली बजारमा ओखरकाे माग उच्च छ तर आपूर्ति लगभग नगन्यभन्दा हुन्छ। नेपाली बजारमा बिक्री भइरहेको ओखरमा साढे दुई प्रतिशत मात्र ओखर मात्र नेपालका विभिन्न जिल्लाबाट पूर्ति हुन्छ भने बाँकी साडे ९७ प्रतिशत ओखर चीनबाट आउँछ।

जसकाे संभावना बढी छ उसैकाे खेती गर्दा मुनाफा दिन सकिने उनकाे भनाइ छ। 'जति ओखर लगाउँदा पनि नाेक्सान छैन,' उनले भने, 'बजारकाे त झन् कुनै समस्या नै छैन।'

नर्सरीमा ओखरका बिरुवा थन्किएर बिक्री नहाेलान भन्ने कुनै चिन्ता नभएकाे उनले थपे। त्यसमाथि उनी ओखरका प्रशिक्षक हुन्। देशका सबै जिल्लामा ओखरकाे सम्भावना बारे अध्ययन गर्दै हिँडेकाे र कति ठाउँमा सीप सिकाएकाे उनकाे दाबी छ।

एउटा मात्र स्टाेरीका लागि आन्नेचाैर पुगेका हामी उनकाे विषयमा शृङ्खला नै तयार पार्ने तयारीमा लागेका छाैँ। आगामी दिनहरुमा उनकाे अनुभव र अनुसन्धान तपाईंहरुसमक्ष ल्याउने नै छाैँ। कुर्दै गर्नुहाेला।

प्रकाशित मिति: : 2021-04-05 07:15:00

प्रतिकृया दिनुहोस्