गोठभरि भेडा। तिनका पछिपछि लागेर भोट मधेस गर्न पाइने। वर्षा पाटनको स्वच्छ हावा। हिउँ शरीरमा मधेसको तातो। भेडा चराउन गएको बेला रनवन रमाइलो। हिउँद मधेस झर्न पाए मन त्यसै रमाइलो।
तर, जिन्दगी सोचेजस्तो कहाँ हुन्छ र? त्यसैले त तारादेवी सदाबहार। 'सोचेजस्तो हुन्न जीवन। सम्झेजस्तो हुन्न जीवन…।'
तारादेवीले सुरिलो स्वरमा गाएको गीत ठ्याक्कै लागू भएको छ, पातारासी गाउँपालिका स्याला गडिगाउँका खड्क्या ऐडीको जीवनमा।
उमेर जम्मा ४८ वर्ष भयो। गाउँघरमा 'सुन पुरानो हुन्न, लोग्न्या बुढा हुन्न' भने पनि त्यो पुरुषवादी उखान फ्लप खान्छ, उनको जीवनमा। उनी ६० कटेका जस्ता देखिन्छन्। हेर्दै मनमा मस्तै पीरमर्का भएका जस्ता।
फागुनको तेस्रो साता बजारमा दुईवटा लौरीका साहाराले हिँडिरहेका उनलाई देखेपछि बिएल नेपाली सेवाले उनीसँग कुराकानी गरेको थियो। नसोचेको जिन्दगी सामना गरिरहेका उनलाई यो श्रृङ्खलाको पहिलो पात्र बनाएका छौँ।
'अगाडि त हजुर धेरै काम गरेको हुँ। यस्तो भयापछि केही काम गरिनँ। छोराछोरी पाल्नलाई उपकार हुन्छ कि केही सिकिन्छ कि भनेर यो तालिममा आयाको हुँ।'
चौधबीसे लवजमा उनले यति बोलेपछि बल्ल थाहा भयो– उनी सिलाईकटाई तालिमको लागि बजार आएका रहेछन्।
सानैदेखि भेडी गोठालो लागेका उनी बीस–बाईस बर्षे लक्का जवान हुन्जेल हिमाली चिसो सिरेटोसँग जुद्दै अघि बढेका हुन्। केही आम्दानी गरेका हुन्। भेडा 'एकको एक्काइस' हुने गरी लालनपालन गरेकै हुन् तर समयले कोल्टो फेर्यो। २०५२ साल उनलाई रागनले समात्यो खुट्टा डल्लिए।
'हात, गोडा दुख्न लाग्या। सुनिया। रागन एकै ठाउँमा खेडिन्छ भनेर बात (झुलोमा आगो लगाएर छाला पोलेर गर्ने परम्परागत उपचार पद्धति) हाल्यौँ। रागन डल्लियो। यताउता हिँडडुल गर्न नसक्या भया। घरमै थलिएर बस्नु पड्न्या भयो,' उनले भने, 'उपचार होइजान्छ कि भन्ने आशले नेपालगन्ज, लखनौ, बहराइज सबै ठाउँ गया तर कहीँ गए पनि पार लागेन। उपचार गर्न ढिलो भयो। एक वर्षपछि मात्रै गया। डाक्टरले हुँदैन भने।'
त्यसपछि उनी बजार आएका रहेनछन्। 'घरमै दुइटा लठीको साहाराले भित्र–बाहिर गर्या। संसार डुलेको मान्ठको संसार नै सानो स्याँला गडीगाउँ भयो। अब मेरा लागि संसार स्याँला गडीगाउँ हो।'
२४ वर्षको उमेरमा उनी १२० भेडाका मालिक थिए। भेडाको मालिक हुनु, गाउँमा सानको कुरा हो। व्यावसायिक क्षेत्रबाट प्राप्त हुने मुख्य आम्दानीको श्रोत हो। वर्षा पाटनको बुकी र जडिबुटी खाएका भेडालाई दशैंतिहारमा बेच्यो भने मनग्ये आम्दानी लिन सकिने।
हिउँद मधेशबाट नुन ल्याएर गाउँघरमा बेच्यो भने पैसाको हर्ज (अभाव) नहुने। एक सानको पेशा अँगालेका उनीसँग हाल सान देखाउनलाई केही छैन। एक मलिन स्वर छ, 'जिन्दगी बिग्रेदेखि यस्तै बसेको छु।'
जुम्लादेखि सुर्खेत, फेरि घरसम्म १०-१५ दिनको बाटोमा बास बस्दै, भेडा र वातावरणसँग सुसेली खेल्दै स्वतन्त्रताको कावा खाएका उनलाई यस्तो के अनौठो भयो र घरमै थला बस्नु पर्यो जस्तो लाग्छ।
'तडो (तागत) छियो। भेडा जताततै डुलायौँ। पातरासी पाटन, ओली पाटन, सबै ठाउँ गयौँ। हिउँद नून ल्याउन सुर्खेत, चुप्रासम्म गयौँ।' भावुक हुँदै विगत सम्झिएर भने, 'दिन लागेपछि यस्तो हुन्या रहेछ।' अनुहार बादल लागेजस्तो भयो तर उनी यतिबेला अनुहारको कालो बादलभित्र भएको चाँदीको घेरा खोज्न बजार आएका रहेछन्।
रागन जिनिएर हिँडडुल गर्न नसक्ने भइसकेपछि उनको बिहे भयो। त्यसबेला श्रीमतीलाई जग्गाजमिन बेचेर पनि बजारमा बसौँला भनेर बाचा गरेका थिए तर बिहेपछि मेसो मिलाउन सकेनन्। यसै पनि जिन्दगीको मेसो बिग्रेको थियो।
त्यसपछि तीनवटा बच्चाबच्ची भए। श्रीमतीले सुखदुःख गरेर पालिन्। भन्नलाई त उनले श्रीमतीलाई नै आफैँ पालौँला भनेका थिए तर श्रीमतीले पाल्नुपर्ने भयो। उनी खेतीपाती गर्छिन्। नपुगेको ऋणदानबाट चलिरहेको छ।
छोराछोरी पाल्न, श्रीमतीको भारी थोरै भए पनि हलुको बनाउन र लागेको ऋण तिर्न सकिन्छ कि भनेर उनी सिलाईकटाई तालिम लिन बजार आएका हुन्।
घरेलुबाट तालिम परेपछि गाउँलेले अपाङ्गता भएको मान्छे केही गर्ला भनेर बजार पठाउने निधो गरे। त्यसपछि उनी एउटा उत्साह लिएर तालिम लिन बजार पसेका हुन्।
हाल आएर एक छोरीको बिहे भइसकेको छ। एक छोरी र एक छोरा घरमै छन्। उनीहरु सानै छन्। उनीहरुलाई पढाउन र बढाउन केही पैसा कमाउने धोको रहेको उनले बताए।
'पहिला खाना पुग्दो छियो। सबै काम गर्न्या छियौँ। खान लाउनको केही समस्या छियोन तर आजभोलि त आफ्ना भाग परेको जमिन पनि बाँजै छ,' उनले भने, 'भेडा बेचेदेखि गोठ रित्तै छ। त्योभन्दा बढी मन रित्तो छ। यो तालिम सिकेको भए। केही खानलाउन सकिन्छ भन्ने आशा छ।'
सायद उनले जीवनमा लागेको कालो बादलमा खोजी गरिरहेको चाँदीको घेरा यही हो।
तालिम सिकेपछि हातेकल चलाएर सिलाउँछु भन्ने सोच गरेका छन्। गाउँघरमा काम पाइँदैन भनेर विदेश जानेहरु भन्नेहरु रित्तै घर आउँछन् तर उनले आफ्ना हात सीप भयो भने गरिखान सक्छु भने अठोट गरेका छन्। तालिममा पनि अपाङ्गता भएका उनी एक जना मात्र हुन्।
उनीसँग तालिमको विषय कुरा गर्ने खोजेपछि बेला–बेला विगत कोट्याउन छोडेनन्।
'२०२८ सालमा जन्मेको हुँ । २४ वर्षको लाऊँलाऊँ खाऊँखाऊँ भन्ने उमेरमा यस्तो भयो। मन कति छट्पटियो। केही लेखो छैन। तीन वटा गिजला (सुरुवाल) लाएर हो तत्र त खुट्टा सुकेर भाट्टाजस्ता भएका छन्। सकेसम्म काम बसी–बसी गर्ने काम भयो भने सकिहाल्छु। यसैबाट कमाएर खाउँला भन्ने सोचेको छु।'
उनलाई हामीले यो दलितहरुले गर्ने पेशा हो तपाईंले गर्दा गाउँलेहरु गिज्याउँलान् नि भनेर ठट्टा गरेका थियौँ। जवाफमा उनले भने, 'भन्नेहरुले भनून्, मलाई मतलब छैन। कति पुगिमानहरु यो दमाइहरुले गर्ने काम हो भन्छन्। मोकन (मलाई) क्या मतलब ! हामी गरीबहरुले काम गर्ने र खाने हो। काम सानो–ठूलो हुँदैन।'
उनले तालिम सिकेपछि घरमै पसल राख्ने सोचेका छन्। सिलाउने मान्छे छैनन्। टेलर गाउँमा जाँदैनन्। यतिबेला उनले एउटा उत्साह बोले, 'मैले सुरु गर्या भने मान्छ आइजान्छन्।'
घरबाट बजार आउनेबेला उनलाई लासीसम्म एक जनाले मोटरसाइकलमा ल्याइदिए। त्यहाँबाट गाडीमा चढेर जुम्ला बजार आए। उनले भने, 'त्यतिन्जेल मेरा लौराले पनि गाडी चडे। अहिले यताउता हिँड्नलाई यिनैले सहयोग गरिरहेका छन्।'
उनी २०५२ सालमा बजार आउँदा केही थिएन। दोकान पनि कमै थिए। घर निकै कम थिए। उनले अन्तिममा भने, 'आजभोलि त निकै रमाइलो रहेछ तर मन भने निसैलो छ। जिन्दगी यही त रहेछ।'