कनकासुन्दरी गाउँपालिकामा ठगी: किसानलाई दाँते ओखर भनेर हाडे वितरण

कनकासुन्दरी गाउँपालिका -४ लेकपुरका किसान पन्न बुढाले एक महिना अघि ७५ प्रतिशत अनुदानमा पाएकाे ओखरका बिरुवा मख्ख हुँदै आफ्नाे बगैंचामा राेपे।

त्यसबेला उनकाे सपना थियाे, 'पान/सात वर्षमा दाँते ओखर फल्छन्। एक दानाकाे न्युनतम पाँच रुपैयाँ मात्र गरे पनि व्यापारीहरु घरमै आएर लिनेछन् र मनग्गे आम्दानी हुनेछ।'

'पछिल्ला पुस्तासम्मले लाभ लिनलाई रुख राेप्नुपर्छ' भन्ने चिनियाँ उखान जस्तो साेचेका उनकाे सपना एक महिनामै तुहियाे।

'पालिकाले ग्राफ्टिङ नगरेका नक्कली ओखरका बिरुवा दिएर ठगी गर्‍याे,' किसना बुढाले भने, 'दलालहरुले नक्कली बिरुवा वितरण गरेर किसानकाे भविष्यमाथि खेलबाड गरे।'

चालु आर्थिक वर्षमा कनकासुन्दरी गाउँपालिकाले ओखर प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न बजेटसहित नीति ल्यायो।

सोही अनुसार करिब १९ लाख लागतमा पालिकालाई ओखर हब बनाउन बिरुवा खरिद गर्न टेन्डर आह्वान गरियो।

स्थानीय लाल बहादुर जिसीको कनकासुन्दरी एग्रो हबलाई टेन्डर पर्‍यो। बोलपत्रमा स्थानीय जातकै ओखरका विरुवा हुनुपर्ने स्पष्ट उल्लेख छ। सोही अनुसार जिसीले जुम्लाका विभिन्न नर्सरी धनीबाट बिरुवा खरिद गरे।

१९ लाख लागतका २ हजार ९ वटा बिरुवा खरिद गरी कनकासुन्दरी पुर्‍याए र किसानलाई वितरण गरे।

बिरुवा वितरण गर्दा खुसी भएका किसान एक महिनामै निराश भए। कारण थियाे, किसानले पाएका बिरुवा ग्राफ्टिङ नगरिएका नक्कली थिए। अर्थात दाँते ओखर हुनुपर्नेमा हाडे भेटिए।

ओखरका बुटा ग्राफ्टिङ नगरिएकाे हल्ला पालिकाभरी फैलिएपछि कृषि विज्ञ शेर बहादुर भण्डारीलाई ल्याएर बिरुवा जाँच गरियो। विज्ञ भण्डारीले भने, 'सुरुमा जाँच गरिएका ६ वटा बिरुवामध्ये ४ वटा शङ्कास्पद भेटिए। अधिकांश किसान र हाम्राे ठम्याई ग्राफ्टिङ भन्ने भयाे।'

अधिकांश बिरुवा ग्राफ्टिङ नै नभएका भेटिएपछि खरिदकर्ता कनकासुन्दरी एग्रो हब प्रालिका सञ्चालक जिसीले अनुसन्धान गर्दा नर्सरी धनीबाटै बेइमानी भएको बताए।

पालिका र ठेकेदार कम्पनीले बिचाैलियालाई विश्वास गर्दा किसानलाई अनुदानमा उपलब्ध गराउने भनिएकाे ओखरमा व्यापक अनियमितता भयाे। सरकारी स्तरबाटै ठगी भएकाे स्थानीयकाे गुनासाे छ।

यसैबीच सोमबार ठकेदार जिसीले तथ्य जानकारी दिन पत्रकार सम्मेलनकाे आयाेजना गरे। उनले त्यहाँ खरिदकर्ता, गाउँपालिका भन्दा पनि नर्सरी धनीको बेइमानीका कारण किसान र आफू समेत ठगिएको स्पष्टीकरण दिए।

'केहीले पूर्वाग्राही ढङ्गबाट बोले पनि अहिलेसम्म बिरुवा खरिदको भुक्तानी लिएकाे छैन,' उनले भने, 'नर्सरी धनीको विश्वास गरेकै कारण समस्या भयाे। उनीहरुलाई कारबाही गराउन पहल गर्नेछु। मैले किनेकै माेलमा किसानलाई बिरुवा दिएकाे हुँ।'

जुम्ली बिरुवा भन्दै बाहिरका दलालसँग मिलेर नर्सरी धनी तिला ८ का हंश बस्नेतले जुम्लाका तिला, तातोपानी र कनकासुन्दरीका किसानलाई ठगी गरेकाे जिसीले आराेप लगाए।

नर्सरी धनी हंश बस्नेतका नाममा मुद्दा हाल्ने र कानुनी कारबाहीका लागि अघि बढ्ने कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरवीर रावतले बताए।

तर नर्सरी धनी बस्नेत भने आफूले बाहिरकै मान्छेबाट बिरुवा ल्याएको बताए। 'बैतडीमा रहेको पुर्चौउली एग्रो हबका निर्देशक दिपक धानुले जिल्लामा बिरुवा पठाउने गरेका छन्,' उनले भने।

नक्कली बिरुवा विभिन्न जिल्लामा पठाउने बैतडीका दिपक धानुलाई खरिदकर्ता लाल बहादुर जिसीले रामेछापबाट जुम्ला ल्याएर १७ सय बिरुवाको क्षतिपूर्ति समेत मागिसकेकाे बताए।

नक्कली बिरुवा बिक्री गर्ने रविन धानु सञ्चालक रहेको बैतडीको पुर्चौउली एग्रो हब प्रालिका निर्देशक दिपक धानुले विभिन्न जिल्लामा नक्कली बिरुवा बिक्री गरेको  स्वीकारेका छन्।

तर, जुम्ली किसानलाई विगतदेखि ठग्ने जुम्लाकै नर्सरी धनीका नाममा दलाली गर्ने हंश बस्नेतलाई तत्काल कारबाही गर्नुपर्ने माग कनकासुन्दरीका किसानहरुकाे छ।

जबकी सम्झौतामा स्थानीय जातकाे ओखर हुनुपर्ने भनिएकाे छ। साेही अनुरुप वितरण  गरिएका २९  सय बिरुवामध्ये साढे १३ सय मात्रै जुम्ली बिरुवा छन् भने बाँकी १७ सय  जुम्ली कास्मिरी छन्।

स्थानीय जातका बिरुवा हुनुपर्नेमा कास्मिरी, त्यो पनि ग्राफ्टिङ नै नगरिएका नक्कली बिरुवा बेच्ने नर्सरी धनीलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ। 

किसानले बगैंचामा ओखर लगाउने आशा साथ खाल्डा खनेको, मलजल गरेको, पानी हाले बापतको क्षतिपूर्ति तत्काल पाउनुपर्ने स्थानीय दिपेन्द्र न्याैपानेले बताए।

'ओखरका बिरुवा रोप्ने आशामा खाल्डा खन्यौं, बिरुवा रोप्यौं, पानी हाल्याैं,' उनले भने, 'अहिले नक्कली बिरुवा देखिएपछि उखेल्नुको विकल्प छैन। हाम्राे श्रम र समय खेर गएकाे छ। न ओखर खेती हुने भयो नत परिश्रम सदुपयोग भयो।'

गाउँपालिकाले व्यक्तिलाई प्रति बिरुवा २ सय र समूहलाई ८ सयका दरले वितरण गरेकाे थियाे। उक्त मूल्यमा किसाने २५ प्रतिशत रकम मात्रै व्यहोरेका छन्।

किसानले बिरुवा खरिदमा व्यहोरेको २५ प्रतिशत रकमसहित आवश्यक क्षतिपूर्ति तत्काल उपलब्ध नगराए आन्दोलन गर्ने अर्का किसान किसान किसान जङ्ग बहादुर घर्तीले बताए।

प्रकाशित मिति: : 2021-03-31 12:21:00

प्रतिकृया दिनुहोस्