जिल्लाका २४ जना कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको टोली सेल्फ क्वारेन्टाइनमा बसेको छ। खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष आइसोलेशन अस्पतालमा एक साता संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको टोलीलाई दोसल्ला ओढाएर विशेष सम्मानका साथ सेल्फ क्वारेन्टाइनमा पठाइएको हो।
उनीहरु एक साता कोरोना संक्रमितको उपचारमा संलग्न थिए। बाँकेमा पहिलो पटक यही बैशाख १९ गते ६० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। शुक्रबार एक १६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २४ पुगेको छ।
अहिले उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब संकलन कार्य तीव्र रुपमा भइरहेको छ। नेपालगञ्जको एक होटलमा फर्किदा ती स्वास्थ्यकर्मीको मनोबल बढाउन खाना तथा भोजन उपसमिति र होटलका तर्फबाट फुलमाला बर्साइएको उपसमिति संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए।
उनका अनुसार ती स्वास्थ्यकर्मीहरु विशेष सुविधासहित १४ दिन होटलको सेल्फ क्वारेन्टाइनमा रहनेछन्। संक्रमितको उपचारको लागि अग्रभागमा रही काम गरेकोमा आफूहरुले स्वास्थ्यकर्मीको प्रशंसा गरेको केन्द्रीय सदस्य श्रेष्ठले बताए।
उनीहरुको आवास तथा भोजनको व्यवस्थापनमा श्रेष्ठ लगायत नेपालगञ्ज उद्योग वाणिज्य संघले संस्थागत रुपमा सहयोग गर्दै आएको छ।
यता नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली, प्रवक्ता टंकबहादुर धार्मी, भेरी अस्पतालका नर्सिग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले दोसल्ला ओढाएर कोरोनाविरुद्धको उपचारमा संलग्न भएकोमा स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन्।