नक्कली भुटानी शरणार्थी प्रकरण

कहाँ छन् टोपबहादुर रायमाझी, कसरी हुन्छ पक्राउ ?

फाइल तस्विर
फाइल तस्विर

तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवम् नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने कार्यमा रायमाझीका बाबु-छोराको संलग्नता रहेको भन्दै जिल्ला अदालतको अनुमति दिएर प्रहरीले बुधबार पक्राउ पुर्जी जारी गरेको हो।

प्रहरीले यसअघि नै टोपबहादुरका छोरा सन्दीपबाट यसै घटनाको आशंकामा डेढ करोडको चेक बरामद गरेको थियो।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्ना रहेको आरोपमा पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित आधा दर्जन व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको छ । 

प्रहरीले टोपबहादुर पुत्र सन्दीपलाई बुटबलबाट पक्राउ गरिसकेको छ । तर, टोपबहादुर भने बुधबार दिउँसो काठमाडौंमा पक्राउ पुर्जी जारी भएको बेला गृहजिल्ला अर्घाखाँचीको छत्रदेवमा आयोजित महेन्द्र विद्यावोध माध्यामिक विद्यालयको हिरक महोत्सवमा सहभागी भइरहेका थिए। उनी महोत्सवमा सभामुख देवराज घिमिरे र एमाले सांसद विजुला रायमाझीसहित अन्य नेताका साथमा थिए।

पक्राउ पुर्जी जारी भएलगत्तै रायमाझीलाई अर्घाखाँचीबाटै पक्राउ गरिने अनुमान गरिएको थियो । तर, अर्घाखाँची जिल्ला प्रहरी कार्यालयमा पक्राउ पुर्जी पुग्न ढिला भएकाले उनलाई नियन्त्रणमा लिन सकिएन ।

रायमाझी जिल्ला सदरमुकाम सन्धिखर्कबाट उत्तरतर्फ पर्ने छत्रदेवको कार्यक्रम सकेर सन्धिखर्क उत्रिएसँगै सभामुखको साथ लागेर काठमाडौं हानिए। त्यतिबेलासम्म जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गर्ने आदेश पाएको थिएन।

मौसमकाे खराबी र अप्ठ्यारो सडकका कारण समयमा भैरहवास्थित गाैतम बुद्ध विमानस्थल पुग्ने समय लाग्ने भएपछि उनी सडकमार्ग हुँदै काठमाडौं आइरहेका छन्। पक्रिया पुगेको अवस्थामा बाटोबाटै उनलाई पक्राउ गर्न सकिने नेपाल प्रहरीले जनाएको छ।

अन्यथा, उनलाई भोलि काठमाडौंबाट प्रहरीले पक्राउ गर्नेछ वा त्यसअघि नै उनले प्रहरीमा आत्मसमर्पण गर्ने सम्भावना पनि रहेको छ। 

प्रकाशित मिति: : 2023-05-03 21:40:00

प्रतिकृया दिनुहोस्