१० दिनमै तयार भयो सुविधा सम्पन्न आइशोलेशन अस्पताल

बिएल संवाददाता

रुकुम पश्चिम

जिल्लाको आठबीसकोट नगरपालिकामा १० दिनमै सुविधासम्पन्न अस्पताल निर्माण भएको छ। कोरोना लक्षित गरेर निर्माण गरिएको उक्त अस्पताल नगरपालिकाले स्थानीयसँगको सहकार्यमा निर्माण सम्पन्न गरेको हो। अस्पताल १२ शैयाको रहेको छ ।

नव निर्मित अस्पतालमा ६ विशेष र एक नर्मल वार्ड रहेको नगरपालिकाले जनाएको छ। नगर प्रमुख गोर्खबहादुर केसिका अनुसार अस्पतालका ६ वटा कोठामा एटेच बाथरूम, एयर कन्डिसन सुविधा, तातोपानी आउने प्रविधि र भाइटल साइन मनिटर जडान गरिएको छ। विशेष वार्डमा एक/एक र नर्मल वार्डमा ६ बेड राखिएको छ। हरेक बेडमा अक्सिजनको व्यवस्था गरिएको, बालबालिकालाई पनि छुट्टै उपचार गरिने, कोरोना संक्रमणको आशंका गरिएकालाई विशेषमा र पुष्टि भइसकेकालाई नर्मलमा राख्ने तयारी नगरपालिकाको रहेको बताईएको छ।

लकडाउनकै समयमा निश्चित दूरी कायम गरी रात–दिन दुई चरणमा काम गरेर अस्पताल निर्माण गरिएको हो। महामारीको त्रास फैलिएपछि अस्पताल बनाउनुको विकल्प नदेखेको नगर प्रमुख केसीले जनाए।

अस्पताल बनाउन स्थानीय जनता, समूह, सहकारीले श्रमदान गर्नुका साथै ज्येष्ठ नागरिक र अपांगसमेतले नगद सहयोग गरेको प्रमुख केसीले जानकारी दिए।

नगरपालिकाका अनुसार स्थानीयले विभिन्न माध्यमबाट अस्पताल निर्माणमा १५ लाख रुपैयाँ सहयोग गरेका छन्।

अस्पताल निर्माणका लागि ८९ लाखको डिजाइन स्टिमेट गरिएकोमा ७५ लाखमा निर्माण सकिएको थियो। अस्पतालभित्र नर्सिङ स्टेसनसमेत छ। नगर अस्पताल परिसरमा निर्माण भएको कोरोना अस्पताललाई यसपछि सबै सरूवा रोगको उपचारमा प्रयोग गर्ने नगरपालिकाको योजना छ। बिरामी भर्नाका लागि अस्पताल तयार भएसँगै ३ वटा मेडिकल टिम तयारी अवस्थामा राखिएको छ।

नगर अस्पतालमा कार्यरत चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी उपचारमा खटिनेछन् ।

१० दिनमा सुविधासम्पन्न अस्पताल तयार भएपछि इच्छाशक्ति भए गर्न सकिँदोरहेछ भन्ने आशा जागेको स्थानीयहरुको भनाई छ। नगर अस्पताल सरकार र नागरिक सहकार्यको उत्कृष्ट नमुना भएको बताईएको छ।

नगर कार्यपालिकाले गत चैत २५ गते निर्णय गरेलगत्तै अस्पतालका लागि पक्की भवन निर्माणको काम सुरु गरिएको थियो ।

सबै कुरा जनताबाट सिकौं : जनार्दन शर्मा

पूर्व गृहमन्त्री तथा रूकुम पश्चिमबाट निर्वाचित संघीय सांसद जनार्दन शर्माले जनता नै शक्तिका श्रोत भएको बताउदै सबै कुरा जनताबाट सिक्न आह्वान गरेका छन्।

कोरोना महामारीको नियन्त्रणको लागि आठबिसकोट न.पा. रुकुममा सबै सुबिधा सहितको आइसोलेसन भवन १० दिनमा बनिसकेको जनाउदै उनले पार्टी, जनता र नगरपालिका सबैलाई बधाई दिएका छन्। यो काम श्रम सहकारी द्वारा गरिएको र हामी पनि सक्छौ र सक्नुपर्छ भन्ने सन्देश प्रबाह भएको शर्माले जनाए।

प्रकाशित मिति: : 2020-04-27 10:47:32

प्रतिकृया दिनुहोस्