पुस्तक वार्ता

‘मिन्झारी’को रुपरेखा आगो साक्षी राखेर गरेको हुँ: महेन्द्र उपाध्याय

Breaknlinks
Breaknlinks

केही वर्ष पहिलेको एकदिन ‘एक’ नामकरण गरेको एउटा गजल संग्रह नेपाली बजारमा आउँछ। बजारमा आउने बित्तिकै त्यस गजल संग्रहलाई लिएर चर्को बहस चल्छ। त्यो बहसमा मात्र सिमित रहँदैन विवाद र आरोपमा पुग्छ। अन्ततः गजलको सर्वेसर्वा दाबी गर्नेहरुले त्यस संग्रहलाई किनारा लगाइदिन्छन्। अन्ततः गजलकारलाई पनि किनारा लगाइदिन्छन्। किन किनारा लगाए होलान् गजल संग्रह र गजलकारलाई ? जिज्ञासा आउनु स्वभाविक छ। कारण के थियो भने, त्यस संग्रहले गजलको परम्परागत र जडवत सुत्रलाई/शिल्पलाई तोड्ने प्रयत्नको सुरुवात गरेको थियो। जो अहिले सुरुवात हुँदै छ त्यो पछि गएर आफैलाई पासो हुने देख्नेहरुका निम्ति त्यसलाई झाङ्गिन दिनुभन्दा पहिले नै किनारा लगाइदिनु बेस हुने नै भइहाल्यो। उनिहरुले त्यसै गरे।

ठिक त गरेछन्, त्यसपछिको केही समय कति शान्त र आनन्दमय भयो, गजलको बजार। तर, समयको बारेमा खासमा हामी सदा भ्रममा नै हुने गर्दछौं। केही समय अन्तरद्वन्द्व भएको छैन भने हामी निक्र्यौल निकालिहाल्छौं, स्थिति कति शान्त र आनन्दमय छ ! तर, समय सदा एकनास रहँदैन। भएको स्थितिमा परिवर्तन आउँछ। कतिखेर पो स्थिति अर्कै आइसक्छ–भइसक्छ हामीलाई चालसम्म हुँदैन। के अहिलेको गजल बजारमा गजलको सुत्रलाई–शिल्पलाई लिएर शान्त र आनन्द छ त ? फेसबुकमा गजलका बारेमा हामी कुनै पनि विवाद गरिरहेका छैनौँ त ? कार्यक्रम आयोजना गरेर हामी फलानो गजल लेख्ने, तिनीहरु फलानो गजल लेख्ने भनेर वाचन गरिरहेका छैनौँ त ? संघ संस्थाहरु गठन र विघटन गरिरहेका छैनौँ त ? देशभरका गजलकारहरु कतिवटा गजलका पक्ष/विपक्षमा विभाजित भएका छन ? यो हामी सबैलाई छर्लङ्गै छ। यहाँनेर मैले भन्न खोजेको कुरा के हो भने किनारा लगाइएको ढुङ्गा, बालुवा, गिट्टी कतिखेर पो नदीको मुल प्रवाहमा आइसकेछ, हामीलाई अत्तोपत्तो भएन। हुँदैन पनि।

ठिक त्यसरी, गजलमा किनारा लगाइएका तिनै गजलकारले किनारामा बसेर किनाराहरुको कथा लेखेको गजलका महामहीमले अथवा मुल प्रवाहमा रमिरहेकाहरुले चुइको समेत पाएनन्। किनाराले तिनलाई गजलकारको परिधिबाट मुक्त बनाएर कथाकार बनाइदियो। अब त उनले एउटा उपन्यास पनि लेखिसकेका छन्। जसको नाम रहेको छ,‘मिन्झारी’। ‘मिन्झारी’ थारुहरुको मूल देवता बाघ हो। तर, उसलाई गाईको दूधको भोग चड्छ। यसै देवताको नामबाट उपन्यासको नाम राखिएको छ। यस उपन्यासलाई रेड पाण्डा पब्लिकेसन्स हाउसले बजारमा ल्याएर आँउदै छ। सम्भवतः अबको केही महिनामा हाम्रो हातहातमा हुने नै छ।

ति किनारा लगाइएका गजलकार दुईटा नामले उत्तिकै परिचित छन्। एक, महेन्द्र उपाध्याय (जो लेखकको वास्तविक नाम हो)। अर्को, एमपी केयरलेस (जो लेखकलाई प्रेम गर्नेहरुले बोलाउने नाम हो)। मैले यिनै लेखकसँग उनको आउँदै गरेको उपन्यास मिन्झारीको पेरिफेरिमा रहेर प्रश्न गरेको छु। खासमा मैले मिन्झारी उपन्यास लेखिरहँदाको लेखन प्रक्रियाको पेरिफेरिमा अझ बढी फोकस भएर प्रश्न गरेको छु, होला।

प्रीय पाठक ! मैले तपाईलाई एकैछिन यहीनेर रोकेँ। खासमा मलाई केही भनिहाल्न मन लागेर आएको छ। त्यो के भने म कोही पत्रकार होइन न कुनै मिडियासँग आबद्ध मानिस नै। म पाठक हुँ। फगत पाठक। अझ खुलेर भन्न खोजेको कुरा के हो भन्देखिन मलाई साहित्यिक चेतको ज्ञात भएको अवस्थादेखि नै म निरन्तर पत्रिकामा/मिडियामा प्रकाशीत/प्रसारित हुने लेखकसँगको अन्तर्वार्ता पढ्दै, सुन्दै, हेर्दै आइरहेँ। भनिरहन पर्दैन कि ति धेरै जसो अन्तर्वार्ता एउटा पत्रकारले लिएका हुन्, हुने गर्छन्। किन लेखकसँग एउटा पत्रकार मात्र प्रश्न गर्छ होला ? अथवा किन कुनै मिडियामा आबद्ध मानिस मात्र एकतर्फी लेखकलाई प्रश्न गरिरहन्छ होला ? मलाई सुरुवाती अवस्थादेखि यस कुराले सताउँदै आइरह्यो। तर, मैले भने यसलाई पूर्णतया ईन्कार गर्दै आएँ। त्यस कुराले मलाई सताउँदै आउने तर मैले भने त्यसलाई ईन्कार गर्दै आउने यो जुन क्रमबद्धता छ, यो कसरी विकसित हुँदै आयो होला ? म गम्भीरता पूर्वक घोत्लिएको छु, घोत्लिनुपर्ने सकस आइपरेको छ। हुनसक्छ मलाई लाग्दै आयो होला, एउटा पाठकले लेखकलाई मेसेन्जरमा, मेलमा, पत्रमा, कार्यक्रममा वा पुस्तक समीक्षामा मात्र प्रश्न गर्न पाउने पांबन्दी छ। तर, झयाप्पै अन्तर्वार्ता नै लिइहाल्ने परिपाटी छैन होला। अथवा यस्तो चलन चलेको छैन होला। अथवा यो गौण कुरा हो, नगन्य कुरा हो, महत्वहीन कुरा हो। मलाई ठ्याक्कै थाहा छैन कसरी विकसित हुँदै आयो ? तर माथि उल्लेखित कारणहरुमध्ये पक्का हुनसक्छ।

कुनै कुरालाई मानिस ईन्कार गर्न सक्छ तर गरिरहन सक्दैन। कुनै बिन्दूमा गएर आत्मसात गर्नैपर्ने हुन्छ। ठिक त्यस्तै मैले त्यस कुरालाई पूर्णतया आत्मसात गरेँ। अब एउटा पाठकले लेखकलाई प्रश्न गर्नुपर्छ भन्ने संकल्प संगालेँ। किनभने पत्रकारले आजसम्म जति हजार प्रश्न लेखकलाई सोधे पनि पाठकलाई कुनै प्रश्न सोध्न छुटे जस्तो लागिरहने गर्छ। एउटा मात्र प्रश्न भए त आफूलाई मनाउन सकिन्थ्यो तर छुटेका प्रश्नहरु यतिधेरै छन् कि ति अन्तर्वार्ता मार्फत् प्रश्न नगरेसम्म हुँदैन। त्यसैले मलाई जुनजुन प्रश्न सोध्न छुटे जस्तो लागेको छ, मैले एउटा पाठकको रुपमा अन्तर्वार्ता मार्फत् प्रश्न गरेको छु। यद्यपि मैले यस अन्तर्वार्तामा आफ्ना सबै प्रश्न सोधेर सकेँ भन्ने होइन। ति समयक्रममा विभिन्न लेखकसँग सोधिदै जानेछन्। अर्को कुरा, अरु पाठकले पनि यसरी लेखकसँग अन्तर्वार्ता लिनैपर्छ भन्ने आशय मेरो कदमकदाचित होइन। (म घमण्डी त सुनिएन, पढिएन, लागिएन!) तर सकभर अन्तर्वार्ता लिएँ, पठन संस्कृति झन् विराट भएर जाने छ भन्नेमा भने म पूर्णतया विश्वस्त छु।

प्रीय पाठक ! एउटा कुरा भनिहालु। मलाई थाहा छैन यो अन्तर्वार्ता छापिन्छ वा छापिदैन। किनभने म पाठक हुँ। फगत पाठक।
 
मैले लिएको अन्तर्वार्ता यसप्रकार छ।

८) तपाईंलाई किन लाग्दै लाग्दैन, यो किताब थोरै मात्र पाठकको हातमा पुग्छ भनेर ?

विज्ञान, धन्यवाद प्रश्नका लागि। सोधिएका सबै प्रश्नका उत्तर मैले भोगेको एवम् भेटेको छु। अन्तिम प्रश्नले भने मलाई ट्रापमा पार्‍यो। त्यसैले अप्ठयारोतिरबाट सजिलोतिर जान्छु। अर्थात् म प्रश्न आठको उत्तरबाट सुरु गर्छु, है।

यस प्रश्नको उत्तरका लागि खासमा मैले मिन्झारी किन लेख्न सुरु गरेँ भन्नेबारे भन्छु। टिकापुर घटना जति पुरानो हुँदै जानेछ। त्यसले थारुलाई बढी दोषी बनाउँदै जानेछ। हामी लगभग पूर्वीय दर्शन सुनेर, पढेर आएका मान्छे हौं। हामी यस जन्मको कर्मको फल, पछिल्लो जन्ममा पाउने आश गर्छाैं भने टिकापुर घटना कुन बेलाको कर्म हो र यसले फल २०७२ मा कसरी पायो ? अघि थारु बढी दोषी देखिन्छन्, भन्नुको कारण २०७२ अगाडि भएका सब कुराहरु मान्छे बिर्सिदै जानेछन्। आफ्नो गल्ती बिर्सिएर जाने र अर्काको गल्ती सम्झिएर जाने मानसिकताले आन्तरिक कलहको सृजना गर्दछ। त्यसैले केही पहिलाका घटना र दृश्य सबैले सम्झिरहुन भनी यो किताब लेखिएको हो। अचेलको राजनैतिक माहोल देख्दा लाग्छ, हिजो सम्झेर भोली सुधार्न खोज्ने कोही छैन। त्यसैले यो किताब धेरै पढिने किताब नै होइन। धेरै बिक्नका लागि धेरै विचारसँग कम्परमाईज गर्नुपर्छ। धेरै पढेको, बिकेको किताब बच्चाले पनि पढेको हुन्छ। वृद्धले पनि पढेको हुन्छ। वयस्कले त पढ्ने नै भइहाल्यो। मिन्झारी यति धेरै विचारसँग कम्परमाईज गर्दैन। म त के भन्छु भने मिन्झारी कोही बच्चाले नपढोस्। पहाडी होस वा थारु बच्चा, कसैले पनि नपढोस्। मलाई डर छ यदि कुनै बच्चाले यो किताब पढेर एकआपसमा वैरभाव सुरु गर्‍यो भने ? पहिले किताब नछाप्ने मन हुनुको कारण यो पनि एक थियो। त्यसैले मलाई पहिले देखि नै लाग्दै आएको थियो यसका पाठक कम नै हुने छन्। यो थोरै मात्र पाठकका हातमा पुग्ने छ भनेर।

७) तपाईंको विचारमा कुनै पनि सर्जकले पाठकलाई नभन्नुपर्ने तर आफूलाई भन्नुपर्ने अथवा आफूलाई नभन्नुपर्ने तर पाठकलाई भन्नुपर्ने कुरा के हो जस्तो लाग्छ ?

मिन्झारी सिङ्गो किताब नै कुनै पनि लेखकलाई आफ्नो पाठकलाई भन्न नपरोस जस्तो लाग्छ। यतिका बिम्ब भएको यस पृथ्वीमा समयले समय सँगै बदला लिएको वास्तवमै नराम्रो बिम्ब हो। म के आशा गर्न सक्छु भने कुनै पनि लेखकले अब यस्तो बिम्ब प्रयोग गरेर लेख्न नपरोस्। छ न त छन् मिन्झारीमा पाठकलाई भन्नुपर्ने आफैलाई नभने पनि हुने केही कुरा। पश्चिमका केही संस्कृति, रितिरिवाज जुन अन्त पैंचो लिदा पनि सुन्दर देखिने। बाँकी पढिसकेपछि थाहा हुने नै छ।

६) कुन लेखक अथवा पुस्तकका पात्र तपाईंको लेखन अवधिभर बारबार आइरहे ? तपाईं के भन्नु हुन्छ, कुरा कारणले बारबार आइरहे ?

मिन्झारी लेखिरहँदा सादत हसन मन्टो र मन्टोका पात्रहरु मेरो दिमागमा आइरहन्थे। आउनुको कारण के थियो भने कुनै यस्ता घटना छन्, जसलाई मलाई लेख्नै मन लाग्थेन। लुकाउन मन लाग्थ्यो। त्यही बेलामा मन्टोको कुनै पात्र समाजको खिल्ली उडाउँदै मेरो दिमागमा आउँथ्यो। र, लुकाउन खोजेको घटना म लेख्न बाध्य हुन्थे। सायद अग्रजलाई पढेर पाइने त्यही हिम्मत हो कि !

५) खासमा लेखन अवधिभर तपाईंलाई म यो किताब लेख्नै सक्दैन जस्तो किन लागेन ? 

सुरुमा म यिनै घटनाहरु उठाएर कथा लेखिरहेको थिएँ। एकदिन कुरै कुरामा कवि जोतारे धाईबा दाइले एउटै पलटमा यसरी कथा लेखिरहेका छौं किन उपन्यास नलेख्या भनेर भन्नुभयो। उहाँले मलाई जिस्काई रहनुभएको छ, जस्तो लाग्यो। तर, उहाँले सही सुझाव दिनुभएको थियो। घर फर्केर आफूले लेखिसकेका कथाहरु हेरे। सबैको ब्यागग्राउन्ड (पृष्ठभूमी) एउटै छ। र, मेरा भिन्नभिन्न कथाका पात्रहरु एउटै स्टेजमा र्यामवाक गरिरहेका पाएँ। मैले तिनिहरुको परिचय दिएको मात्र के थिएँ डेड सय पाना पुगिहाल्यो। त्यसबेला लागेको थियो उपन्यास त लेखिहालिन्छ नि। आधा पाण्डुलिपि थन्काएर म अरु पात्र खोज्न हिँडेँ।

कैलाली पूर्वका धेरै थारु गाँउ धाँए। त्यहाँ गएपछि उही पुराना पात्र मात्र भेटिए। नयाँ, फरक पात्र नै भेटिएनन्। जहाँ गएर मेरा पात्र अलमलिएका थिए, ठिक त्यसै ठाँउमा म पुगेका गाँउका मानिसहरु अलमलिएका थिए। जति म घुम्न थाले उति डराउन थाले। कतै नयाँ पात्र नै भेटाउदैन कि सोचेर।

ति गाँउमा पात्र त नयाँ भेटिएनन् तर पात्रले आफ्ना अरु कथा भने भन्न थाले। कति कथा त मैले पुरै सुन्न पनि सकिनँ। बडो अव्यवाहारिक मानिस भएर म ति थारु गाँउबाट निक्लिए। लेख्दिनँ उपन्यास, भन्दै र उपन्यास लेख्न सकिन्न पनि भन्दै।

यसरी केही दिन बित्यो। तर, यसरी सधै दिन कहाँ बित्छ र ! म फेरि नयाँ थारु गाँउहरु धाउन थालेँ। मानिसहरु आफ्नो काममा व्यस्त हुन्थे। जब मानिसहरु आफ्नो काममा व्यस्त हुन्थे र मेरो उनीहरुसँग संवाद हुन पाउँदैनथ्यो। त्यो समयमा म आँप, अम्बा, किम्बुको बोट मुनि डोरे खाटमा पल्टिएर निदाउथेँ। दिउँसो निदाएको हरेक साँझमा लाग्यो म उपन्यास लेख्न सक्दिँन।

४) किताब तयार हुने अवधिभर तपाईंले कुन वस्तुलाई वा कुन कुरालाई कत्तिपनि सम्झिनु भएन ? आखिर उक्त वस्तु वा कुरालाई किन अलिकति पनि सम्झिनु भएन ? विचलित हुने भयले ? कि नोस्टाल्जीया हुने सशंयले ?

किताब लेखन अवधिभर मैले सम्झिँन नचाहेका कुरा धेरै छन्। ति मध्ये एक थियो, टिकापुर घटना। त्यो घटना सम्झियो भने म पहाडी समुदायको भएको हुनाले कतै म पहाडीयाको पक्षतिर पो ढल्किन्छु कि भन्ने खुब डर थियो। त्यसैले लेखिरहेको अवधिभर मैले टिकापुर घटनाको बारेमा न कसैसँग कुरा गरेँ न कुनै आलेख पढेँ न कुनै भिडियो नै हेरेँ। यदि कसैले कुरा गर्न खोजे म तक्षण अन्त मोडिदिन्थेँ। त्यो वास्तवमै गाह्रो काम थियो। जुन विषयमा लेख्नु छ त्यै विषयलाई लिएर पूर्णतया मौन बस्नु। जे जति सुन्नुपर्ने थियो, जे जति पढ्नुपर्ने थियो, त्यो सब मैले पहिला नै गरेँ। लेखिरहँदा मैले गरेको भनेको टिकापुर वरिपरिका गाँउ घुम्ने। मान्छेका पुराना कुरा सुन्ने। अहिलेका कुरा सुन्ने। 

३) पाण्डुलिपिमा काम गरिरहँदा अगाडि टेबलमा ठडिएको मैनबत्ति कतिपटक पग्लियो ? कतिपटक तपाईंले त्यसलाई बाल्नुभयो ? अथवा तपाईं र मैनबत्ति पग्लिने प्रहर एकैपटक भएको थियो ? थियो भने त्यो प्रहरमा तपाईंले मैनबत्ति फेरि बाल्ने चेष्ठा गर्नुभयो ? अथवा त्यै प्रहरमा आफूलाई पग्लिरहन दिनुभयो ?

खासमा मैनबत्ती बलेको भन्दा पनि त्यसबेला म बलेको थिएँ। जब म मिन्झारीलाई अन्तिम रुपरेखा दिँदै थिएँ, त्यो बेला कालिकोटमा हिँउ पर्‍यो। त्यसकारणले विद्युत थिएन। हरेक बेलुका ६ देखि ८ बजेसम्म मात्र लाईन आउने गर्थ्यो। त्यही मौका छोप्ने गर्थे, म। त्यो दुई घण्टा ल्यापटप चार्जमा जोडेर काम गर्थेँ। बाँकी दुई घण्टा ल्यापटपको ब्याट्री टिक्थ्यो। बत्ति निभेको दुई घण्टापछि मैनबत्ती बल्ने गर्थ्येँ। आज सम्झिँदा अहो त्यस्तो भइरहेको थियो है लेखिरहँदा जस्तो लाग्छ। तर, त्यसबेला यो कुराको पत्तो पाइएन। यदि मैले त्यसबेलामा यो सोचेको भए सायद म तनाव लिएर मिन्झारी लेख्न सक्थेन होला।

फेरि मैनबत्ती बाल्नु भनेको आगो साक्षी राख्नु पनि त हो। मिन्झारीको रुपरेखा आगो साक्षी राखेर गरेको हुँ। कहिले आफ्नो पात्रको माया लागेर होस वा ऊ माथि रिस उठेर होस् वा दया लागेर होस्। जब म बलिरहेको मैनबत्ती हेर्थेँ साँच्चै त्यो पात्रले मैनबत्तीको आगोको लप्काबाट आफ्नो कुरा राखेझैं लाग्थ्यो। (त्यसैले मेरा नजिकका साथीहरुसँग जिस्किएर भन्ने गर्छु मेरो कथाको पात्र बन्न त अग्नि परिक्षा पास गरेर आउनु पर्छ।)

हो, जब तिनीहरु बत्तिबाट बोल्थे, खै किन–किन मलाई उनीहरु सत्य बोलिरहेका छन्, जस्तो लाग्थ्यो। उनीहरुलाई हेर्दाहेर्दै मैनबत्ती सकिन्थ्यो। उनिहरु अलप हुन्थे। कहिले ब्याट्री सकिन्थ्यो अनि मैनबत्तीमा उनीहरुलाई खोज्थे। साँच्चै भनौ, पहिला टेडे वियरलाई कुनै पनि हालतमा सुन्दर देख्थेन। जब मेरो मैनबत्तीसँग संगत भयो लाग्यो मानिस श्रर्वश्रेष्ठ प्राणी केही यस्ता विशेषताले बनेको हुनुपर्छ। उसले चाह्यो भने ऊ टेडे वियर होस् वा मैनबत्ती जे सुकैसँग पनि संगत गर्न सक्छ। तर, मिन्झारी आफै मान्छे–मान्छे विरुद्धको कथा हो। मैनबत्ती बालेर काम गरिरहेको फोटो यही भएर मैले फेसबुकमा राखेको हुँ।

२) यो किताबमा, लेखिसकेर पनि विभिन्न कारणले समावेश नगरिएका अथवा फालिएका ती अनगिन्ति पानाहरु, कथाका अनेक पलटहरु, पात्रहरु, शब्दहरु, अक्षरहरुप्रति तपाईंको गुनासो अथवा आक्रोश अथवा आशा अथवा सम्बोधन के हो, के हुनेछ ?

सुरुमै एउटा कुरा भनौं। मिन्झारी जस्तो अर्को मिन्झारी यसबाट अलग्याएको छु। यसका विविध कारण छन्। कुनै पलट कथा बनेर बजारमा आई पनि सके। कुनै पलट, पात्रलाई भने मैले सम्झाई सके कुन–कुन कारणले तिमीहरु बाहिर आउँदैनौ भनेर। अब रह्यो जुन पलट, पात्र मेरो दिमाग वरिपरि घुमिरहेका छन्, तिनीहरुको कुरा, हेरौं तिनीहरुको पनि उपयुक्त स्थान कहाँ भेटिन्छ। यदि उचित स्थान भेटिए कथा, उपन्यास आदि जुन सुकै विधा मार्फत् पनि म बजारमा पठाउने छु।

१) यो किताबमा, भाषाशैलीको हकमा अथवा कथा वाचनको हकमा अथवा पात्रको विविधताको हकमा अथवा सहकथाहरु बुन्ने हकमा, तपाईंले गर्न खोजेको तर गर्न असफल भएको प्रयोग के हो ?

म उपन्यास हाइजेनबर्ग अनिश्चितता सिद्धान्तको विरुद्धमा बसेर लेख्न चाहन्थे। जसले के भन्छ भने, स्थिति र गति या दुवै एकै समयमा मापन गर्न सकिँदैन। तर, त्यो गर्न सकिनँ कि जस्तो लाग्छ।

यो किताब लेखिसक्दा लाग्यो यदि मान्छेलाई ईलेक्ट्रोन मान्ने हो भने हाइजेनबर्ग अनिश्चितता सिद्धान्त हामीमा पनि लागू हुन्छ। सानो उदाहरण लिउँ। आज सुर्खेतमा सबैलाई तिम्रो पोजिसन थाँहा छ। तर, तिमी कुन गतिमा लेखिरहेका छौं, भेलोसिटी थाहा छैन। यदि तिनीहरुले तिम्रो लेखनको गति यो हो भने भने तिम्रो पोजिसन चाहिँ कुन ? खत्रा लेखक कि नव लेखक कि अझ आहुतिको नजरमा त लेख्न रहर गर्ने केटो होला !

त्यसैले किताबमा पात्रहरुको भेलोसिटी देखाइरहँदा उनिहरुको पोजिसन देखाउन सकिँन जस्तो लाग्छ। कहीकतै उनिहरुको पोजिसन देखाइरहँदा उनिहरुको भेलोसिटी देखाँउन सकिँन कि जस्तो लाग्छ।

प्रकाशित मिति: : 2023-02-04 20:30:00

प्रतिकृया दिनुहोस्