कथा

अयोध्या एक्सप्रेस

Breaknlinks
Breaknlinks

१.पूर्वकथा

रामनाथ कवाडी- नमस्कार !

झोलेराम- राम ! राम !! ( सम्बोधनमै यति उच्च भक्तिगान, भक्तिको अतुलनीय नमूना हो।)

रामनाथ कवाडी- के छ हजुर हालखबर ?

झोलेराम- राम जी'को कृपाले सब ठिकठाक छ! राम जी'को कृपाले तपाईंको पो के छ खबरखाबर ?

रामनाथ कवाडी- आफ्नो त लंका जलिराछ,  बिल्लिबाठ छ हजुर...गर्लफ्रेन्डले पनि छोड्यो। बे हुने छाटकाट नि छैन...

झोलेराम-देख्नु भो ! रामभक्त नहुँदा तपाई कसरी सत्यानाश हुनुभयो ? अब खुरूक्क माडीमा मन्दिर बनाउन मन लगाउनुस् ! नत्र 'जिन्दगी अझै झण्ड बा फिर भि घमण्ड बा' होला होश रहोस्।

२.कथावाचन

क.कथावाचकको स्विकारोक्ती

संसार भक्ति र भगवानको उपज भएको हुदाँ जति पनि भगवानका निन्दक छन्। तीनलाई भगवानले जीवित छदै पाईला पाईलामा नरकको ढोका खोलिदिनु हुन्छ। आधुनिक मानव यमराजको भयबाट नियन्त्रित हुन घाडो हुँदै गएको यथार्थ तपाई/हामी सामु/माझ/छेऊमा छदैँछ। त्यसैले भगवानले आफ्नो सिस्टममा पनि 'जीवित छदै नर्क साक्षात्कार गराउने' लेटेस्ट अपडेट गर्नुभएको छ। 

'ज्ञात होस् पशुयोनीको एकदम घटिया किसिमको दुष्मानव ! मनभरि दुष्ट बिचार, पाप बोकेर हिड्ने तँहरू अब जे-जे कर्म 'गर्नुहुन्छ'। त्यसको फल यही भवसागरमा भोग्न तया भएस।' भगवानले मेरो सपनामा आएर भन्नुभयो। (कथा भन्नु अघि नै कथावाचक यसरी गमक्क पर्‍यो। गलाको गलबन्दी गर्धनतिर गिराउदै थप थप्यो--)

पूर्वकथामा तपाईले देखिहाल्नु भयो। रामनाथ कवाडी जस्तो अभक्त मनुष्य कसरी सत्यानाश भयो ?! यसलाई तपाई राम जी'को कृपाले भयो भन्न सक्नुहुन्छ। यति भनिसकेपछि हजुरहरू समस्त सज्जन महानुभावलाई प्रकाश पारिदिऊ कि-'सत्यानाश पारेर सखाप पार्ने' भगवान श्रेष्ठ श्रीरामको ईच्छा कदापी/बिल्कुल/कुनै दिन थिएन।बाटो भड्किएर नरक खोज्दै हिँडेको त्यस निम्नकोटीको मानवलाई भगवानको ज्योतिर्मय बाटोमा ल्याउन हो भगवानले सबक सिकाउनु भएको! धरोधर्म ठ्याक्कै त्यही भएर हो भगवान श्रेष्ठ श्रीरामले रामनाथको हालत हराम बनाउनु भएको।( आफ्नै घाँटी बुढी औँला र चोर औँलाले अठ्याउदै बिनम्र भयो )र  भगवान श्रेष्ठ श्रीराम हिजो मेरो स्वप्नमा आउनु भएर यति भन्नु भएकोले पूर्ण बिश्वस्त हुनुस्।' ( उसले समस्त श्रोतागणको/पाठकगणको दृश्य/अदृश्य अनुहार हेर्‍यो !)

ख.अब कथा बिस्तारमा

पृथ्वी लोकको एकदम श्वेत र शुद्ध किसिमको दुग्धले स्नान गरेको भक्त झोलेरामले रामनाथ कवाडीको खत्तमावश्था देखेर भक्तिमार्गमा लाग्न प्रेरित गरेको तथ्य त जगजाहेर नै छ...

PAUSE--( प्रिय पाठक, 'जगजाहेर' लाग्दैन भने पूर्वकथा खण्ड पढ्नुस। कथावाचनको बिचमा छिरेर ध्यानभंग गरेकोमा माफी चाहान्छु। कथाक्रमको लागि ब्राकेटभित्रको शब्द-जालमा नफस्नु हुन अग्रिम-अनुरोध छ।-लेखक)

-RESUME-- तर त्यो रामनाथ कवाडी पशुयोनीको एकदम घटिया किसिमको दुष्मानव भएकोले आफ्नै ढिपि समातेर बसिरह्यो। बस्न पनि चैन/आरामले के सक्थ्यो र ?! उसको बिनाशकारी बुद्धि/दिमागमा उपियाँ प्रकारको दुष्ट चेतना सलबलाईरहेको थियो।  त्यसउसले पनि  चुपचाप, शान्त, मौन या यस्तै केही किसिमले बस्न सकेन। भक्तिमार्गमा लाग ! नेपालकै गौरवको अयोध्यापुरीमा मन्दिर बन्दैछ। त्यही निर्माणमा जुट भनेको ! तर त्यो त जोडजुलुम गरेर रामायण नपढि नछाड्ने सनकमा पो उत्र्यो। जसको साक्षी म स्वयम हुनु पर्यो।

मेरो दुर्भाग्य ! त्यो 'कवाडी' जस्तो पतित मान्छेले रामायण जस्तो पवित्र ग्रन्थ पढेको साक्षी हुनु पर्यो। हेर्नुस त आफ्नै भाग्यलाई दुत्कार्नु परेको...असल किसिमको मानव भएको भएँ। रामायण पाठ गरेर वाल्मिकि बन्थ्यो। तर त्यो हदै किसिमको तुच्छ मानव भएकोले झन झन रत्नाकर हुँदै गयो। यो मेरै भाग्यको दोष हो।त्यस्ता पतित पाठकको पठन साक्षी हुन पुगेँ।

'मामुली किसिमको राम भन्ने मान्छेलाई पुच्छरबिहिन हनुमानले स्वाहा पारेछन्।' पढिसकेपछि त्यो स्वाठ त यसो पो भन्छ। ल भन्नुस नैतिकता, धर्म/अधर्मको हेक्का हुने कुनै मनुष्यले रामायणको यसरी निन्दा गर्छ त ? गर्दैन नि। के भन्नु हजुर त्यो जन्मजात दुष्ट प्रकृतिको असुर भएर जन्मियो...(-PAUSE-)

ग. जन्मकथा

( प्रिय 'पवित्र/पतित' पाठक,
पृथ्वीमा हामी जति छौ। जन्मबाट आएका हौ। भविष्यमा जति आउनेछन। ति पनि अनेक प्रकारका जन्मबाटै आउनेछन्।जन्मकारी हरेकका मौलिक कथा/किवंदन्ती /मिथक हुन्छन। यो कथाको पात्रहरू चै कसरी अछुत रहन सक्छ र यस तथ्यबाट ? पात्रको जन्मकथा नभनेर म किन पात्रमाथी शोषण गरूँ, दुर्ब्यवहार गरू ? पात्रको जन्मकथा नलेख्नु पाठक अधिकारमाथी झरपकड गर्नु पनि हो। जसको बर्खिलापमा छु।त्यसैले जन्मकथा राख्ने यस कथाको कथाकारको निधो/निष्कर्ष छ। 

जन्मसँग सम्बन्धित यो कथा कथावाचकसँग प्रत्यक्ष भेटेर रेकर्ड गरिएको थियो। यहाँ उनकै शब्दमा हुबहु राखेको छु।कथावाचकको कथावाचन जारी छ। बिचमा यो जन्मकथा उपशिर्षक घुसाएँ। पक्कै असहजता जागृत भएको हुनुपर्छ। असहजताको चपेटामा नपर्न, कथावाचकको कथासँग एकाकार हुन बिना कुनै थप शब्द-जालमा नपरि डबल कोष्ठकको कथापछि पठन गर्नुहोला- लेखक )

(( हामी दुई एकैदिन, एकैसमय, एकै घडी, एकै नक्षत्रमा दुई माताहरूको असिम छटपटाहटपछि जन्मिएका थियौँ। तर त्यो रामनाथ कवाडी यो क्षेत्रकै डरमर्दो, भेलबाढी बग्दै आउने, अधिकतर मानवले नरूचाउने नदिमा जन्मियो। त्यसैले होला त्यो मान्छे पनि त्यो स्थान झै खेदजनक, निरस/उदास, कहाली लाग्दो छ। 

म चै यो नगर क्षेत्रकै अति सुन्दर पोखरीमा जन्मिएको थिएँ।भनिन्छ त्यहाँ म जन्मिनु अघि धनुषाकार शिला थियो। पछि यस क्षेत्रकै मान्यगणको निष्कर्षअनुशार त्यो रामकै धनुष स्वरूप भएको बिश्वास गरियो। जहाँ अहिले लगभग ठूलै किसिमको तर निकै पवित्र राम मन्दिर बनिसकेको छ। हेर्नुस जन्म समय एउटै भए पनि। हामी सिक्काका दुई पाटा झै, दिन-रात झै, आकाश-जमिन झै या यस्तै यस्तै अरू केही झै फरक छौँ। मलाई लाग्छ मान्छे कस्तो हुनेछ निर्क्योल गर्न जन्मस्थानको असिमको महत्व हुन्छ।अहिलेका तथाकथित बिद्धानहरू यो सत्य स्विकार्न खोज्दैनन्।अनेक उदाहरण प्रस्तुत गर्छन। तर हेर्नुस प्रिय पाठकहरू, बिश्वका पुजनीय जति सबै एशिया भूमिकै छन्। के यो संयोग मात्र हो ? के जिजस क्राईस्ट जेरूसेलमका हैन ? पैगम्बर मोहम्मद मक्काका हैनन् ? भगवान कृष्ण भारतका हैनन् ? गुरूनानक भारतका हैनन् ? ओशो भारतका हैनन् ? गौतम बुद्ध नेपालका हैनन् ? लाओत्से चिनका हैनन् ? 

अत: मान्छेको जन्मसँग स्थानले अति अर्थ राख्छ। तर हेर्नुस हाम्रो दुख्ख त्यो रामनाथ कवाडी जस्तो नालायक अपवाद पनि यही स्थानमा उत्पति भयो, जन्मियो। ))

(-RESUME-)

अब तपाईको धार्मिक चेतले-जन्मिदा त सब असुर हुन्छन, शुद्र हुन्छन भन्नुहोला ! 'जन्मना जायते शूद्र कर्मणाद्विज उच्यते' भन्ने संस्कृत श्लोक पनि सम्झाउनु होला। त्यसरी धार्मिक ग्रन्थको अपव्याख्या नगर्नुस हजुर। के मैले चै ति ग्रन्थ नपढि यो कथावाचन गर्ने जिम्मा पाए होला र ? हैन हजुर ! पढेरै हो यो अवसरले आभुषित भएको।

के हाम्रो धर्मग्रन्थमा 'पूर्व जन्ममा अच्छा भक्ति गर्नेको जन्म धनधान्य परिवारमा हुन्छ। धनीकुलको स्त्रीसँग बिवाहबन्धन हुन्छ भनिएको छैन ?' छ नि।त्यसैले केही उत्कृष्ट प्रकारका मानवहरू जन्मिदै उच्च किसिमका हुन्छन्। यसमा रौँ बराबर संशय नगर्नुस्।

के हाम्रा पण्डा-पुरोहितहरू पूर्व/पश्चिम/उत्तर या दक्षिण जताबाट हेर्दा पनि साक्षात भगवानभन्दा कम देखिन्छन र ? देखिदैन नि।अब त बिश्वास गर्नु भयो नि केही मानव जन्मिदै असल प्रकारका हुन्छन्। अँ त, के भने रामनाथ कवाडी चै जन्मजात दुष्ट प्रकृतिको असुर मानव थियो।

त्यो पशुयोनीको एकदम घटिया किसिमको दुष्मानवले आफ्नो जन्मजात स्वभावको आडमा- 'हाम्रा धर्मग्रन्थहरूलाई ढोङ्गबाट मुक्त गरिदेऊ।' भन्न थाल्यो। होला केही ढोङ्ग त छन होला म नि मान्छु। के शशिमा दाग छैन र ? तर त्यो नरकगामीले त ' ति ग्रन्थमा उच्च दर्शन छ। सङ्गठित/सनातन धर्मबाट मुक्त गरिदेऊ।' पो भन्छ। त्यो पढेर पनि सड्नबाट बचेन। त्यो सँग त कुरा गर्नु पनि अधर्मै हुन्छ।त्यो मान्छे नै पापको अर्को नाम हो। तर त्यस्को निचकर्म बारे तपाई सज्जनलाई सुनाउनु भनेर मेरो मुल जिम्मेवारी भएकोले सुनाउछु नै।

जोन लेननको प्रसिद्ध गीत छ। Imagine there is No Country भन्ने। त्यसले त्यसकै सिको गरेर भन्न भ्यायो-'Imagine there is No Caste No Religion' ! जातव्यवस्था हाम्रो पहिचान हो। किनभने हाम्रो धर्मले यही भन्छ।हाम्रो धर्म र जात एकै सिक्काका दुईपाटा हुन। जो छुट्याउनै मिल्दैन। तर त्यो दुष्ट 'नो जात नो धर्म' भन्दै हाम्रो आस्थामा अपशब्द बोल्छ।

तपाई नै भन्नुस्, हाम्रो परापुर्खादेखि चल्दैआएको धर्मले त्यस्को के बिगार्यो  र धर्म चाहिदैन भन्नुपर्यो? केही बिगारेको छ त ? छैन नि। तर त्यो त No Caste No Religion पो भन्छ। ल बिदेशी धर्म चाहिदैन भनेको भएँ त ठिकै पनि हो। त्यो जति निच भए पनि अलि अलि आफ्नै माटोको धर्मप्रति भक्तवान रैछ भन्नुहुन्थ्यो। तर त्यसले त्यो भनेकै हैन।हाम्रो अविछिन्न परम्परामा त्यसले प्रहार चै गरेको हो। ल भन्नुस त त्यसरी प्रहार गर्नु हुन्छ त ? हुँदैन नि।

मैले त जसो तसो झेलेँ त्यसलाई। मति सुध्रिहाल्ला भनेर दुईचार महावाणी नि सुनाएँ।दुईचार दिन संगत नि दिऊ लाग्यो। संगत दिएँ पनि। तर त्यसको चेतना यो उदारता/महानता बुझ्ने गरि बिकाश नै भएको रहेनछ। मेरो महावाणीहरूलाई ' अरूले थोपरेको ज्ञान' अरे...'यस्ता मानवीय संवेदनाबिहिन कुरा नगर्नुस' अरे... 

हिजो त अचाक्ली भयो। सपनामा त्यही दुष्टलाई देखेँ...

घ.सपनाको कुरा

-पहिलो सपना

मधेसको कुहिरो झै तालमा कुनै आदिमानवले बनाएको पदचापमा एकातिर उ थियो। अर्कोतिर म थिएँ...

म- हेल्लो कवाडी भाई के छ ? 

कवाडी- के भन्नु काका ! म त हाम्रो धर्मग्रन्थका शब्दका किराले टोकेर उफ्रिराछु...तिनले कहिले देखि खुलेआम अपराधलाई प्रशय दिन थालेँ ? किन दिन थालेँ ? अपराधीले नै लेखेका हुन कि क्या हो केही श्लोकहरू त...??

( अपराध ! अपराधी !! त्यो स्वाठले धर्मग्रन्थमा के अपराध भेट्यो र ? मेरो रिस पनि बुरूक्क उठ्यो। मैले बस भनिन। आफ्नो रिसलाई थप उठाएँ...)

म- तँ तँ तँ दुष्ट होस्। नरकगामी नरपिशाच ! नेपालमा मात्र हो धर्म ? बिश्वभर छन् त। हिन्दु धर्मको यति निन्दा, भगवान श्रेष्ठ श्रीरामको यति निन्दा ! ( मैले रिसले आँखा देखिन। मैले सायद के अपराध छ ? सोध्नु पर्थ्यो। तर आफैलाई थोरै नमिल्दोको पुर्वजानकारी भएर हो वा त्यो दुष्टको निम्नकोटीको शब्दको ध्वनीले हो ? मैले आँखा देखिन। आँखा नदेखेरै थप चिच्याएँ--)

' धर्मले मान्छेलाई जोडेको छ। बिश्वभर उदाहरण हेर त ! बिश्वभर धार्मिक साम्राज्य विस्तार गर्ने, धार्मिक उपनिवेश कायम गर्नेहरू बारे चै चुईक्क नि बोल्दैनस ! घुमाईफिराई भगवान श्रेष्ठ श्रीरामको चै बिरोध गर्छस...तँ दुष्ट होस्। ई sss...तेरे चेतनालाई !! 

( ईss...भन्दा थोरै अश्लिल संकेत गरेथे। तर त्यस्ता निम्नकोटीको पशुयोनी मनुष्यले रिस उठाउदाँ कहाँ वेद पढेर बस्नु ! रिस उठ्यो... सपनामा रिसपूर्वक चिच्याउनुको प्रमुख बेफाईदा भनेको खाटबाट कतिबेला भुईँमा खस्नुहुन्छ अत्तो र पत्तो दुबै हुँदैन। )

भुईँबाट उठेँ। बिपनाको आँगनमा रामनाथ कवाडी उभिएको थियो। मेरो झोक त्यसलाई देखिपछि थप चलमलाउन थाल्यो।

 यतिकैमा त्यो कवाडी चिच्यायो- 'धार्मिक अतिवादीहरू नै हुन धार्मिक उपनिवेशको कारण काका. !:चाँहे ति ईसाई हुन सनातनी ...'

'के त्यो मुर्खले मैले देखेको सपना देखेको थियो ? ?' म एकछिन सोचमग्न हुन पुगेछु !

-दोस्रो सपना

मधेसको कुहिरो झै तालमा कुनै आदिमानवले बनाएको पदचापमा एकातिर उ थियो। अर्कोतिर म थिएँ...

कता हो कता कुनै अनोखाभूमिमा त्यो कवाडी जोडदारसँग हाँसिरहेको थियो। अब त भुईँमै पसारिएर हाँस्यो...अर्को हातले देखाईरहेको थियो। हेर हेर रामको टाउकोमा अपराधको कतिवटा टाउको झुन्डिएको छ...हेर हेर...

मैले हेरेँ ...हेरिनसक्नु। रामको टाउकोमा थप ५-७ वटा टाउको थिए। साक्षात रावण झै सहायक टाउको बोकेर खडा हुनुहुन्थ्यो राम भगवान। डरले पाताल भास्सिएला झै हुदै थियो। डरै डरमा नियालेर सहायक टाउको हेरेँ। ति टाउका बाली, सिता, शम्बुक, सुवर्णाखा...को थियो। म अवचेतनमै चिच्याएछु...'तँ तँ तँ राम हैन रावण होस्...'

( सपनामा रिसपूर्वक चिच्याउनुको प्रमुख बेफाईदा भनेको खाटबाट कतिबेला भुईँमा खस्नुहुन्छ अत्तो र पत्तो दुबै हुँदैन।यसपाली पनि यही भयो। )

भुईँबाट उठेँ। बिपनाको आँगनमा रामनाथ कवाडी उभिएको थियो। मेरो झोक त्यसलाई देखिपछि थप चल्दै थियो।

त्यसले भन्यो-'देख्नु भयो रामले छिनालेको कतिवटा टाउको रहेछ...??'

'के त्यो मुर्खले पनि मैले देखेको सपना देखेको थियो ? ?' म एकछिन सोचमग्न हुन पुगेछु !

ङ.बिपना कतिपय

म त त्यस्ता पाखण्डीलाई झेलिराथे। सपनामा पनि बिपनामा पनि ! तर सच्चा धर्मको रक्षकले यो कसरी सहन सक्छ र ? सारा पृथ्वी र धर्मको रक्षा गर्ने उत्तराधिकारीहरू उनीहरू मात्र थिए...उनीहरूले धर्म, संस्कृति, परम्परा जोगाउन त्यो रामनाथ कवाडीलाई बलियो किसिमले मर्मत गरेर कुनै कवाडखाना नजिकै व्यवस्थित गरिदिए। मर्मतको असर स्वरूप उसको शरिर केही लथालिङ्ग भएको थियो। मलाई लाग्छ त्यो त सामान्य हो। एकदम नगन्य किसिमको दण्ड हो त्यो।

म भा भएँ- लातले हानिसकेर बोरामा हालेर गंगामा फ्याकिदिन्थेँ। त्यस्ता अधर्मीलाई त्यति सजिलै मोक्ष दिन मन भएर त हैन। तर त्यस्ता सडेका आलुले आलु मात्र हैन बोरा नै कुहाईदिन बेर छैन। किन अबेर गर्नु ? गंगामा बगाईदिई हालुम भनेर चै हो...

एउटा लफडा/घाँडो नै साफ हुन्छ !

त्यसरी ५/७ लात हानेर छाड्नुको कारण ति धर्म र पृथ्वीको रक्षकमा दया पलाएर होला। आखिर भगवानका उत्तराधिकारी हुन्। बिवेकले काम गरे पो कि, दयामाया भन्ने जिनिस पोलिखाएनन् होला। म जस्ता कहाँ हुँदा हुन र ? ति साक्षात भगवानका उत्तराधिकारी पो हुन त !

त्यो रामनाथ दुष्ट छ भन्दैमा संसार नै कहाँ दुष्ट छ र ? यसरी सकारात्मक तवरले पनि हेर्न सकिने रहेछन्। यसरी त ठिकै गरेका हुन्। तर मलाई लाग्छ त्यो धुन्धुकारीले त्यो महान दया के बुझ्थ्यो र ? बुझ्ने भए मैले त्यति सम्झाउदा बुझ्थ्यो नि। कस्तो कस्तो राक्षसी कुरा गर्छ !  तर त्यति सामान्य कुरा बुझ्दैन। मलाई लाग्छ त्यो असुरको दिमागमै सैतानको बास छ। जे होस्...अब चै अकल ठेगानमा आउछ कि ? 

३.कथाको अन्त्य 

त्यो बिनाशकारी बुद्धिको अलिकति पनि चेत फिरेन। 'लातो कि भूत बातो से नहि मान्ता' भन्थेँ। बात नि खायो लात पनि राम्रैसँग खायो। तर त्यसले 'मान्ता' टाईपको नतिजा ल्याएन। कुनै कुनै अबिबेकीहरूलाई त लातोको भूत आन्द्राभुँडी ननिकाली 'मान्तासान्ता' केही नहुने रहेछ। म उसको आन्द्राभुडीको प्रतिक्षामा थिएँ...प्रतिक्षामा समयको नदि निरन्तर बग्यो। तर उसको देह त्यो समयको नदिमा बग्दै आएन। न आन्द्रा आयो न भुडी आयो...बहुत दु:ख्ख लाग्यो !!

तर कुनै अशुभ दिन त्यो नरकगामी मनुखे चै सामुन्ने आईपुग्यो  । फेरि धर्मशास्त्रमाथी प्रश्न गर्यो। पण्डापुरोहित तिनको अनेक तिर्थ समान पवित्र कार्यलाई कर्मकाण्ड/ढोङ्ग भन्यो। मैले सुन्न सकिन त्यो पशुयोनीको दुष्वचन ! भन्नु पनि कति भन्नु ! सम्झाउनु पनि कति सम्झाउनु !! फेरि त्यो दिमागमै सैतान लिएर हिडेकोले होला अनेक उटपटय्याङ कुरा सोध्छ। आज त यस्ता कुबुद्धिसँग बोलेर आफ्नै बोलीवचन के दुषित पार्नु ठानेर नि बोल्ने जागर चलेन...

जादाँ जादै त्यो दुष्टले पनि भन्यो-'म पनि भक्त हुँ हजुरबुवा अन्धभक्त हैन !' त्यसले कहिले काका, कहिले दाई भन्छ। अहिले त हजुरबा भन्यो। म त्यति बुढो भईसके र ? जे गरोस् सम्बोधन म खासै वास्ता गर्दिन। यसैले कि एक त हामी सङ्गै जन्मिएता पनि म भक्तिमार्गतिर लागेँ र समयभन्दा १० बर्ष जवान/परिपक्व/जेठो भएँ।ईश्वरबाट यस्तो अनुग्रह त्यो जडचेत मनुष्यमा हुन सकेन। अर्को त त्यस्ता दुष्टको वचन-बोलीको के ठेगान र ? के ओज र ? तर त्यसले 'म पनि भक्त हुँ' भन्यो। के त्यो दुष्ट भक्त नै हो र ? 

यही सोचले चिमोटेर/घोचेर म सत्यानाश हुन थालिसकेँ। त्यो भक्त भए म चै को त ? होला भगवानको हृदय ठूलो छ। त्यसमा त्यो दुष्टको लागि पनि स्थान होला। तर म त्यसलाई असल भक्त हैन भन्छु...

( कथावाचन पुरा भयो।)

प्रिय 'पतित/पवित्र' पाठक,
हाम्रो भगवान फरक छ। भक्ति पनी फरक हुने होईजाने भयो ! कथा त खल्लास भयो, दि ईण्ड भयो, सखाप भयो। कथावाचकले छाडेको प्रश्नको जवाफ खोज्नु अब तपाईको कर्तव्य/दायित्त्व/जिम्मेवारी भएन र ?

साच्चै त्यस्तो 'अराजक/पतित' मान्छे कहि/कतैबाट पनि भक्त कहलिन योग्य छ त ?-लेखक

प्रकाशित मिति: : 2021-06-05 10:16:00

प्रतिकृया दिनुहोस्