प्रकृति–मैत्री विकास नहुँदाको परिणाम

अहिले हामी कोरोना महामारीबाट विश्वब्यापी रूपमा आक्रान्त छौं। यो भाइरस किन र कसरी आयो खोज अनुसन्धानको ठूलो विषय छ। तर मानिस स्वयं प्रकृतिकै उपज भएकाले प्रकृतिका अधिशासित नियमलाई बुझ्ने र तिनको पालना गर्ने कुरा नै प्रकृतिमाथिको विजय हो भन्ने कुरालाई मनन नगर्दा यस्ता अनेक महाब्याधी र भयंकर प्रलयकारी समस्याहरु उत्पन्न हुने गरेका छन्।

किनकि, विकास र प्रगतिको नामा नाफाका लागि प्रकृतिमाथि छेडछाड गर्ने प्रकृतिका नियम बिपरीत यसलाई जथाभावी दोहन गर्ने अनि त्यसैलाई विजय मानेर खोक्रो हुँकार गर्ने पबृत्तिले प्रकृतिलाई रौद्ररुप लिन बाध्य पार्ने र त्यसले भयंकर डरलाग्दा रोगब्याधी ल्याउने, बाढी पहिरो आउने, सुख्खा खडेरी लाग्ने, अनाबृष्टि अल्प बृष्टि हुने बिनशलिला मच्चिने कुरा पटक पटक हुनेगरेको छ।

विश्वमा आएका यस्ता महामारी रोगहरु र बिनाशलिलाका अनेक दृष्टान्त छन्। अहिलेको कोरोना भाइरस (कोभिड-१९) पनि त्यस्तै प्रकृतिको विनाशकारी भाइरस हो जसले लाखौंलाई संक्रमित तुलाएको छ र दुई लाख भन्दा बढीको ज्यान लिइसकेको छ भने लाखौलाई बिमारी तुल्याइरहेको छ ।

आज विश्वका मौसमबिज्ञ तथा पर्यावरणबिद्हरुले के चेतावनी दिइरहेका छन् भने विश्वमा ऋतु चक्र तथा जलवायुमा लगातार परिवर्तन आइरहेको छ। परिणामतः पृथ्वीको आर्कटिक क्षेत्रमा पाइने ध्रुबीय सेता भालुहरुका सामुमा जीवन–मरणको स्थिति उत्पन्न भइसकेको छ। किनकि, जमेको बरफ मुनि पाइने सील माछाका रुपमा त्यसले पाउने आहारा हिमखण्ड पग्लिन जाँदा निरन्तर कमी हुँदै गएको छ। बेलायतको लण्डन जस्ता शहरहरुमा अब गर्मीको दिन आगो नै बर्से जस्तो हुन थालेको छ भने क्यालिफोर्नियामा भीषण खडेरीको स्थिति उत्पन्न हुने गरेको उनीहरुले औंल्याउने गरेका छन्।

सामान्य बुद्धिले यही उत्तर दिन्छ कि, मानिस र प्रकृति बीचको साहचर्य समाप्त भइसकेको या भइरहेको कारण यसो भएको हो। पहिला मानिसले प्रकृतिसँग त्यति नै लिन्थ्यो जति उसलाई आवश्यक थियो। तर अहिलेको मानव समाज पहिलाको भन्दा प्रकृतिमाथि बढी आक्रामक र ह्रिंसक बनेको छ।

मानिसले बैज्ञानिक खोजको माध्यमबाट जुन एक पछि अर्को उन्नत प्रविधिको विकास गर्दै गएको छ त्यसले गर्दा उसलाई प्रकृतिमाथि बिजय गर्न सकिन्छ भन्ने लागिरहेको छ र प्रकृतिसँग आफूले चाहेको जस्तो ब्यवहार गर्न सकिने ठानिरहेको छ। यस्तो मनोविकारका उदाहरणहरु जीवनमा यत्रतत्र देख्न पाइन्छ।

पुरानो समयमा कुनै पनि बस्तुको मूल्य त्यसको दीर्घ जीविताबाट निर्धारित हुने गर्थ्यो । तर अहिले प्रत्येक दिन, प्रत्येक पल हामीलाई नयाँ बस्तु चाहिएको छ। ‘प्रयोग गर र फ्याँक’ नै आजको बस्तु र मानिसको बिचको सम्वन्ध भएको र मानिसको यो मूलमन्त्र बनेको छ।

यस प्रकारको लालचले गर्दा के महत्वपूर्ण तथ्यलाई बिर्सिएको छ भने प्रकृतिसँग जे जे कुरा छ त्यो असीमित र अशेष छैन। अर्को मानिसहरुको यस्तो समुदाय पनि बनेको छ जसले के मान्छ भने डराउनुपर्ने कुनै कारण छैन। किनभने कुनै एउटा साधन सकिन्छ भने त्यसको बिकल्पमा अर्को साधन तयार हुन बेर लाग्दैन।

 जस्तो कि कोइलाको भण्डार समाप्त भयो भने त्यसको बिकल्पमा  जैबिक ऊर्जा, सौर्य ऊर्जा तथा परमाणु ऊर्जाको कुरा भइरहेको छ। यद्यपि यस प्रकारको कुरा गर्ने मानिस अल्पमतमा सानो संख्यामा मात्र छन्। के प्रतित हुन्छ र प्रश्न तथा सन्देह उठ्छ भने यो नयाँ नयाँ बिकल्पको कुरा गर्ने मानिसहरु कसको इसारामा यस्ता कुरा गरिरहेका छन्।

बिभिन्न देशको जैविक ऊर्जाको उदाहरणबाट कुरा बुझ्न मद्दत पुग्छ। ब्राजिलले ऊखुबाट इथानोल निकालेर त्यसलाई पेट्रोलमा परिवर्तन गर्ने काम निकै ठूलो परिमाणमा गर्‍यो । तर अन्ततः त्यसबाट के हाशिल भयो?

यही कि जहाँ मानिसको पेट भर्नका लागि अन्न उब्जाउने गरिन्थ्यो त्यहाँ मोटर बहानहरुको ट्यांकी भर्नका लागि ऊखुको खेती हुन थाल्यो। भारतमा पनि त्यसरी नै निक्कै ठूलो मात्रामा ‘रतनजोत’ बाट पेट्रोल निकाल्ने कुरा भयो। तर यसका लागि अर्बौ रूपैया खर्च गर्दा पनि कुनै ठोस परिणाम निस्कन सकेन।

भलै, यस प्रकारका गलत प्रयोगहरुबाट राजनीतिकर्मी, कर्मचारी र उद्योग ब्यवसायीहरुले जे जति कमाई गर्न चाहेका थिए गरे होलान्। त्यो बेग्लै भ्रष्टाचारको कुरा भयो।

विज्ञानमा नित्य नयाँ नयाँ अध्ययन अनुसन्धान भइरहन्छ। यो राम्रो कुरा हो। त्यसबाट मानिसको जीवनलाई अझ सहज र सुविधाजनक बनाउन उपकरण र आधार मिल्छ। त्यो पनि स्वागतयोग्य कुरा नै हो । यति हुँदा हुदै पनि मानिस र प्रकृतिबीचको सन्तुलनको सम्वन्ध कायम गरिनु अत्यावश्यक छ। आफ्ना अनन्त इच्छाको बशिभूत भएर मानिसले प्रकृतिमाथि कुनै किसिमको पनि खेलबाड र छेडछाड गर्न छोड्नुपर्छ। यसो गर्नु नै मनुष्यको हितमा छ। के सत्य हो भने आदिम जंगलका गिरी कन्दराहरुबाट बाहिर निस्केर मानिसले बर्तमान कंक्रिटको जंगल (अर्थात आधुनिक शहर) मा आफ्नो डेराडण्डा जमाएको छ र यसका लागि हजारौ वर्षको सभ्यताको यात्रा गरेको छ। तर मानिसलाई यो यात्रा पूरा गर्न हरेक किसिमले साथ दिने प्रकृति नै थियो। यसलाई बिर्सेर प्रकृतिमाथि जथाभावी गर्न सकिदैन र गरिनु हुँदैन । त्ससले अन्ततः मानव समाजलाई नै बिनासको शिकार बनाउँदछ।

हामी आज बिना हरियाली र बिना पशुपंक्षीको शून्यतामा बाँच्ने कुनै कल्पना गर्न सक्छौं? बिल्कुल सक्तैनौं। त्यसैले आज हामीलाई पहिले कहिल्यैभन्दा बढी राष्ट्रिय बन सम्पदा, उद्यान आदिको परम आवश्यकता छ। बरू पाँचतारे होटेल नभए हुन्छ। पाँच तारे संस्कृतिले पनि पर्यावरण बिनासका लागि भूमिका खेलेको छ।

त्यसैले आज आवश्यकता कुन कुराको बढी छ भने मानिस र प्रकृतिका बिरूद्ध जुन अपराध भइरहेका छन् तिनलाई के कसरी रोक्ने हो?

आज बाढी, पहिरो, खडेरी, खण्ड बृष्टि जे जस्ता प्राकतिक बिपत्तीहरू आइरहेका छन् त्यसका पछाडि नियमित सामान्य प्राकृतिक गतिविधिहरू मात्र छैनन्। मानिसले प्रकृतिमाथि गरेको मनपरीका कारण, प्रकृतिमैत्री विकास परियोजना बनाउन छाडेर महत्वाकांक्षी र प्रकृति अमैत्री ठूला आयोजनाका कारण अनेकस्तरका प्राकृतिक प्रकोपहरु झेल्नुपरिरहेको छ। तर, अझै पनि त्यस्ता खालका योजना परियोजनाबाट बाहिर निस्केर सोच्ने र तिनलाई प्रकृति मैत्री बनाउने विवेक पलाएको देखिँदैन।

अति नाफा कमाउने लालच र बिवेकहीनताले वास्तवमा बिनाश नै निम्त्याउँदछ, विकास होइन। यसमा पनि सम्पन्न सम्भ्रान्त माथिल्लो जीवन शैलीमा पुगेका या रहेका मानिसहरूले नै बढी नाफाखोरीका योजनाहरू बनाउने तथा सर्वसाधारण मानिसको जीवन र प्रकृतिसँग खेलबाड गरेरै भए पनि कमाउने धन्धा चलाउने गर्छन्।

यो अत्यन्तै घातक प्रकृतिद्रोही र मानवद्रोही प्रबृत्ति हो यसलाई कडाईका साथ नियन्त्रण गरिएन भने विकराल प्राकृतिक बिपत्तीलाई कसैले रोक्नछेक्न सक्ने छैन। यो ध्रुब सत्य कुरा हो।

यस प्रकारको बिग्रदो पर्यावरण र प्रकृतिकै सन्दर्भमा भारतको महत्वाकांक्षी ‘नदी जोड योजना’ लाई पनि  हेरिएको छ। हिमालको हिउँ पग्लिएर बढ्ने नदीको जल प्रवाह निरन्तर कम हुँदै गइरहेको सन्दर्भमा यो नदी जोड योजना सफल नहुने एउटा खर्चिलो र अब्यवहारिक योजना बन्ने भारतकै बिज्ञहरु उल्लेख गर्न थालेका छन्।

किनकि पर्यावरण परिवर्तनले गर्दा आज हिमश्रृंखलामा हिउँ कम जम्न थालेको छ। जसले गर्दा हिम नदीहरू सुक्न थालेका छन्। नदीमा पानीको श्रोत यसरी कम हुँदै गएको छ। प्रकृति र मानव समाजबीचको सन्तुलित सम्बन्धमा ठूलो खलल पुगिरहेको स्थितिकै यो परिणति हो।

यसलाई रोकिएन र सन्तुलन कायम गरिएन भने विनाशलीलाको शिकार हुनु अपरिहार्य छ। ‘बाँदरबाट मानिस बन्नुमा श्रमको भूमिका’ नामको कृतिमा माक्र्सका अनन्य मित्र माक्र्ससँग मिलेर माक्र्सवादको विकास गर्ने दार्शनिक एंगेल्सले प्रष्ट भनेका छन्, ‘प्रकृतिलाई जथाभावी गरियो भने त्यसले रोगब्याधी, बाढी पहिरो, सुख्खा खडेरी आदि अनेक किसिमले मानिसमाथि बद्ला लिएरै छाड्छ।’

कुरा एकदमै स्पष्ट छ कि मानिसले प्रकृतिका अधिशासित नियमको सही किसिमले बुझ्नु र पालना गर्नुपर्छ। जसरी मानव समाजका अधिशासित नियमलाई पालना गरिएन भने समाज शोषण, अन्याय र थिचोमिचोमा परेर द्वन्द्व र विनाशको स्थिति उत्पन्न हुन्छ प्रकृतिका नियम पालन नगर्दा पनि प्रकृति र मानिस बीचको सम्बन्ध असन्तुलित भएर जान्छ र प्रकृतिमा गडबडी पैदा हुने स्थिति बन्न जान्छ।

फलतः मानिस विकास होइन विनासको बाटोमा धकेलिन्छ। हामी प्रकृति र मानवमैत्री बन्न सिक्नु र सक्नुपर्छ। यो एकदमै यथार्थ  र आजको अत्यावश्यक कुरा हो।

प्रकाशित मिति: : 2020-04-26 13:41:44

प्रतिकृया दिनुहोस्