सरकार, हामी आफ्नै खर्चमा नेपाल आउन चाहन्छौं, चार्टर विमान ल्याण्ड गर्ने अनुमति दिनुहोस् (भिडियो)

छोटो समयका लागि विभिन्न भिसामा अमेरिका आएर यहीँ रोकिएका नेपालीले स्वदेश फर्कन आफै पहल सुरू गरेका छन्।

पोखरामा प्रधान कार्यालय रहेको बतास अर्गनाइजेशनले अमेरिकामा भिजिट भिसामा आएका नेपालीहरूको विवरण संकलन गरेर नेपाल फर्काउने पहल सुरू गरेको हो।

बतास कम्पनीका प्रवन्ध निर्देशक शान्तराज बतासका अनुसार हाल सम्म २ सय ८५ जना नेपालीलाई तत्कालै नेपाल फर्किनुपर्ने बाध्यता रहेको भन्दै फर्म भरिसकेको जानकारी दिए।

अर्गनाइजेशनले अमेरिकालगायत विश्वभरबाट नेपाल फर्किन पाउँ भन्नेहरूको समेत बिवरण संकलन थालेको छ। अर्गनाइजेशनका निर्देशक बतासका अनुसार छोटो समयका लागि अमेरिका आएका अभिभावक, विभिन्न पेशा व्यवसायमा संलग्न डाक्टर, इन्जिनियर, व्यवसायी तथा सरकारी कर्मचारीहरू अमरिकामै अड्किएकाले नेपाल फर्काउने पहल सुरू गरेको हो।

त्यसका लागि उनले अमेरिकास्थित नेपाली राजदूतावास, नेपालस्थित अमेरिकी दूतावास, परराष्ट्र मन्त्रालय र स्थानीय निकायमासमेत ईमेल लेखिसकेको जानकारी दिए।

अमेरिकामा रोकिएकाहरुले आफूहरु तत्कालै नेपाल फर्किनुपर्ने अवस्था रहेको जनाउँदै नेपाल सरकारसँग गुहार मागिरहेका छन्। उनीहरूले आफूहरुको खर्च सकिन थालेको र नेपालमा परिवारको रेखदेख गर्नुपर्ने अवस्था रहेको समेत जनाएका छन्।

यसरी नेपाल फर्किन पाउँ भन्नेहरुले नेपाल सरकारले निर्देशन गरेका सबै प्रकृया पूर्णत पालना गर्ने प्रतिवद्धता जनाएका छन्। अन्तर्राष्ट्रिय बिमान कम्पनीहरुले आफ्नो देश फर्किन चाहनेका लागि रगत परीक्षण गरेर उडान भर्न सक्ने उल्लेख गरिसकेको छ। भने केही देशहरुमा इमिरेट्स लगायतका बिमान कम्पनीहरुले उडान समेत भरिसकेका छन्।

यसैबीच बतासले यहाँबाट फर्कन चाहने नेपालीहरू आफ्नै खर्चमा जाने र नेपालमा गएर अनिवार्य बस्नुपर्ने १५ दिनको क्वारेन्टाइनको सबै खर्चसमेत आफै गर्ने र सरकारलाई कुनै पनि व्ययभार नपार्ने स्पष्ट पारेका छन्।

बिएल नेपाली सेवासँग कुरा गर्दै बतासले सरकारले कुटनीतिक पहल गरेर विमान अवतरण गर्नेमात्र अनुमति दिएमा हामी आफैं जहाज चार्टर गर्नेदेखि सबै खर्च व्यहोर्न तयार रहेको बताए।

उनले यहाँ रहेका भिजिटर भिसाका नेपालीलाई धेरै समस्या रहेको भन्दै तत्कालै सरकारले आवश्यक पहल गर्नुपर्ने बताए।

‘यहाँ कर तिरेकालाई सरकारले राहत दिएको छ। तर हामी जस्तो भिजिटर र विद्यार्थी भिसामा आउनेको दयनीय अवस्था छ। थुप्रै कलेज अनलाइन चलिरहेका छन्। यहाँका अधिकांश विद्यार्थीहरू पार्टटाइम काम गरेर पढ्ने हुन्छन्। यस्ता विद्यार्थीका लागि निकै कठीन परिस्थिति छ। उनीहरूलाई आफ्नो दैनिकी चलाउनसमेत गाह्रो छ’, उनले भने।

उनले नेपालसरकारले तत्कालै पहल गर्नुपर्ने सुझाए।

‘यहाँ बसेका नेपालीको तर्फबाट नेपाल सरकारका पदाधिकारीलाई भन्न चाहन्छौं। हामी आफ्नै खर्चमा नेपाल फर्कने हो। यसमा सरकारलाई कुनै पनि व्यवयभार पार्न चाहन्नौं। जहाज चार्टर गर्दा लाग्ने सबै खर्च र त्यहाँ बस्नुपर्ने क्वारेन्टाइको सबै खर्च हामी आफैं व्यवहोर्न तयार छौं। हामी आफैंले क्वारेन्टाइनको स्थानसमेत खोजेका छौं। यसमा सरकारले केही खर्च गर्नु पर्दैन’, उनले भने, ‘सरकारले कुटनीतिक पहल गरि ल्याण्ड गर्ने अनुमति मात्र दिनुपर्‍यो। सम्भव भए एयरपोर्टमा ल्याण्ड गरेपछि र्‍यापिड टेस्ट गराएर सेल्फ क्वारेन्टाइनमा बस्न दिए हुन्छ।’

यसरी नेपाल फर्कन चाहने अधिकांशमा अस्थायी भिसामा अमेरिका आउने र विद्यार्थीहरूका अभिभावक ८०-९० वर्षका बुबाआमा, सरकारी निकायका पदाधिकारी, डाक्टर, इन्जिनियरलगायत रहेको उनले जानकारी दिए।

‘लकडाउन बढ्दै गएपछि हामीसँग भएको सिमित स्रोत र साधन सकिएको छ। लामो समयसम्म कसरी बस्ने? हामीलाई अमेरिकाबाट रोग लिएर आउँछन् भनेर नसोचिदिनु होला हामी यहाँ पूर्ण अनुशासनमा बसेका छौ। यदि कोरोना संक्रमित भए एयरपोर्टबाटै अमेरिकाले जान दिँदैन। निश्चिन्त हुनुहोला त्यसैले हामी निरोगी साथीहरू आफ्नो देश फर्कन चाहन्छौ।’

हेर्नुहोस् भिडियोमा

प्रकाशित मिति: : 2020-04-25 22:00:00

प्रतिकृया दिनुहोस्