शुक्रबार थप एक कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो। उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रदेश नम्बर एकमा परीक्षणको दायरालाई बढाइएको जानकारी गराएका थिए। उनले उदयपुरबाट ७८ जनाको स्वाब नमुना संकलन गरी कोशी अस्पताल विराटनगर पठाइएको जानकारी दिए।
प्रदेश २ का ८ वटै जिल्लाका २७ स्थानहरुमा १५ सय भन्दा बढी स्वाब नमुना संकलन गर्ने उद्देश्य सहित टोली परिचालन गरिएको उनले बताए। टोलीमा स्वास्थ्य सेवा विभाग, नेपाली सेना लगायतका स्वास्थ्यकर्मी र प्रयोगशालाका प्राविधिकहरुको टोली आजै परिचालन गरिएको उनले बताए।
अहिलेसम्म पीसीआर प्रविधिबाट ९ हजार ४ सय ७ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३८ हजार ८९ परिक्षण गरिएको छ ।
यससँगै कोरोना भाइरस परीक्षण गरिएको कुल संख्या ४७ हजार ४ सय ९६ पुगेको प्रवक्ता देवकोटाले बताए। पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ नयाँ परीक्षण भएको समेत उनले बताए।
प्रदेश नम्बर १ मा अहिले सम्म ३ हजार ९ सय २९, प्रदेश २ मा ४ हजार ९ सय ७७, बागमती प्रदेशमा ७ हजार १ सय ४३, गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३, प्रदेश ५ मा २ हजार ८ सय ७४, कर्णाली प्रदेशमा ४ हजार ८ सय ७० र सूदुरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ परीक्षण भएको प्रवक्ता देवकोटाले बताए। उनले अहिलेसम्म देशभर १२ हजार ९ सय ८५ जना व्यक्तिरु क्वारेन्टाइनमा रहेको जानकारी गराए। यस्तै काठमाडौं उपत्यकामा ३ र उपत्यकाबाहिर ८६ गरी कुल ८९ जना आइसोलेसनमा रहेको समेत उनले बताए।
अहिले सम्म कुल संक्रमित ४९ जना छन् भने १० जना निको भएर घर फर्किइसकेका छन्।