प्रधानन्यायाधीशलाई राहत :

सर्वोच्च अदालतका ६ न्यायाधीश इजलास फर्किए, कांग्रेस–एमालेका वकील पनि आन्दोलनसँग असहमत

file photo
file photo

प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका १८ मध्ये ६ न्यायाधीश इजलास फर्किएका छन्। प्रधानन्यायाधीशविरुद्ध बार आन्दोलित भएपछि करिब एक महिनादेखि उनीहरुले इजलाश बस्न अस्वीकार गर्दैआएका थिए ।

न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा मंगलबारदेखि इजलास फर्किएका हुन्। प्रधानन्यायाधीशको राजीनामा माग्दै बार एसोसिएसनले आन्दोलन थालेपछि न्यायाधीशले समेत इजलाश नबसेर उनीहरुलाई सघाउँदै आएका थिए ।

केही वरिष्ठ अधिवक्ताको स्वार्थमा आन्दोलन भएकाे भन्दै कानून व्यवसायीको ठूलो समूह पनि बारको आन्दोलनसँग असहमति राख्दैआएको छ । कांग्रेसनिकट कानून व्यवसायीहरुको संगठन 'डीएलए' र एमालेको संगठन 'पीपीएलए' ले पनि बारको आन्दोलनप्रति असहमति राखिसकेको छ । उनीहरुले तिहारअघि नै एकै व्यहोराका दुई विज्ञप्ति जारी गरेका छन् ।

न्यायाधीशहरु श्रेष्ठ र शर्माको इजलासले चारवटा मुद्दाको सुनुवाइ गरेर आदेश दिएको छ।  केसी र चुडालको संयुक्त इजलासले पनि मुद्दा सुनुवाइ गरेको छ। प्रकाश ढुंगाना र कुमार चुडालको इजलासले भने एउटा बन्दीप्रत्यक्षीकरणको मुद्दामा आदेश जारी गरेको छ।

नेपाल बार एसोसिएसनले असन्तुष्ट न्यायाधीशसँग छलफल गरिरहेका बेला ६ जना न्यायाधीश इजलास फर्किएका हुन्। 

प्रकाशित मिति: : 2021-11-16 13:38:00

प्रतिकृया दिनुहोस्