भारतीय गृह मन्त्रालयले केही शहरको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको स्थितिमा चिन्ता व्यक्त गरेको छ। मध्यप्रदेशको इन्दौर, महाराष्ट्रको मुम्बई र पुणे, राजस्थानको जयपुर, पश्चिम बंगालको कोलकाता, हावडा, मेदनीपुर पूर्व, २४ उत्तर परगाना, दार्जिलिङ, कालेम्पोङ र जलपाईगुडीको स्थिति गम्भीर रहेको मन्त्रालयले जनाएको छ।
यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या १७ हजार ६१५ पुगेको छ। सोमबार गुजरातमा १०८, पश्चिम बंगालमा २९, उत्तर प्रदेश र राजस्थानमा १७–१७ र ओडिशामा ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ। योभन्दा अघि आइतबार २० राज्यमा १५८० जना नयाँ संक्रमित फेला परेका थिए । हालसम्म भारतमा २८५४ जना स्वस्थ बनेका छन् भने ५५९ जनाले ज्यान गुमाएका छन् ।
भारतमा पछिल्लो २४ घन्टामा १२५० नयाँ संक्रमित थपिएका हुन्।
मणिपुर कोरोनमुक्त
यसैबीच भारतको मणिपुर राज्य कोरोना भाइरस मुक्त जिल्ला भएको छ। मुख्यमन्त्री एन बीरेन सिंहले मणिपुर राज्य कोरोनाभाइरस मुक्त बनेको जानकारी दिएका हुन्। यहाँ संक्रमित दुई जना निको भएर फर्किएसँगै मणिपुर कोरोना मुक्त राज्य भएको हो।