एमाले केन्द्रीय कमिटी बैठक

एमाले केन्द्रीय कमिटी बैठक आजबाट, यस्ता छन एजेन्डा

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ। तीन दिनसम्म चल्ने बैठक पार्टी मुख्यालय च्यासलमा आज (बिहीबार) बिहान ११ बजेबाट सुरु हुँदैछ।

बैठकमा विशेषगरी ‘मिसन ग्रासरुट’ अभियानबारे छलफल र समीक्षा हुने पार्टी महासचिव तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।  एमालेले गत फागुन ५ गतेदेखि दुई महिनासम्म देशभर ‘मिसन ग्रासरुट’ अभियान चलाएको थियो। सो क्रममा तयार भए प्रतिवेदन बैठकमा प्रस्तुत गरिने गुरुङले जनाए।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, ‘मिसन ग्रासरुट’को प्रतिवेदन, प्रदेशहरुको कार्य योजना, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेका छन्।

बैठकमा केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक)हरु सहभागिता रहने बताइएको छ।

त्यसैगरी बैठकमा पछिल्लो समय सतहमा आएको नक्कली शरणार्थी प्रकरणबारे पनि छलफल हुने पार्टीका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए।

नक्कली शरणार्थी प्रकरणमा एमालेका शीर्ष नेताहरु मुछिएका छन्। एमाले उपध्यक्ष रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझी यस प्रकरणमा मुछिएका छन्।

रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार छन्। उनलाई एमालेले बुधबार मात्रै सचिव पदबाट निलम्बन गरेको थियाे। यसै बैठकबाट रायमाझीको सांसद पनि खारेज गर्ने एमालेको तयारी छ।

प्रकाशित मिति: : 2023-05-11 08:08:00

प्रतिकृया दिनुहोस्