भूमे गाउँपालिकाले एसईई दिने परीक्षार्थी लक्षित रेडियो दूर शिक्षा सञ्चालन गर्ने 

बिएल संवाददाता

रूकुम (पूर्व)

भूमे गाउँपालिकाले दूर शिक्षा कार्यक्रम चलाउने भएको छ। विश्वभर कोरोना भाईरस (कोभिड-१९) को महामारी फैलिएसँगै मुलुक विगत ४ सातादेखि पूर्ण लकडाउनमा छ।

महामारी संक्रमण नियन्त्रण तथा रोकथाम गर्न भन्दै सरकारले लगाएको लकडाउनले देशैभर मानिसको हिँड्डुल, यातायात, कलकारखाना, कार्यालय, शैक्षिक संस्था बन्द छ।

यसैको कारण प्रभावित शिक्षा क्षेत्रको निरन्तरता र व्यवस्थापन गर्न भूमे गाउँपालिकाको शिक्षा नियमावली २०६४ नियम २५ (ग) बमोजिम अनौपचारिक शिक्षा (दूर शिक्षा) कार्यक्रम सञ्चालन गर्ने लागेको गाउँपालिकाले जनाएको छ।     

माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगन भएपछि विद्यार्थीको पठन पाठन ठप्प भएको भन्दै भूमे गाउँपालिकाले रेडियो दूर शिक्षा सञ्चलान गर्ने तयारीमा रहेका गाउँपालिका अध्यक्ष रामसुर वुढा मगरले बिएल नेपाली सेवालाई जानकारी दिए।

उक्त कार्यक्रममा सहकार्यको लागि सिस्ने र पुथा उत्तरगंगा गाउँपालिकासँग समन्वय प्रयाससमेत गरिएको उनले जानकारी दिए।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठका अनुसार लकडाउनका कारण गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द रहेकोले विद्यार्थीको पढाईलाई मध्यनजर गर्दै रेडियो दूर शिक्षाबाट उनीहरूको पठन पाठन सुचारू गर्ने वैकल्पिक उपाय राखिएको बताए।

दूर शिक्षा रेडियो शैक्षिक कार्यक्रम रेडियो पूर्वी रूकुम एफएम १०३.२ मेगाहर्जबाट पाँच विषयको कक्षा सञ्चालनको तयारी गरिरहेको छ। हप्ताको पाँच दिन विषयगत शिक्षकले रेडियो स्टुडियोबाट प्रशिक्षण दिनेछ र दुई दिन विद्यार्थीलाई ज्ञानवर्द्धक जानकारी प्रदान गर्नुका साथै सामाजिक सञ्जाल वा टेलिफोनमार्फत उनीहरूको जिज्ञासा स्टुडियोबाट समाधान गर्ने व्यवस्था मिलाउनेछ।

एसईई तयारी गरिरहेका विद्यार्थीका लागि अङ्ग्रेजी, विज्ञान र गणित र अन्य विद्यार्थीको लागि नेपाली व्याकरण, अंग्रेजी ब्याकरण र नैतिक शिक्षा विषयको सामाग्री उत्पादन गरी रेडियोबाटै सञ्चालन गरी प्रसारण हुनेछन्।

यस कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले शिक्षा तर्फको ६ लाख ८५ हजार बजेट विनियोज गरेको र अपुग भएमा अन्य बजेट र श्रोतबाट व्यवस्थापन गरिने वैशाख ७ गते बसेको भूमे गाउँ शिक्षा समितिको बैठकले पारित गरेको अध्यक्ष वुढामगरले बताए।

रेडियोबाट प्रसारण हुने शैक्षिक कार्यक्रमबाट रुकुम (पूर्व) का भुमे, सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकाका विद्यार्थी लगाएत छिमेकी जिल्ला रूकुम पश्चिम, रोल्पा र सल्यानका विद्यार्थीलेसमेत लाभ पाउने गाउँपालिकाको विश्वास छ।

साथै सम्पूर्ण विद्यार्थीलाई लकडाउनको पूर्ण पालना गर्दै आउँदो परीक्षाको तयारी तन मनले गर्नसमेत अनुरोध गरेका छन्।

अनौपचारिक शिक्षा तथा दुर शिक्षाका लागि शैक्षिक जनशक्ति विकास केन्द्र , सूचना प्रविधि विभाग तथा अन्य निकायले उत्पादन गरेका श्रब्य दृश्य सामाग्रीको संकलन गरेर छुट्टै अनलाईन पोर्टल समेत निर्माण गर्ने अधिकृत श्रेष्ठले बताए।

कोरोना भाइरस सचेतना र राहत वितरण कार्यक्रम 

भूमे गाउँपालिकाले विपन्न घरपरिवार राहत वितरण र कोरोना जोखिमलाई नियन्त्रण गर्नको लागि सचेतनामुलक कार्यक्रमलाई लकडाउन भएदेखिनै तिव्र बनाएको छ।

लकडाउनको मारमा परेका विपन्न तथा दैनिक ज्याला मजदुरी गरेर खाने घरपरिवारलाई राहत वितरण गरिरहेको छ। सल्यान र कञ्चनपुरको मजदुरलाई पालिकाले पाल्दै आएको जानकारी पनि गराए।

चैत १० गतेबाट सरकारले कोभिड-१९ महामारी नियन्त्रण र रोकथामको लागि लकडाउन लगाएसँगै भूमे गाउँपालिकाले विभिन्न सचेतनामुलक अभियान चलाउँदै आईरहेको छ।

पालिकाले कोभिड-१९ बारे सचेतना कार्यक्रम, विपन्न घरपरिवारलाई राहत वितरण गर्नुको २ सय ७० जना दिर्घरोगी, ज्येष्ठ नागरिक र अपाङ्गलाई विशेष राहत र प्याकेज प्रदान गरिसकेको उनले जानकारी गराए।

हरेक घरमा हातधुने साबुन र प्रत्येक ब्यक्तिलाई मास्क वितरण गर्नुको साथै कोभिड-१९ भाईरस सम्बन्धि सचेतनाको कार्यलाई तीव्र पारिएको अध्यक्ष बुढामगरले जानकारी गराए। कुल ४ हजार ७ सय २८ घरधुरी रहेको भूमे गाउँपालिकामा २१ हजार दुई सय ४१ जनसंख्या रहेको छ।

स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै कुल २७ थान पिपीई मध्ये हरेक स्वास्थ्य केन्द्रलाई बाढिसकेको र १३ वटा थर्मलगन प्रत्येक स्वास्थ्य केन्द्रलाई २ वटाको दरले आजै वितरण गरिने अध्यक्ष बुढामगरले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-20 14:10:42

प्रतिकृया दिनुहोस्