बीबीएस पढेपछि २७ वर्षीया लजिना बनिन् सरकारी ‘महिला चालक’

प्रकाश आचार्य

सामान्यतया कार्यालयमा गाडी चलाउने महिला चालक कमै हुन्छन् । त्यसमा पनि सरकारी र संस्थानका गाडी चलाउने महिला प्रायः भेटिँदैनन् तर पश्चिम नवलपरासीको नेपाल विद्युत् प्राधिकरण परासी वितरण केन्द्रमा महिला चालक छिन् लजिना श्रेष्ठले ।

श्रेष्ठ जिल्लाकै कार्यालयमा पूर्णकालीन एक्ली महिला चालक हुन् । लजिनाको दाबी अनुसार जिल्लामा मात्र होइन, ५ नम्बर प्रदेशमा रहेका विद्युत् कार्यालयमा उनीबाहेक कुनै महिला चालक छैनन् ।

‘अरु कार्यालयमा छन् कि छैनन् थाहा भएन तर प्रदेशका विद्युत् कार्यालयमध्येमा म एक्ली महिला चालक हुँ,’ उनले भनिन् ।

लजिनालाई आफू चालक नै बन्छु भन्ने लागेको थिएन । चालकबाहेक अन्य तहका कर्मचारी हुनेमा भने उनी विश्वस्त थिइन् । ‘चालक नै बन्छु भन्ने लागेको थिएन,’ उनले भनिन् । लोकसेवा आयोगले विद्युत् प्राधिकरणमा महिला चालक आह्वान गरेपछि उनले दरखास्त दिएकी थिइन् । ‘नाम निकाल्न सक्छु सक्दिनँ भनेर फारम भरे । नाम निस्क्यो, त्यसपछि जागिर खान मन लाग्यो,’ उनले भनिन् । १ सिटका लागि १४ जनाले लोक सेवामा प्रतिस्पर्धा गरेका थिए । १ नम्बरमा नाम निस्केपछि उनले २०७५ सालदेखि परासी वितरण केन्द्रमा हाजिर भएर चालकको जिम्मेवारी सम्हालेकी हुन् ।

प्रकाशित मिति: : 2020-03-15 01:54:34

प्रतिकृया दिनुहोस्