काठमाडौँमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा सम्पन्न

शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभा मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न भएको हो।

सो सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४५ रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।

उक्त सभामा करिब ९२ प्रतिशत शेयरधनीको उपस्थिति रहेको थियो। सभाले आर्थिक वर्ष २०७५/७६ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको जनाइएको छ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ।व। २०७६/७७ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाश जंग थापा र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको बाह्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए।

'शेयरधनीहरूको लगानीको प्रतिफल सुनिश्चित हुने गरी कम्पनीको दीर्घकालीन विकास तथा समृद्धिको लागि सञ्चालक समिति क्रियाशील रही आएको छ', उनले भने, 'कम्पनीलाई सबल, अग्रणी संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।'

मुलुकको विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सञ्चार तथा सूचना प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने सिलसिलामा कम्पनीको योगदान महत्वपूर्ण रहेको बताउदै उनले भने, 'देशव्यापी रुपमा आवश्यक पूर्वाधार विकासमा कम्पनीले विशेष ध्यान दिएको छ।'

कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा कर तथा गैरकरवापत सरकारी राजस्वमा ३३।३१ अर्ब रुपैयाँ दाखिला गरेको पनि उनले जानकारी गराए।

कम्पनीको भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३।९३ र ४।७५ प्रतिशतले वृद्धि भई ५४।८३ र ४८।४१ प्रतिशत पुगेको अध्यक्ष सुवेदीले बताए।

'गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आफ्नो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको छ' उनले भने।

तीब्र प्रतिस्पर्धाको कारणले भ्वाइस तथा डाटा सेवाको महशुलमा व्यापक कटौतीका बाबजुद कम्पनीले कुल राजस्व र नाफा क्रमशः रू। ४३।८४ अर्ब र रू। ९।७६ अर्ब कायम गर्न सफल भएको उनले जानकारी दिए।


 

प्रकाशित मिति: : 2020-01-15 18:23:06

प्रतिकृया दिनुहोस्