वैशाख महिना धेरै नयाँ योजनाका साथ कामहरुलाई अघि बढाइरहेका बेला दोस्रो लहरको रुपमा फैलिएको कोरोनाले नेपाल पनि अछुतो रहेन।
पूर्व तयारी गर्नु र नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने समयमा सत्तासीन राजनीतिक दलका नेताहरु नै नाटक र नौटङ्की भन्दै एक अर्काको बिरोधमा उत्रिए। उनीहरुको पक्ष र विपक्षमा विभाजित कार्यकर्ता नेतालाई खबरदारी गर्नुको सट्टा सर्मथन र विरोधमा जुलुस निकाल्लन थाले। भारत कोरोनाको दोस्रो लहरले आक्रन्त बनेको अवस्थामा समेत नेपालमा तयारी नथालेको कारण यो दुर्भाग्य भोग्नु परेको हो। सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारहरुले नागरिकको स्वास्थ्यमा ध्यान दिन पटक–पटक समाचारमार्फत सरोकारवालाको ध्यानाकर्षण गराएकै हो। सोही क्रममा यो पंक्तिकार समेत गत वैशाख १४ गतेबाट कोरोनाको संक्रमणले ग्रस्त हुन पुग्यो।
हुने हार दैव नटार भने झैं जे हुनु छ त्यो भएरै छाड्छ। सुरक्षित बस्ने र सावधानी अपनाएकै हो तर, सानो कमजोरीले निकै ठूलो दुर्घटनाको सामना गर्नुपर्यो। सदाझैं वैशाख १३ गते पूर्वाञ्चल राष्ट्रिय दैनिकको कार्यालयबाट कोठा आइपुगेँ। गर्मी मौसम नुहाएर सँधैझैं खाना खाएँ र अनलाइनको कामलाई निरन्तरता दिएँ। त्यसबेला भने शरीरमा असहजता शुरु भइसकेको थियो। शरीर अत्यधिक रुपमा दुख्न शुरु भयो। त्यसपछि काम सकेर सुतेँ।
रातको लगभग १ बजेतिर अत्यधिक तिर्खा लागेको रहेछ। निद्राबाट व्युँझिएर चिसो पानी खाएँ, त्यस बेला भित्री ज्वरो शुरु भएको थियो। मौसम परिर्वतनले गर्दा शरीरमा थकान र ज्वरो आएको होला भनेर फेरि सुतेँ। बिहान उठ्दा शरीर निकै गलेको थियो। म भन्दा अगाडि उठेर भाइले चिया र तातो पानी तयार गरिसकेको थियो। म पनि उठेर फ्रेस भएपछि चिया पानी खाँदै भाइलाई भनेँ– मेरो शरीर असहज भइरहेको छ, कतै मलाई कोरोना त लागेनँ ? तँ सुरक्षित हुनु है ल भनेँ।
बैशाख १४ गते बिहान खाना खाएर अफिस जाने तयारी गर्दै गर्दा मनले भन्यो मेरो कारणले कसैलाई कोरोना सर्यो भने म दोषी हुन्छु भन्ने डर लाग्यो र दुई वटा मास्क लगाएर अफिस जाँदै गर्दा ओम झापा मेडिकलका सञ्चालक सुरेश खतिवडाई फोन गरेँ– कता हुनुहुन्छ ? जवाफ आयो– म होम आइसोलेसनमा छु। ज्वरो आएको छ, आज एन्टीजेन टेस्ट गर्न जान्छु भन्नु भयो। मैले पनि शरीर थाकेको र भित्री ज्वरो आएको बताएपछि बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा परीक्षण गर्ने सल्लाह भयो। बिर्तामोडस्थित स्वास्थ्य शाखामा कार्यरत दीपक सापाकोटामार्फत नाम टिपोट गरायौं।
म अफिस पुगेँ र सबैलाई आफूलाई शरीरमा असहजता भएको जानकारी गराएँ। सबै सर्तक रहन आग्रह गरेँ। १ बजेसम्म काम गरेर बिर्ताबजार कोरोना परीक्षण गर्न हिँडे। टेम्पोमा सुरेश खतिवडा र म गयौं। नगर अस्पतालमा पुगेर एन्टीजेन परीक्षण गर्न बस्यौं। एक मनले भन्छ कोरोना, अर्को होइन भन्दै दोमन भइरहेका बेला किट नम्बर ५५ नरेन्द्र ढकाल कोरोना पोजेटिभभन्दा निराश बन्न पुगेँ। संगै जानुभएका सुरेश खतिवडाको नेगेटिभ आयो। त्यसपश्चात सामान्य सिटामोल लगायतका औषधिका साथ हिँड्दै फर्कियौं।
सोही क्रममा पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारीलाई आफू संक्रमित भएको र अफिसमा कम्प्युटर बन्द गरिदिनका साथै सबै सहकर्मीलाई जानकारी गराउन आग्रह गरेँ। घरमा फोन गरेँ, गुर्जो लगायतका जडीबुटी पठाइ दिन आग्रह गरँे। हिँड्दै कोठा आएर सबैलाई जानकारी गराएर आफू संक्रमित भएको र जोगिन अनुरोध गरेँ। संगै बस्ने भाइ तेजेन्द्रलाई अर्को भाइ सन्दीप न्यौपानेको कोठमा बस्न आग्रह गर्दै आफूलाई तातो खानेकुरा पकाएर दिन भनेँ।
यसरी नै त्यो दिन बित्यो। वैशाख १५ गते बिहान कोटीहोममा गएर पीसीआर परीक्षणका लागि स्वाव दिएर आएँ। बेलुका ५ बजेतिर फोन गरेर बुझ्दा उल्टै प्रश्न गरियो– तपाईँलाई कस्तो छ ? मैले भनेँ– अहिले ठीकै छ, हल्का ज्वरो छ, शरीर दुखेको छ। यति भनिसकेपछि भनियो– तपाईँको सीटी भ्यालू ११ मात्र छ। संक्रमणको उच्च जोखिममा हुनुहुन्छ। अरुलाई सर्ने सम्भावना पनि बढी छ, तपाई पनि डाक्टरको निगरानीमा बस्नुहोला। लगत्तै अफिसमा जानकारी गराएँ।
त्यसदिनसम्म पनि आफू कोरोना जित्ने तर मेरो कारण कसैलाई संक्रमण फैलिने त होइन भन्ने चिन्ता लागि रहेको थियो। बेलुका प्रधानसम्पादक एकराज गिरी, सहसम्पादक सुरेन्द्र भण्डारी, व्यवस्थापक चन्द्रकान्त ढकाल, डेस्क सम्पादक लक्ष्मण ढकाल, कम्प्युटर प्राविधिक सन्तोष अधिकारी, कार्यकारी व्यवस्थापक होमप्रकाश अधिकारी, बजार व्यवस्थापक लीला आचार्य, बजार प्रतिनिधि गोपाल अधिकारी, फोटो पत्रकार बिनोद पाण्डेलगायतले स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुभयो। त्यस बेलासम्म सहज नै थियो।
तर, रातिबाट ज्वरो र टाउको दुखाइ बढ्न थाल्यो। समस्या बढ्दै गयो। तीन दिनसम्म ज्वरो १०४ डिग्रीसम्म आइरह्यो। त्यो समयमा मलाई विभिन्न व्यक्तिहरुले फोन गरेर स्वास्थ्य लाभको कामना गरिरहनुभएको थियो। सबैलाई चिन्ताको विषय बन्यो। अब के गर्ने ? के हुन्छ ? अमृता मेडिकलका सञ्चालक गौरीशंकर गुप्ता(टिङ्कु)ले विभिन्न औषधि पनि पठाइ दिनुभयो। मेरा प्रिय भाइहरु रातको १२ बजेसम्म पनि औषधि लिन र अब के गर्ने भन्दै छट्पटिरहेका थिए।
निकै गाह्रो बनाएको अवस्थामा पत्रकार महासंघ झापाका अध्यक्ष समेत रहनुभएका प्रधानसम्पादक एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई लगायतले निरन्तर स्वास्थ्यको जानकारी लिँदै डाक्टरसँग परामर्श गरिरहनुभयो। सहसम्पादक सुरेन्द्र भण्डारी र प्रिय भाइ सन्तोष अधिकारी कोठामै आएर केही हुन्न भन्दै सान्त्वना दिँदैं जानुभयो।
यस अवधिमा सञ्चार क्षेत्रका अग्रज व्यक्तिहरु, व्यवसाय क्षेत्रका विभिन्न व्यक्तिहरु, सामाजिक, राजनीतिक, सुरक्षकर्मी, स्वास्थ्यकर्मी सबैको साथ र सहयोग प्राप्त भइरहेको थियो। आफन्तको प्रत्यक्षपरोक्ष सहयोग प्राप्त भइरहेको थियो। शरीरमा समस्या बढ्दै ज्वरो टाउको दुखाइका साथै, बान्ता हुने, झाडापखाला र खोकी शुरु भयो। वैशाख २० गते सोमबारको दिनबाट भने श्वासप्रश्वासमा समेत समस्या र छातीको दुखाइ अत्यधिक भएपछि बीएण्डसी हस्पिटलका डाक्टर लक्ष्मण ठाकुर, जनसम्र्पक अधिकारी प्रमिश गिरीसंगको परामर्शपछि हस्पिटल भर्ना हुने निधो गरेँ।
त्यस बेला हस्पिटल परिसरमा प्रधानसम्पादक, ब्यवस्थापक, सहसम्पादक, पत्रकार महासंघका उपाध्यक्ष भट्टराई, ओम झापा मेडिकलका सञ्चालक खतिवडा सबै हुनुहुन्थ्यो। उहाँहरु मेरो हौसला बढाउन उभिनुभएको थियो। हस्पिटल भर्नापछि राति नै छातीको एक्स–रे, ईसीजी लगायत विभिन्न परीक्षण गरियो र सोही अनुसारको औषधि प्रयोग गरियो। यो कार्यमा डाक्टर ठाकुर आफैं खट्नुभयो। तीन दिनको अस्पताल बसाई पछि घर फर्किएँ तर, पनि पूर्ण रुपमा निको भएको थिइँन।
यो अवधिमा आयुर्वेद अस्पताल इलामबाट चिकित्सक सहितका टिम लिएर पत्रकार महासंघ प्रदेश समिति र झापा शाखाका साथै प्रेस युनियन, प्रेस चौतारी लगायतको टोली आएर खानपिनमा अपनाउनुपर्ने सावधानी र संक्रमण भए पश्चात गर्नुपर्ने शारीरिक व्यायामको विषयमा जानकारी दिँदै स्वास्थ्य सामग्री पनि हस्तान्तरण गर्नुभयो। विभिन्न अग्रज पत्रकारहरुले घरमै आएर हौसला दिनुभयो। रोगसंग डराएर होइन सावधानी अपनाएर परास्त गर्न सकिने सल्लाह र सुझाव अनुसार विभिन्न घरेलु जडीबुटी, सेवन गरेँ। पानीको बाफ लिनका लागि सहज होस् भनेर प्रिय मित्र प्रविन अग्रवालले मेसिन पठाइ दिनुभयो। यस्ता धेरै सहयोग प्राप्त भएको थियो।
आफू संक्रमित भएर पनि धेरै असहज भएको जानकारी पाएपछि युवा परिषद् झापाका अध्यक्ष मदन बुढाथोकीले देखाउनुभएको सहयोगको जति नै प्रशंसा गरेपनि कम होला। बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, इक्यान झापाका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेल, प्रिय मित्र अशोक भण्डारी, शान्तिपुर–झापा एकता समाजका अध्यक्ष ज्ञानेन्द्र अधिकारी, पत्रकार मिनप्रकाश उप्रेती, रमेश तिवारी, सरोज पौडेल, सुरक्षा निकायका विभिन्न पदमा कार्यरत सुरक्षाकर्मी लगायतले हौसला प्रदान गरिरहनुभयो। तातो खानपिनमा ध्यान दिएँ। पौष्टिक आहारमा ध्यान दिएपछि १८ दिनपछि भने शरीर सहज बन्दै गयो। २६ दिनपछि चिकित्सकको सल्लाह अनुसार नै कोरोना जितेको घोषणा गरियो।
यो अवधिमा सामाजिक सञ्जाल, फोन, एसएमएस, इमेल लगायत विभिन्न माध्यमका साथै प्रत्यक्ष भेटेर स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा आभार ब्यक्त गदर्छु। कोरोना संक्रमणकै समयमा प्रियमित्र एजाज अहमदले भिडियो कल गरेर स्वास्थ्य लाभको कामना गर्दै अल्लाहसँग तपाईको स्वास्थ्य लाभको कामना गरेको छु, केही हुन्नँ, तपाई छिट्टै निको हुनुहुन्छ भन्दा गर्वले छाती ढक्क फुल्यो। विदेशमा रहेका प्रियमित्र रुद्र पौडेलले आँखाबाट आँशु झार्दै केही हुन्न भन्दा र दाङमा रहेका डीएसपी मुकुन्द रिजालले भिडियो कलमार्फत मलिन अनुहारमा तपाई छिट्टै निको हुनु है भन्दा आफैं भावुक बन्न पुगेँ।
सबैको साथ र सहयोगले गर्दा आफैंबाट हारेको मान्छेले दोस्रो जीवन पाएको छु। कोरोना संक्रमणलाई हेल्चेक्र्याइँको रुपमा नलिऔं। सुरक्षित रुपमा स्वास्थ्यको मापदण्ड पालना गरौं। साथै कोरोना संक्रमण भइहालेमा नआत्तिहौं सुरक्षित रुपमा घरमै बसेर चिकित्सको सल्लाह अनुसारको औषधि प्रयोग गरौं नियमित रुपमा शारीरिक व्यायाम गरौं। रोगबाट टाढै बसौं भन्दै संक्रमित सबैको शीध्र्र स्वास्थ्य लाभको कामना तथा मृतकप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु। यो अवस्थामा अनावश्यक हिँड्डुल बन्द गरौं।